Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

फाइल खोल्ने, एकदोस्रालाई पोल्ने

२७ मंगलबार , चैत्र २०८०२४ दिन अगाडि

फाइल खोल्ने, एकदोस्रालाई पोल्ने

यो कस्तो सत्ता राजनीति हो । सरकार गठन हुन्छ, सरकार बिघटन हुन्छ, सत्तामा टिकीरहनकै लागि भ्रष्टाचारको फाइल खोल्ने र एकदोस्रालाई पोल्ने, धोती खोलाखोल गर्ने यस्तो पनि लोकतन्त्र हुन्छ र ? लोकतन्त्र बिधिको शासन हो, बिधिको शासनमा सबैका आआफ्ना सीमा हुन्छन् । सबैले सीमामा बस्नुपर्छ, नियमन गर्ने निकाले नियमन गर्छ, अदालतले फैसला गर्छ । दोषीले दण्ड पाउँछ, निर्दोषीले उन्मुक्ति । नेपालको राजनीतिमा त आफ्नो सत्ता र शक्तिमा खतरा देख्यो कि अर्कोलाई पोल्ने र फाइल खोलिदिउँ भनेर तर्साउने, खोलेर अनुसन्धान गराउने, आफूलाई पानीमाथिको ओभानोको प्रचार गराएर प्रतिस्पर्धीलाई कमजोर पार्ने खेल हिजो भइरहेको थियो, आज पनि भइरहेको छ । विधिको शासनका नाममा दलीय सेटिङमा शासन गर्ने विधिले लोकतन्त्रको गरिमा र महिमा मण्डन भइरहेको छ । कानुनव्यवस्थाको चीर हरण भइरहेकै छ । जसले लोकतन्त्रलाई मजबुत पार्नुपर्ने हो, तिनैले लोकतन्त्र निरन्तर कमजोर पार्ने स्वार्थको राजनीति गर्दा लोकतन्त्रप्रति जनताको विश्वास कमजोर हुँदै गएको छ, नेतृत्वलाई जनताले घृणा गर्न थालेका छन् ।
०७४ को निर्वाचनपछि एमालेले कांग्रेसलाई सत्तोसराप गरेर कमजोर पारेको थियो, कांग्रेसले माओवादीसँग मिलेर एमालेको नेतृत्वको सरकार मात्र ढालेन, आफै स्वच्छ भनेर सर्वहारावादी र प्रजातन्त्रवादी सत्ता समेत चलाउ, गठबन्धनले एकदोस्रालाई सिद्धान्तहीन रुपमा मतदानसमेत गरे । ०७९ को निर्वाचनपछि माओवादीको शासनको टेको बनेर कांग्रेस खडा भयो, यो अवधिमा बाँसबारी जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना, ललिना निवासको सरकारी जग्गामाथिको भूमाफियाकरणमा नेताहरुको संलग्नता, सुनकाण्ड, भुटानी शरणार्थी काण्डका फाइलहरु खुले । अकस्मान १३ महिनामै माओवादीले कांग्रेसको साथ छाडेर एमालेसँग टाँस्सिएर सत्ता टिकाउन पुग्यो । यो सत्ता गठबन्धनको यूटर्न अचम्म खालको छ । यसमा चीनको प्रभावशाली भूमिका रहेकोसम्म चर्चा भयो । यो सरकारमा इण्डो पश्चिमाका नेताहरु पनि संलग्न भएको देखियो । यही सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने गृहमन्त्री बनेपछि सिङ्गो कांग्रेस रविविरुद्ध खनिएको छ । यहीबेलामा टेरामक्स, कोटिभीटी, वाइडबडी जहाज खरिदमा भएका घोटाका फाइल खुलेका छन् । फाइल खुलेपछि कांग्रेसी नेतामात्र होइन, अनेक नेता र प्रशासकहरु भ्रष्टाचारकाण्ड मुछिएका छन्, अख्तियारले मुद्दा दायर गरेको छ । 
हिजो खोलिएका भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सुनकाण्ड सेलाएको छैन, आज अर्को गठबन्धनले नयाँ फाइल खोलेको छ । राजनीति गर्नेहरु एकदोस्रोको खुट्टा तान्ने, आफूलाई बलशाली देखाउने प्रयत्न गर्दा शासन व्यवस्थामा माफिया र अपराधिकरण बढेर गएका छन् । अख्तियार, निर्वाचन आयोग, मानवाधिकार आयो, संसद, सरकार, मन्त्रालयले आआफ्ना काम गरेका भए यसरी फाइल खोल्दै तर्सने र तर्साउने काम गर्नै पर्ने थिएन । राजनीतिमा जे देखिएको छ, त्यो पद्धतिको असफल ता हो, नेतृत्वको ल्याकतको कमजोरी हो । विधिलाई राजनीतिक प्रभाव र दबाबले दुषित बनाउँदा शासन व्यवस्था खलबलिन पुगेको छ । सेवाग्राहीले सेवा पाउन सकेका छैनन्, बिचलन बढेको छ, कुशासनको बिगबिगी छ । राजनीतिक र प्रशासकको दिमाग प्रतिस्पर्धीलाई कमजोर बनाउने आवेगमा होमिदिंदा लोकतन्त्र असफलताको तारेभीरमा पुगेको हो । पद्धति असफल हुनु, समाज बिचलनमा पुग्नु र विधिको शासनमा दलीयकरण देखिनु भनेको राष्ट्रको अस्तित्व नै संकटमा पर्नु, फस्दै जानु हो । बिधिलाई चल्न दिऔं, यतातिर सोचौं ।