Advertisement Banner
Advertisement Banner

२६ शुक्रबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

यता शरणार्थी मर्दैछन्, उता राजारानीको मस्ती

२७ सोमबार , असार २०७३१० बर्ष अगाडि

भुटानका राजा जिग्मे खेसार नाम्गेल वाङचुक, रानी जेटसन पेमाको रसरङ् उर्लिरहेकै छ। भुटानी खुशी हुन्, भुटानी राजारानीले रमाइलो गरे, सार्वजनिक किस गर्दै प्रेम प्रदर्शन गरिरहेकोमा नेपालीलाई कहीँ पनि आपत्ति छैन। तर, १९९० को दशकमा नेपालमा लखेटिएका एक लाख भुटानी शरणार्थीहरुको बिजोग देख्न सकिन्छ। उनीहरुले आफ्नो माटो, आफ्नो देश भन्न पाएनन्। नेपाली मूलकै भएका कारण तिनीहरुलाई भारतको सहयोगमा लेखेटियो, भारतले नै नेपालसम्म ल्याएर छाड्यो। तिनीहरुको बिल्लीबाठ देख्दा लाग्छ, भुटान बुद्धमार्गी त हो तर बुद्धका अनुयायीमा हुनुपर्ने कुनै गुण, विशेषता शासक बर्गमा छैन।

भुटानले आफ्ना नागरिक लखेट्यो, राष्ट्रसंघको अनुरोधमा अमेरिका, बेलायत, अष्ट्रेलियो, न्यूजिलेण्डहरुले ८० हजारभन्दा बढी शरणार्थीहरुलाई आफ्नो मुलुकमा पुनर्वास गराइसकेको छ।

आफ्नो मुलुक भनेको आफ्नै हुन्छ। अर्काको मुलुकमा पुनर्वास गराइएकाहरु पनि भन्छन्– देशजस्तो विदेश नहुनेरहेछ। अमेरिकाको युटा भन्ने स्टेट पुगेका पूर्णबहादुर भन्छन्– साह्रै दुःख पाइयो। देश जान पाए हुन्थ्यो। अर्काकै मुलुकमा मरिने भइयो। के गर्नु? नेपालको झापामा अझै पनि थुप्रै शरणार्थी छन् र उनीहरु स्वदेश फर्कने वातावरण बनाइदिन नेपाल सरकारसँग अनुरोध गरिरहेका छन्। नेपाल सरकारले जतिसुकै आग्रह गरे पनि, पटक पटकको वार्ता गरे पनि भुटानले टेरन। नेपाली मूलका शरणार्थीहरुलाई आतंककारी नै भन्यो। आतंककारी थिए भने विश्व समुदायले ८० हजार शरणार्थीलाई कसरी स्वीकार गरेर आफ्नो मलुकमा लगे त? भुटान शरणार्थीलाई स्वीकार गर्ने पक्षमा देखिदैन। नेपाली मूलका नागरिकलाई भुटानले आफ्ना नागरिक मान्न तैयार छैन।

भुटानका राजारानी सार्वजनिक स्थलमै यसरी मनोरञ्जन गरिरहेका छन्, सेक्सी पोजमा सेल्फी खिचिरहेका छन् र विश्वलाई हामी पनि आधुनिक छौं भनेर देखाइरहेका छन्। आधुनिक हुनु र मानवीय संवेदना फरक विशेषता हुन्। भुटानी राजारानी आधुनिक भएको देखिन्छ, तर आफ्ना नागरिकप्रति मानवीयताका साथ प्रस्तुत हुनसकिरहेको देखिदैन। भुटानी राजारानी मानवीय स्तरमा पनि उत्कृष्ठ देखिने हो भने आफ्ना नागरिकलाई तिनको धुलोमाटो, घरपरिवार, सुखदुःखमा बाँच्न दिनुपर्छ। रमाउने राजालेमात्र होइन, रमाउने अधिकार, खुशी हुने हक नागरिकको पनि हुन्छ, राजाले बुझ्लान्?