Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

Image

बदलिदो विश्व व्यवस्थामा साझेदारी सन्तुलनको खोज

प्रेमसागर पौडेल

०३ मंगलबार , चैत्र २०८२१० घण्टा अगाडि

बदलिदो विश्व व्यवस्थामा साझेदारी सन्तुलनको खोज

विश्व राजनीतिको केन्द्रबिन्दु अहिले एशिया–प्रशान्त क्षेत्रतर्फ सरेको छ । शक्ति सन्तुलनको यस ऐतिहासिक परिवर्तनको घडीमा हिमालय वारिको भूमि नेपाल पनि प्रभावित छ । विशाल चीन र समुन्नत भारतको मध्यभागमा अवस्थित नेपाललाई प्रायः गहुँको बाला र दुई ढुङ्गाको बीचको अवस्थासँग तुलना गरिन्छ । तर यो तुलनाले नेपालको सक्रिय कूटनीतिक भूमिकालाई न्याय गर्दैन । नेपाल केवल भूपरिवेष्ठित असहाय राष्ट्र होइन; ऊ आफ्नो परिवेशलाई बुझ्ने, आफ्नो हितको रक्षा गर्ने र अवसरहरूको सदुपयोग गर्ने क्षमता राख्ने एक सक्षम कूटनीतिक अभिकर्ता पनि हो ।
हिमाली शृङ्खलाहरूले भौगोलिक रूपमा दुई देशलाई छुट्ट्याए पनि, इतिहास र संस्कृतिले तिनलाई जोडेको छ । नेपालले सधैं यो जडानलाई आत्मीयताका साथ संरक्षण गरेको छ । चीनको अर्थतन्त्रले लिएको अभूतपूर्व गति, प्रविधिको क्षेत्रमा भएको फड्को र विश्व मञ्चमा बढ्दो प्रभावले नेपाललाई धेरै नयाँ सम्भावनाहरूको ढोका खोलिदिएको छ । त्यसैगरी, भारतसँगको ऐतिहासिक, सामाजिक र आर्थिक सम्बन्ध पनि नेपालको परराष्ट्र नीतिको अपरिहार्य पाटो हो । यी दुई शक्तिहरूसँग सन्तुलित सम्बन्ध राख्नु नेपालका लागि कहिल्यै पनि सजिलो थिएन, तर असम्भव पनि छैन ।
भूराजनीतिक दृष्टिले नेपाल एउटा ’बफर स्टेट’ को रूपमा परिचित छ । तर समय बदलिएको छ । अहिलेको परिवेशमा ’बफर’ हुनुको अर्थ केवल पृथकतावादी रहनु होइन, बरू ’सक्रिय जडानकर्ता’ हुनु हो । नेपालले आफूलाई दुई ठूला अर्थतन्त्रबीचको पुलको रूपमा मात्र नभई, दुई फरक सभ्यता र बजारबीचको सेतुको रूपमा पनि स्थापित गर्न सक्छ । यसका लागि आवश्यक छ स्पष्ट दूरदर्शिता, सुदृढ आन्तरिक सहमति र एकीकृत राष्ट्रिय हितको बोध । नेपालको कूटनीतिले अब ’अलप’ (अलि यता, अलि उता) को पुरानो शैली छोडेर ’एकीकृत, सन्तुलित र फलदायी’ नयाँ शैली अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
पछिल्लो दुई दशकमा नेपाल–चीन सम्बन्धले अभूतपूर्व गति लिएको छ । यसको प्रमुख कारण हो, चीनले अवलम्बन गरेको ’समावेशी कूटनीति’ को अवधारणा । यो अवधारणा चीनको परराष्ट्र नीतिको मूल दर्शन ’शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’ र नयाँ युगको ’मानव जातिको साझा भविष्य’ को अवधारणासँग गाँसिएको छ । यसले नेपालजस्तो बहुदलीय लोकतान्त्रिक प्रणाली भएको देशमा चीनको कूटनीतिक उपस्थितिलाई एक नयाँ आयाम दिएको छ । तर, यही समावेशी नीति कहिलेकाँही नेपालभित्र एक चीन नीतिको पक्षमा उभिने मित्रशक्तिहरूबीच केही जटिल प्रश्नहरू पनि जन्माउने गरेको छ ।
चीनको समावेशी कूटनीति केवल रणनीतिक आवश्यकता मात्र होइन, यो चिनियाँ सभ्यताको ऐतिहासिक अनुभव र दार्शनिक चिन्तनको उपज पनि हो । पूर्वीय दर्शनको ’सबै प्राणीको कल्याण’ को अवधारणाले चिनियाँ कूटनीतिलाई सधैं बहुपक्षीयता र समावेशितातर्फ उन्मुख गराएको छ । चीनको परराष्ट्र नीति कहिल्यै पनि अल्पकालीन स्वार्थ वा कुनै एक समूहको हितमा केन्द्रित हुँदैन । बरू यसले दीर्घकालीन स्थायित्व, पारस्परिक सम्मान र साझा विकासलाई प्राथमिकता दिन्छ । यही कारणले चीनले नेपालका विभिन्न राजनीतिक दल, नेताहरू, बुद्धिजीवीवर्ग, व्यापारिक समुदाय र नागरिक समाजसँग समानान्तर संवाद कायम राख्ने नीति अपनाएको छ । चाहे ती जुनसुकै विचारधारा, जातिका र धर्म मान्ने हुन वा विपरीत समूहका ।
यो व्यवहार कूटनीतिक दृष्टिले अत्यन्त व्यवहारिक र दूरदर्शी छ । नेपालजस्तो देशमा जहाँ सरकार परिवर्तनको गति तीव्र छ, जहाँ आजको विपक्षी शक्ति भोलिको सरकार बन्न सक्छ । त्यहाँ कुनै एक राजनीतिक समूह वा नेतासँग मात्र सम्बन्ध सीमित राख्नु दीर्घकालीन रणनीतिका लागि जोखिमपूर्ण हुन सक्छ । चीनले यो यथार्थलाई राम्ररी बुझेको छ । त्यसैले ऊ सरकार परिवर्तनसँगै आफ्नो सम्बन्धको निरन्तरता सुनिश्चित गर्न सबै राजनीतिक धारहरूसँग संवाद कायम राख्न चाहन्छ । यसो गर्दा ऊ आफ्नो दीर्घकालीन हितको रक्षा मात्र गरिरहेको हुँदैन, नेपालको आन्तरिक राजनीतिको जटिलतालाई पनि सम्बोधन गरिरहेको हुन्छ ।
एक चीन नीति चीनको मूल राष्ट्रिय हितको केन्द्रविन्दु हो । यो त्यो आधारशिला हो जसमा चीनले आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय गौरवको रक्षा गर्दछ । नेपालले लामो समयदेखि यो नीतिप्रति निरन्तर समर्थन जनाउँदै आएको छ र आफ्नो भूमिबाट चीनविरूद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । यो समर्थन चीनको लागि अत्यन्त मूल्यवान छ । तर चीनको समावेशी कूटनीतिको दृष्टिकोणले कहिलेकाँही केही नेपाली मित्रहरूमा भ्रम पैदा गरिदिन सक्छ । जब चीनले आलोचकहरूसँग पनि संवाद कायम राख्छ, तब एकचीन नीतिको पक्षमा उभिनेहरूको मनमा प्रश्न उठ्नु स्वाभाविक हो । के चीनले मित्र र शत्रुमा फरक 
गर्दैन ? चीनको नीति विरोधाभासपूर्ण छ ?
यी प्रश्नहरू स्वाभाविक छन् । तर यिनको उत्तर कूटनीतिक यथार्थवाद र चीनको दीर्घकालीन रणनीतिक सोचमा निहित छ । चीनले विभिन्न राजनीतिक धारहरूसँग संवाद कायम राख्नुको अर्थ उनीहरूको सबै दृष्टिकोण वा गतिविधिसँग सहमत हुनु होइन । बरू, यो संवादको माध्यमबाट गलतफहमी हटाउने, वैचारिक दूरी कम गर्ने र सम्भावित तनावलाई व्यवस्थापन गर्ने प्रयास हो । चीनको विदेश नीति कहिल्यै पनि ‘शून्य–जम’ को दृष्टिकोणमा आधारित छैन । ऊ सधैं ‘जित–जित’ को स्थिति खोज्छ । त्यसैले, एकातिर एक चीन नीतिप्रति अटल समर्थनको अपेक्षा गर्नु र अर्कोतर्फ व्यापक संवाद र सहकार्यको ढोका खुला राख्नु चीनको नीतिको दुई पाटा हुन् । जो एकअर्काका पूरक हुन्, विरोधाभाषी होइनन् ।
चीन–नेपाल सम्बन्धको अर्को महत्वपूर्ण पाटो हो आर्थिक सहकार्य । पूर्वाधार विकास, व्यापार, ऊर्जा, पर्यटन र कनेक्टिभिटीका क्षेत्रमा दुई देशबीच सहकार्य बढिरहेको छ । विशेषगरी चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ ले नेपाललाई क्षेत्रीय कनेक्टिभिटी र विकासको नयाँ सम्भावनासँग जोड्ने अवसर प्रदान गरेको छ । सन् २०१७ मा नेपाल यस पहलमा सहभागी भएपछि दुई देशबीच पूर्वाधार र आर्थिक सहकार्यको दायरा विस्तार भएको छ ।
चीनको दृष्टिकोणमा BRI केवल भौतिक पूर्वाधारको परियोजना मात्र होइन, यो ’जडताको लागि विकास’  को दर्शन हो । यसले सहभागी राष्ट्रहरूबीच जनतासँग जनताको सम्बन्धलाई सुदृढ गर्ने, सांस्कृतिक आदानप्रदानलाई बढावा दिने र दीर्घकालीन आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने लक्ष्य राख्दछ । नेपालका लागि यसले भूपरिवेष्ठित देशको समस्याबाट मुक्त हुने, भू–जडित देश बन्ने एउटा ऐतिहासिक अवसर प्रस्तुत गरेको छ । ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी सञ्जालको विकासले नेपाललाई भविष्यमा दुई ठूला अर्थतन्त्रहरू बीचको पुल मात्र नभई आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र बनाउन सक्छ ।
यद्यपि, नेपाल–चीन सम्बन्ध पूर्ण रूपमा चुनौतीरहित छैन । नेपालको आन्तरिक राजनीतिक अस्थिरता, बाह्य शक्तिहरूको प्रभाव र क्षेत्रीय प्रतिस्पर्धाले कहिलेकाँही यी सम्बन्धहरूलाई संवेदनशील बनाइदिन्छ । दक्षिण एशियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाले नेपाललाई सन्तुलन कायम राख्न झन कठिन बनाएको छ । तर नेपालले परम्परागत रूपमा अपनाउँदै आएको असंलग्नता, सन्तुलित कूटनीति र सार्वभौमिक हितमा आधारित राष्ट्रिय नीति अझै पनि प्रभावकारी मार्गदर्शन बन्न सक्छ ।
चीनको दृष्टिकोणमा, नेपालसँगको सम्बन्ध कुनै पनि तेस्रो पक्षलाई लक्षित गरेर बनाइएको होइन । चीनको स्पष्ट धारणा छ, उसले नेपालसँगको सम्बन्धलाई क्षेत्रीय स्थिरता र साझा समृद्धिको माध्यमका रूपमा हेर्दछ । न कि कुनै प्रतिस्पर्धाको मैदानका रूपमा । चीनले सधैं भन्दै आएको छ कि उसको सम्बन्ध र सहयोग सबै नेपाली जनताका लागि हो, कुनै एउटा दल वा समूहका लागि मात्र होइन । यही भावनालाई मूर्त रूपको प्रयास नै समावेशी कूटनीति हो ।
नेपाल–चीन सम्बन्धको दीर्घकालीन भविष्य अन्ततः पारस्परिक विश्वास, पारदर्शिता र निरन्तर संवादमा निर्भर रहनेछ । समावेशी कूटनीति यस सन्दर्भमा अत्यन्त महत्वपूर्ण उपकरण बन्न सक्छ । यदि कूटनीति केवल सरकार–सरकार सम्बन्धमा सीमित रह्यो भने त्यसले दीर्घकालीन सामाजिक आधार निर्माण गर्न सक्दैन । तर जब कूटनीति समाज, संस्कृति, शिक्षा, व्यापार र जनस्तरसम्म फैलिन्छ, तब सम्बन्धहरू अझ स्थायी र बलियो बन्छन् ।
चीनको समावेशी कूटनीतिले नेपालका विभिन्न तह र समुदायसँग जोडिने पुल निर्माण गरेको छ । यो पुल दुईतर्फी छ, यसले चीनलाई नेपाल बुझ्न मद्दत गर्छ र नेपाललाई चीन बुझ्न अवसर प्रदान गर्दछ । यही पारस्परिक बुझाइ र विश्वासकै आधारमा हिमालयका यी दुई छिमेकीले भविष्यमा साझा समृद्धि र स्थायित्वको नयाँ अध्याय लेख्न सक्छन् । बदलिँदो विश्व व्यवस्थामा नेपाल–चीन सम्बन्धले साना र ठूला देशहरूबीचको साझेदारीको एउटा आदर्श नमुना प्रस्तुत गर्न सक्छ, जहाँ सम्मान, सन्तुलन र साझा हित प्रमुख स्तम्भ हुन् ।
(अध्यक्ष - नेपाल चीन पारस्परिक सहयोग समाज)