
भारतको नेपाल नीति फागुन २१ को चुनावपछि फेरिनसक्नेछ । यसबारेमा ’शक्ति सन्तुलन फेरिन सक्ने’ भारतले नै संकेत गरिसकेको छ ।
विश्लेषणअनुसार कुनै पार्टीको पनि बहुमत आउने सक्ने देखिदैन । यो अवस्थाले भारतको नेपालनीति परिमार्जन गर्नुपर्ने दिल्लीको सोच हुनसक्नेछ । भारतको विश्लेषणअनुसार फागुन २१ को चुनावमा बामपन्थीले धेरै सिट गुमाउने छन् । एक भारतीय नीतिकारका अनुसार छिमेक पहिलो नीति लिएको भारतले जस्तो सरकार बने पनि सहयोगी भाव नै राख्नेछ । भारतको प्राथमिकता ‘शान्ति, विकास र स्थायित्व’ हो, भारतीय सहयोग रहन्छ ।
भाजपा हिन्दुवादी पार्टी हो, नेपालमा हिन्दुवादी झुकाव बढी छ । हिन्दुत्वको मुद्दामा भारतको सहानुभूति रहनेछ । भारत स्पष्ट छैन, राजतन्त्रका विषयमा पनि भारत पर्ख र हेरको अवस्थामा छ । तर चुनाव होस् भनेर भारतले सवारीसाधनसहित सहयोग जुटाएको छ । जेनजी आन्दोलनलाई संवोधन गर्न पनि चुनाव अपरिहार्य छ भन्ने भारतको धारणा रहेको छ । तथापि चुनावी परिणामबारे भारतमा चासो देखिन्छ ।
भारतको मनोहर परिकर रक्षा अध्ययन वेभसाइटमा प्रकाशित टिप्पणीअनुसार यो चुनावमा कुनै दलको बहुमत आउनेछैन । रिसर्च फेलो निहार आर नायक लेख्छन्– यो त्रिशंकु अवस्थामा एमाले वा रास्वपामध्ये एकमा सरकार गठनको छलफल केन्द्रित हुनसक्नेछ । यो टिप्पणीको आधार रास्वपामा युवा लहर रहेको र एमालेको संगठन बलियो भएकोले भनिएको छ ।
मत परिणाम प्रतिस्पर्धीवीच गठबन्धनको प्रयासको आवश्यकता भन्ने विश्लेषण भइरहेको बेला नेपाल बुझेका भनिने अवकाशप्राप्त भारतीय सैनिक जनरल अशोक मेहताले भनेका छन्– चुनावबाट नेपालको शक्ति समीकरणमा उल्लेख्य परिवर्तन आउने भारतीय अधिकारीहरूको भनाई छ । संसदमा पहिले पहिले झण्डै ६० प्रतिशत कम्युनिष्ट रहने गरेकोमा त्यो संख्या अब उल्लेख्य रूपमा घट्नेछ । उनका अनुसार यो चुनावमा रास्वपाको सिट संख्या बढ्नेछ, सत्ताको दावेदार बन्नसक्नेछ । विभिन्न अध्ययनअनुसार कांग्रेस र कम्युनिष्टको हैसियत साँघुरिनेछ । कम्युनिष्ट शक्ति ४० प्रतिशतभन्दा कममा झर्नेछन् । नेपालमा कम्युनिष्ट शक्ति घट्नु भनेको भारत र अमेरिका खुशी हुनु हो । चुनावपछि बन्ने नयाँ सरकारले भारतमा गोर्खा सैनिक भर्तीमा देखिएको बिबादको अन्त्य हुने कुरामा भारतीय पक्ष विश्वस्त छ ।
ती सैनिक जनरलका अनुसार भारतमा सैनिक भर्ती गर्ने विषयमा माओवादी, र अन्य वामपन्थी दलहरू तगारो बन्ने गरेका थिए । गैह्र कम्युनिष्ट सरकार बन्नु भनेको अग्निपथ योजनाको अनुमोदनका लागि सहज वातावरण बन्नेछ ।
स्मरणीय छ, भारतको अग्निपथ योजना भनेको नेपाली युवा सैनिक भर्ती गर्ने, अग्निवीर भनिने, भर्ती भएको ७५ प्रतिशतलाई चार वर्षपछि निश्चित क्षतिपूर्ति दिएर बहिर्गमन गराउने र बाँकी २५ प्रतिशत अग्निवीरहरूलाई निवृत्तिभरण पाउने गरी स्थायी सैन्य सेवामा लाने ष्योजना हो । यसमा नेपाल असहमत थियो । २०२२ को यो भारतीय योजना लागू हुन नसकेपछि भारतीय गोर्खा भर्ति पनि रोकिरहेको छ । यसकारण जेनजी आन्दोलनपछि घोषणा भएको फागुन २१ को चुनाव होस् भन्ने भारतको मनसाय छ र चुनाव गर्न जोड गरिरहेको छ ।
चुनाव हुन १० दिन बाँकी छ, अझै पनि सुरक्षालगायतका विषयमा संशय उठिरहेकै छन् । यसमाथि पूर्वराजाले पहिले राष्ट्रिय मुद्दाहरूमा सहमति गरेपछि मात्र चुनाव भनेर फागुन ७ मा दिएको सन्देशले ठूलै तरङ्ग उठाइरहेको छ ।
फागुन २१ को चुनावमा परिवर्तन चाहने नयाँ र हालीमुहाली गर्दै आएका पुराना शक्तिहरूवीच प्रतिस्पर्धा हुनेछ । भारतका विभिन्न निकायले नेपालको निर्वाचनलाई नियालीरहेका छन् । यसमध्येका अब्जर्भर रिसर्च फाउण्डेशनले जेनजीका माग संवोधन र कतिपय नीतिगत सुधारमा निर्वाचनको परिणाम महत्वपूर्ण हुने देखिएको भनेको छ । नेपालका सन्दर्भमा यो अत्यन्तै महत्वपूर्ण निर्वाचन हो । राजनीतिक सुधार, सुशासन र नीतिगत सुधारको जेनजी मागसहित निर्वाचन हुने भएकाले महत्व बढेको हो ।
निर्वाचनकै लागि भनेर देश विदेश पुगेका युवाहरू नेपाल फर्किरहेका छन् । भारतमा काम गर्न गएका लाखौं नेपाली आआप्mना क्षेत्र ओइरिएका छन् । चुनावपछि बन्ने सरकारले स्वदेशमै रोजगारीको व्यवस्था मिलाउने, विकास निर्माणको गति बढाउने, भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारीमाथि दण्डविधान लागू गरी सुशासन दिने विश्वास जनतामा छ । यसकारण पनि फागुन २१ को चुनावप्रति जनतामा पहिल पहिलेभन्दा भिन्नै प्रकारको जोश र हौसला देखिदैछ । देशमा संविधान छैन, संसद छैन । विशेष परिस्थितिमा चुनाव हुँदैछ र यही चुनावले देशको भावी भविष्य कोर्ने ठानिएको छ । यो चुनावलाई साँचो परिवर्तनका लागि ठानिएको छ । देश संकटमा छ, देशको अस्तित्व संकटमा छ । यो संकटको निदान र निकास निकाल्नकै लागि यो चुनाव हो भन्ने धारणा सर्बत्र देखिन्छ ।
नेपालको परराष्ट्रनीति र आन्तरिक व्यवस्था बिथोलिएको सन्दर्भमा नेपालको समदूरीको नीतिमा आधारित राष्ट्रिय नीति पनि यही चुनावपछि स्पष्ट हुने भनिदै छ । यसकारण नेपाल, नेपालका छिमेकी र सबै मित्रहरूले चुनावमा सघाउँदैछन् ।


