Advertisement Banner
Advertisement Banner

२७ शनिबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

सीके राउतले ल्याए आँधी

१२ सोमबार , माघ २०७११२ बर्ष अगाडि

एकजना सीके राउतले मधेस गठबन्धनको आवरणमा राज्य हल्लाएर मधेसलाई नयाँ देश बनाउन सक्छन्? सीके राउत कुनै देशले चिनेको नेता होइन तर चर्को नारा लगाएकै भरमा सीके राउतले सिंगो संविधानसभालाई प्रभावित पारिदियो भनिन्छ। कूटनीतिक बृत्त ठान्छ: सीके राउतकै कारण माघ ८ मा संविधान घोषणा हुनसकेन किनकि संघीयतामा कुरै मिल्न सकेन। एउटा बिखण्डनवादी जो गुमनामबाट उदाएका मात्र छन्, उनले एउटा मुलुकलाई टुक्य्राउन सक्छन् र विदेशीहरुसमेत उनलाई भेट्न दौडादौड गरिरहेका छन्? कि विदेशीहरुले नै यिनलाई सामल स्रोत जुटाइरहेका छन्? अन्यथा सीके राउतले साधनस्रोत कहाँबाट जुटाए? प्रश्न अनेक उठेका छन्।
युरोपियन राजदूतहरुले चितवन पुगेर सामुहिक रुपमा भेटेपछि सीके राउत अन्तर्राष्ट्रिय समाचार बन्न पुगे। नेपाल सरकारले यही भेटलाई लिएर कूटनीतिक बृत्तलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र मर्यादामा रहन आग्रह गर्नुपर्‍यो। यथार्थमा सीके राउतको एजेन्डा के हो? किन यिनलाई युरोपियनहरुले उक्साउन खोजे? यो जान्नका लागि सीके राउतको विचार जान्न जरुरी छ। सीके राउत भन्छन्– स्वतन्त्र मधेस एकमात्र विकल्प हो। हाम्रो उद्देश्य मधेसलाई स्वतन्त्र बनाउनु हो। यसैका लागि हामीले स्वतन्त्र मधेस गठबन्धनको स्थापना गरेका छों। हाम्रो संघर्ष यही उद्देश्य प्राप्तिका लागि जारी छ। मधेस आफैमा स्वतन्त्र राष्ट्र हुनुपर्छ। संविधान र प्रदेश बनेर मधेसका समस्या समाधान हुनसक्दैनन्। सार्वभौम स्वतन्त्र राष्ट्र हुनुपर्छ मधेस। मधेस परतन्त्र अवस्थामा छ। मधेसमा आफ्नै शासन, सेना, हुकुमत हुनुपर्छ। हामी स्वतन्त्र मधेस खोजिरहेका छौं। पहाडियाले भूमिपुत्र किसानमाथि कब्जा गरेका छन्। मधेसीहरु सरकारी जागीरमा न्यून छन्। मधेसीमाथि विभेदमात्र छैन, नेपालीको दासको अवस्थ्ामा छन्। मधेस नेपाली साम्राज्यको एक हिस्साजस्तोमात्र छ। हामी हिस्साबाट स्वतन्त्र हुन खोजिरहेका छौं। हामी हात थाप्ने होइन, स्वतन्त्रताको हात खोल्ने प्रयासमा छौं। जसरी भारत अंग्रेजको अधीनबाट स्वतन्त्र भयो। मधेसीमाथि विभेद घटेको छैन। मधेसमाथि दमन बढेको छ। मधेसमा औपनिवेशिक शासन छ, त्यो समाप्त पारेरै छाड्छौं। आत्मनिर्णयको अधिकार मधेसलाई स्वतन्त्र पार्नै एक प्रक्रिया हो। अव त्यो प्रक्रियाबाट पनि अघि बढेका छों। मधेस स्वतन्त्र देश हुनैपर्छ। मधेस स्वतन्त्र बनाउन जनमत संग्रह गराउने वातावरण बनाउँदै छौं। अहिले मधेसवादीहरु कहिले एक, कहिले दुई प्रदेश हुनपर्छ भनिरहेका छन्। ५४ जना सहिदको अपमान हो यो। हामीले कसैसँग केही मागिरहेका छैनौं। हामी मधेसलाई आफैले स्वतन्त्र गराउनेतिर लागेका छौं। यो हाम्रो मधेसी शक्ति, संगठन र इच्छामा निर्भर छ। मधेसी जनताले स्वतन्त्रता चाहिरहेका छन्। हामी माघ १५ पछि आन्दोलनका कार्यक्रम ल्याउँछौं र यही कार्यक्रमबाट मधेस मुक्त पाछौैं।