
त्यो पिपलको रुखमा म बाको प्रतिच्छायाँ देख्छु । हरेक दिन त्यो पिपलको रुखलाई हेर्छु र बालाई सम्झन्छु । मलाई झझल्को लाग्छ, त्यो पिपलको रुखबाट बाको आत्माले हामीलाई हेरिरहेको छ ।
घरमुनीको पाखोबारी, बारी छेउको पिपलको रुख । अहिले पनि त्यो पिपलको ठूलो रुख छँदैछ । घरका बस्तुभाउलाई पिपलको हरियो पात खालान् कि भनेर झार्न उक्लिएछन् बाउ । त्यही रहेछ, अरिङ्गालको गोला, अरिङ्गालले चिल्न थालेपछि बाउ ऐया, मरे भन्दै झरेछन् । देख्नेले हार गुहार गरेपछि बालाई घरमा ल्याए । जीउभरि डाबर नै डाबर, ज्वरो आउन थालिहाल्यो । अरिङ्गालले टोकेको साह्रै विषालु हुनेरहेछ क्यार, अहिलेको जस्तो अस्पताल र ओखतीमूलो पनि थिएन । झारफुक गरेको केको तातोपानी लाग्नु । मेरा बालाई अरिङ्गालको विषले चाप्दै लग्यो ।
आमा भन्दै हुनुहुन्थ्यो– २०२२ सालको तिहार, भाइटीकाको दिन । पिँढीमा तेरा बाउलाई सुताइएको थियो । इन्तु न चिन्तु अवस्थामा गहभरि आँसु पारेर हेरिरहेका थिए । बालाजुबाट तेरी फुपुले आएर भाइटीका लगाइदिनुभयो । त्यसपछि तेरा बा बित्नुभो । तेरा ठूलदाजु पल्टनका सिपाही, दरवारको उत्तरढोकामा खटिएको थियो गोरखदल गणमा । गाउँका दुईजना बोलाउन गए, गाउँले जम्मा भए, बाँस काटेर ल्याए, तेरा बाउलाई बाँधे र आर्यघाटतिर लगे । बाउले मट्टी बिसाउनुभो ।
टीकाका दिन बितेकाले तिमीहरुले जीवनभर रातो टीका लगाउन पाउने छैनौं । टीकाका दिन एकछाकी पर्छ । कुनै कुनै वर्ष तिथि घटबढ हुँदा भने टीकाको भोलिपल्ट एकछाकी पर्छ ।
पाँच दाजुभाइकी एउटी बहिनी, हरेक वर्ष बहिनी आउँछे, टीका लगाइदिन्छे, तर निधारमा रातो टीका हुन्न । टीकाका दिन बालाई सम्झन्छौं, एकछाक खान्छौं र भोलिपल्ट बाको श्राद्ध गरेर पिण्ड सेलाएपछि पिण्डप्रसाद खान्छौं । हाम्रो तिहार यसैगरी हरेक वर्ष आउँछ र जान्छ । फूल र उज्यालोका पर्व, यो पर्वले हामीलाई सधैँ बाको सम्झनाले सताइरहन्छ । न टीका, न फूलमा रङ देखिन्छ, न उज्यालो उज्यालोजस्तो लाग्छ । रमाउने मन हुन्न ।
एकदिन फेरि आमाको मनमा ठेस लागेछ । आमाले भन्नुभयो– मैले ५ छोरा, एक छोरीलाई कसरी हुर्काएँ होला, के खान दिएँ होला, के खाएँ होला, कति राति रोएर बिताएँ, कति छाक भोकै सुतेँ, मनको बह पोख्ने कोही थिएन ? जोरीपारी खाइस् मात्र भन्ने, छिमेकीमा लोग्ने मरेकालाई बाँच्न साह्रै मुस्किल थियो । जसरी तसरी तिमीहरुलाई हुर्काएँ । बढाएँ, पढाएँ ।
पहिले त झारा प्रथा पनि थियो । खाजा ज्याला जे भने पनि १२ पैसा दिन्थे, दिनभरि थानकोट चिसापानीगडी बाटो बनाउन जानुपथ्र्यो । २०१२ सालतिर त्रिभुवन राजपथ बनाउन पनि झाराप्रथा नै बेहोरेँ । बिस्तारै झाराप्रथा हट्यो । तर आइमाई र लोग्नेमान्छेले काम बराबर गर्नुपर्ने आइमाईलाई ज्याला कम दिने प्रथा हटेको छैन ।
ससूरा सिंहबहादुर, कीर्तिपुर जंगलका बनपाले थिए । ऊबेलाकी सासू, साह्रै करकरे । बाजेले ए बस्नेतकी छोरी भनेर बोलाएपछि सासू ज्यू भनेर जान्थिन् । तेरी बुहारीलाई तह लगा है तह लगा भन्थे । सासूको बुहार्तन बेहोर्नु बेहोरियो । सासु गए, ससुरा गए, तेरा बाउ पनि गए । साना साना लालाबाला, मेरो कुन हविगत भयो होला । त्यसरी हुर्काका छोराहरु, मैले भित्र्याएकी बुहारीहरु आज मैलाई हेप्छन् ।
आमा भन्नुहुन्थ्यो, रोग नलागोस् भनेर तिमीहरुलाई स्वयम्भु अजिमा, बिजेश्वरी, बिशालनगरको भाटभटेनी र ज्ञानेश्वरको मन्दिरमा धेरैपल्ट दर्शन गराएको छु । देवीहरु साक्षात थिए, बालबालिकाको रोग निको हुन्थ्यो । विश्वास अति थियो देवीदेवतामा । आजकल विश्वास कम, फेसन बढी हो जस्तो लाग्छ ।
मैले आज पनि देखेको छु, आमाहरु बच्चालाई रुन्चे लाग्यो, टाक्सिए, बिरामी परिरहे, रोगी भए, फस्टाएन भने स्वयम्भु अजिमा, बिजेश्वरी, भाटभटेनी र ज्ञानेश्वरको मन्दिरमा दर्शन गराउन लगिरहेका हुन्छन् । बच्चा च्यापेका आमाहरुको भीड नै लाग्नेगर्छ ।
मलाई लाग्छ, सबै ठाउँमा भगवान पुग्न सक्दैनन्, त्यसैले भगवानको रुपमा आमा बनाइदिएको हो कि । सन्तानका लागि आमा सर्जक पनि हुन्, सिर्जनाकार पनि हुन् । त्यसैले आमा भगवानको अवतार हुन् ।
आमाले सधैं सुख सन्तानको मुहारमा खोज्नुभयो ।
आमा दाजुभाई, भाउजु, बुहारीको अपमानबाट रिसाउनु हुन्थ्यो र लामो श्वास फेर्नुहुन्थ्यो– सानो छउन्जेल मर्लान् कि भन्यो, ठूला भए, स्वास्नीका धनी भए, अव मार्लान् कि भन्ने डरभो । सहारा देलान भनेको त सास्ती पो दिनथाले ।
एक्कैछिनपछि आमाको ममता उस्तै हुन्थ्यो । मैले आमालाई धेरैपल्ट खोयलपाखो, घैयापाटो, पाखोबारी खनफोर, कोदो रोपेर आउँदा निकै थाकेर खानै नखाँई मुलोच्छ्यानमा सुतेको देखेको छु । आमा बेहोस् हुनुभएको हो कि थकाइले चूर, हामीलाई थाहै हुन्थेन । केही घण्टापछि उठ्नु हुन्थ्यो, कल कल पानी खानुहुन्थ्यो र भन्नुहुन्थ्यो– तेरा बाउ बाजेका पालामा भूत बोलाउन आउँथ्यो । ए कैले, ए कैले, ए कैले भनेर तेरा हजुरबाउलाई तीनपल्ट बोलाएपछि चौथोपल्ट तेरा हजुरबा बोल्नुहुन्थ्यो । किन हँ ?
आमाले भन्नुभयो– त्यतिबेला जसले बोलाए पनि बिरामी परिन्छ भनेर तीनपल्टसम्म बोलाउँदा नबोल्ने चलन थियो । त्यतिबेला ख्याकले तर्साउन पनि आउँथ्यो । पानीको दुःख, आधारातमै खोलाछेउको कुवामा पानी लिन जानुपर्ने, दशैंअघि आधारातमै रातमाटो लिन पाखातिर लाग्नुपर्ने, कहिले कहिले ख्याकले पछ्याउँथ्यो । बोल्दै नबोली, पछाडि नफर्की हिड्थ्यौं हामी ।
भोक लाग्यो । भन्थ्यो । घैयापाटो खनेर आ, अनि दिउँला भनेपछि जान्थ्यो । खानेकुरा ढोकाबाहिर राखिदियो, भोलिपल्ट उठ्दा भाँडो खाली हुन्थ्यो, घैयापाटो सबै खनेको देखिन्थ्यो ।
एकदिन मैले अर्की आमा किन घरमा आउन्नन् भनेर सोधेँ । आमाले भन्नुभयो– भुन्टी पनि तिमीहरुकै जेठी आमा हुन् । गाउँकै हर्के सुवेदारको नातेदार भुन्टीलाई पहिलो विहे गरेका थिए तेरा बाउले । भुन्टीलाई बिहे गरेपछि एउटी छोरी जन्माइन् । त्यसपछि उनको सन्तान हुनछाड्यो । ससुरा सिंहबहादुरले छोरालाई भने– तेरो अर्को बिहे गर्नुप¥यो । नाती त चाहियो चाहियो । ढिकुरोको मालिक नभए पाल्ने पोल्ने, बंश कसले धान्छ ? अंश कसले खान्छ ? स्वर्ग जाने बाटो रोकिने भयो ।
त्यतिबेला मुखमुखै लाग्ने चलन थिएन छोराहरुको । यति भएपछि ठूली आमा भुन्टी माइत गएर बस्न थालिन् । यता धुइँधुइँती केटी खोज्न थालियो । मट्टार, सितुपाखामा बाउको दोस्रो विहेको कुरा छिनियो । ६ दिदीबहिनी, ४ दाजुभाइ थिए, छोरी बिहे गर्न गाह्रै थियो, दोस्रो बिहे भए पनि एक्लो छोरो देखेर बाउले दिए, बिहे भएर माउरीको गोलोजस्तो गञ्जागोलमा आएँ ।
नैकाप तीनथानाबाट जन्ति गयो । बरणी सकिएपछि भत्तेर खाने ख्वाउने काम सकियो । राति जग्गेमा दुलही निकाले, जग्गेको काम सुरु भयो । यता जग्गेका बाजे होम गर्दै आफ्ना मन्त्र पढ्दै थिए, उता खाँडो भन्न थालियो । केटा र केटीपक्षवीच खाँडो भन्दाभन्दै तँ तँ म म भएर खुँडा निकाला निकाल भइहाल्यो । यताका नैकापे, उताका मटिटारे, दुबै खाइँखादै । सक्किगो नि । उज्यालो हुँदा नहुँदै मारमुङ्ग्री सुरु भयो । केको जन्तिबाख्रो काट्नु, पाक्नु र खानु । को कहाँ पुगे, को भागे, कसले गोदाइ खायो पत्तै भएन । बाठा नैकापे तेरा हजुरबाले मलाई उलिनकाठमा हालेर सुइकुच्चा ठोकिहाले । यसरी बिहे भएको भएको हो मेरो ।
आमाले भन्दै जानुभयो– यो घरमा भित्रेदेखिको सासुको सधैँको बुहार्तन, ससुराको टोकसो सहेर घर गरेर खाएँ । ६ छोरा र एक छोरी जन्माएँ । तँ काइलो, तँमाथिको एउटा रगतको तालीमा प¥यो । तिमीहरु पाँच दाजुभाइ, एउटी बहिनी सग्लै छौ । ठिमीलेको नोल जत्रो तिघ्रा बनाइदिएको छु, गरिखान सक्छौ अव ।
भाउजु बुहारीको कुरा सुनेर दाजुहरु बेला बेलामा आमासँग झर्कन्थे, आमा पनि के कम, तँलाई गुका लिड हो, आज मसँग झर्कीफर्की गर्ने ? भनेर गाली गर्नुहुन्थ्यो । यति भए पनि आमा त आमा नै हुन्, जतिसुकै रिसाए पनि पानीको फोकाजस्तो, आमाको मन त सन्तानै माथि हुनेरहेछ । मीठोपीठो जेहोस्, सबैले खाए खाएनन्, सँगै हुन्जेल विचार पु¥याइरहनुभो । आमाले खानु भयो कि भएन, आमालाई थकाइ लागेको छ कि, आमालाई के खान, लाउन मन छ, कुनै दाजुहरुले कहिले सोधेको मैले सुनिन ।
यसकारण त आमा हुने परिवार जस्तोसुकै संकटमा भए पनि गरीव हुँदैन । गरिव त हुर्केका, कमाउने–धमाउने हुकेका छोराहरु हुँदा रहेछन् ।
आमाले ढिँडो रोटी, गुन्द्रुक, भात, मकै भटमास, खोलेफाँडो जे ख्वाएर पनि छोराछोरीलाई हुर्काउनु भयो । तिनै आमालाई भाउजु बुहारी, दाजुहरुले दुर्वाच्य बोलेकोमा, मुखामुख गरेकोमा मलाई भने सधैँ नरमाइलो लाग्थ्यो । तर म सधैँ आमाको निकट रहेँ । आमाले भरोसा गर्ने म नै थिएँ । सधैँ मलाई पाल्ने काइलो हो भन्नुहुन्थ्यो । मामाघरको हजुरबा पनि मलाई राजन होइन, माजन भन्नुहुन्थ्यो ।
आमा भन्दै हुनुहुन्थ्यो– तिमीहरु ५ दाजुभाइ, एउटी बहिनी । बहिनी काखे थिई, तँ पनि ८ वर्षको थिइस् कि । तेरा बाउ बिते । घरेलुका पियन थिए, पेन्सन पनि नआउने, अव तिमीहरुलाई कसरी पाल्ने ? मलाई ठूलो पीर थियो । दुईचार रोपनी पाखोबारी, लगनको जग्गाधनी छिपालाई अन्न नै कूत बुझाउनु पर्ने । कीर्तिपुर कोट गुठीको ५ पाथी धानको बिउको खेत, त्यो पनि अन्न नै बुझाउनु पर्ने । बाँकी अन्नले वर्षभरि खान नपुग्ने । ज्याला पर्म जानैप¥यो, पानी पधेरो गर्नैप¥यो । ठूलो दुःखले हुर्काएँ तिमीहरुलाई ।
अहिलेजस्तो देशी मलको चलन थिएन, बालीनालीमा हाल्न कालीमाटी झिक्ने चलन थियो । कालीमाटीको खाल्डोमा पसेर कालिमाटी बोक्थेँ । गाउँका कतिजना कालिमाटीको खाल्डोमै पहिरो खसेर पुरिएका पनि थिए । म मर्न सकिन । गाउँका हर्के सुवेदारले ढुङ्गा, खाद्यान्नको व्यापार गर्थे, त्यहाँ पनि भारी बोक्न जान्थेँ । जसरी तसरी तिमीहरु सबैको खुट्टा टेकाएँ ।
ठूलो दाजु मकर पल्टनको सिपाही । माइलो इन्द्र काम नभएर कुन्नी कसको लहैलहैमा लागेर कलकत्तातिर भाग्यो । धेरैवर्ष हरायो । साहिँलो पुरुषोत्तम बिहानैदेखि जाँड खाने, काम केही नगर्ने, खानमात्र आउने । तँ पढ्दैथिइस्, साना भाइ बहिनी पढ्दै थिए । म एउटीको भारो पर्मले तिमीहरुलाई पाल्न साह्रै कठिन थियो ।
घरमुनीको भीराडिलछेउबाट मातातीर्थबाट टेकुसम्मको ट्रली चल्थ्यो । ट्रलीले ल्याएका सामान बोक्न जान्थेँ । श्री ३ भीम शमशेरले आफ्नो जयजयकार गरुन् भनेर १९८८ माा प्रजालाई रेल देखाइदिने र ५० पैसा पाथी चामल खुवाउने इच्छा भएर यो रेलसेवा सुरु गरेका रहेछन् । १. क्रमस...


