
सत्यमेव जयते कि सिंहमेव जयते ?
राष्ट्रले राष्ट्रलाई सहयोग गर्ने हो, ऋण दिने हो । भारतले भारूमै ऋण लिन पाउने व्यवस्थाको घोषणा गरेको छ । यसको उद्देश्य के हो, नेपालमा के असर गर्छ, कुन प्रकारको साजिस हो ? गभर्नर मौन छन् ।
राष्ट्र बैंक पर्ख र हेर को स्थितिमा छ । राष्ट्र बैंकले आफ्नो देशको मौद्रिक नीतिबारे बोल्नुपर्ने, चल्नुपर्ने होइन र ?
भारतीय रिजर्भ बैंक (आरबीआई) ले नेपाल, श्रीलंका र भुटानका नागरिकलाई भारूमा ऋण दिने निर्णय गरिसक्यो । भारतपक्षीयहरू भन्छन्– व्यापार घाटा व्यापक छ, भारूको कारोवार बढाउँछ, तरलतामा सहजता ल्याउँछ । भारतमा नरेन्द्र मोदीको सरकारले नोटबन्दी गर्दा नेपाल राष्ट्र बैंकमा करोडौं भारू थन्किएर बसेको छ, नेपालले अनुरोध गर्दा पनि परिवर्तन गरिदिएन । नेपाली जनतासँग भएका भारू पनि सटेर बसेका छन् । ती कुरा भुलाएर भारतले नेपालीलाई ऋण दिएर फसाउन खोजेको हो कि प्रभाव र दबाबलाई बृद्धि गर्न यो नीति अगाडि ल्याएको हो ?
अर्थविदहरू भारतको नीतिनिर्णयमा बोलेका छैनन् । हुन त लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतमा मिसाउँदा नबोल्ने नागरिक समाज, विज्ञ, बुद्धिजीवीहरूले भारतले नागरिकलाई भारूमा ऋण दिन गरेको निर्णयको स्वागत नै गर्नेछन् ।
श्रीलंका र भुटानमा भारतीय प्रभाव बढेको छ । नेपालमा अमेरिका र चीनले आफ्नो क्षेत्र बढाएका छन् । नेपाल रणनीतिक रूपमा विश्वशक्तिको मल्लयुद्ध गर्ने अखडा बनिसकेको छ । यो स्थितिमा आफ्नो खुस्केको लगाम कस्न भारतले नेपालीलाई भारूमा ऋण दिने पासा फ्याँकेको र पासोमा पार्न खोजेको बुझ्न सकिन्छ ।
नेपालमा विकास चाहेको हो भने भारतले नेपाललाई ऋण, सहयोग दिन सक्छ, विध्वंशपछिको निर्माणमा सघाउन सक्छ । कतिपय संरचना बनाइदिन सक्छ । हुन त भारतका प्रम नरेन्द्र मोदीले फोन नै गरेर अन्तरिम प्रम सुशीला कार्कीलाई बधाई दिएका छन् । तर उनको बधाई भारतकै धर्मशालामा १९५९ देखि निर्वासित जीवन बिताइरहेका तिब्बतका धर्मगुरू दलाई लामा पछि किन आयो, यो पनि रहस्य हो ।
आजसम्म विश्वका कुनै पनि मुलुकका नागरिकलाई भारतले यसरी ऋण दिएको छैन, यो नयाँ नीति छिमेकबाटै सुरू गर्दैछ भारतले । नेपालले त्यस्तो सुविधाको माग गरेको पनि थिएन, भारतले यो निर्णय नेपालमाथि थोपरिदिएको छ ।
भारतमाथि अमेरिकाले ट्यारिफ बढाएको छ । नेपाललाई ट्यारिफ सुविधा छ । कतै त्यो सुविधा घुमाउरो पाराले हत्याउन यो निर्णय आएको त होइन ? केही अर्थविदहरू डलरको प्रभाव घटाउन र भारूको प्रभाव बढाउन भारत अग्रसर भएको बताइरहेका छन् । राजनीतिक दृष्टि संशयपूर्ण रहेको छ । अनल राज भट्टराई, अर्थविद भन्छन्– ‘जुनसुकै देशलाई पनि अरू देशमा आफ्नो देशको पैसाले मालसामान किन्दा गर्वको महसुस हुन्छ, त्यति गर्न नपाउँदा साट्न पाए पनि त्यो महसुस हुन्छ । भारतले आफ्नो मुद्राको प्रभाव विस्तार गर्न चाहेको अवस्थामा पछिल्लो कदम लिएको हुन सक्छ ।’ विचार थरि थरिका आइरहेका छन् ।
भारतले त्यसै पनि स्कूल, कलेज, बाटोघाटो, पानी, पाटीपौवालगायतमा सिधै लगानी गरिरहेको छ । त्यो सुविधाको अवधि निरन्तर बढाउँदै लगेको छ नेपालले । अब सिधै व्यक्ति व्यवसायीलाई पनि ऋण दिने नीति खतरनाक हुनसक्छ भन्छन् कूटनीतिज्ञहरू । स्मरणी छ, महेन्द्रको उदय हुनुपूर्व नेपालमा भारूको चलन थियो । प्रधानमन्त्री नेहरू भनिन्थ्यो । भारत पुरानै अवस्था फर्काउन खोजिरहेको देखिन्छ । भारूको चलन बढ्दा नेपाली नोटको अवस्था कमजोर हुने पक्का छ ।
भारतीय प्रभावमा रहेका अर्थविदहरू भारतको भारूमा ऋण दिने निर्णयलाई सकारात्मक दृष्टिले हेर्नुपर्ने भन्छन् । के के विषयमा सचेत हुनुपर्छ, कोही केही भनिरहेका छैनन् । त दालमे कुछ काला है । भारत ठूला मुलुकको सानो निर्णयले सानो अर्थतन्त्रको नेपालमा प्रभाव त पर्छ पर्छ । – डा.विनिता