
नेपाल–रसिया कूटनीतिक सम्बन्धको वार्षिकोत्सव पारेर रसियाका उपविदेशमन्त्री रूडेन्को आजदेखि ३ दिने नेपाल भ्रमणमा रहनेछन् । नेपालमा भोटेकोशीको बाढीको विपद्पछि नेपाललाई के कसरी र कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयदेखि रसियाली सेनामा नेपाली नागरिकहरूको भर्ती, हराइरहेका व्यक्तिहरूको खोजी तथा मृतकहरूको क्षतिपूर्ति सम्बन्धको विषयमा समेत छलफल हुनेछ । रसिया पहिलेदेखि नै नेपालको सहयोगी हुँदै आएको छ, बन्द भएका सहयोगका उद्योग सञ्चालन, मलखाद उद्योग र अन्यमा समेत रसियाले सहयोगको हात बढाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार बुधवार सविच अमृतबहादुर राईसँग भेटवार्ता हुनेछ । यो वार्तामा ७ दशक लामो नेपाल रसिया सम्बन्ध अझ विशिष्टीकरण र नेपालले खोजेको रसियाली सहयोगका विषयमा छलफल केन्द्रित हुनेछ । नेपालका लागि यो छलफल कूटनीतिक मात्र नभई मानवीयतामा पनि आधारित हुनेछ । नेपालले रसियाली सेनामा नेपाली नागरिकलाई आइन्दा भर्ति नगर्न अनुरोध गरिसकेको छ । सेनामा भर्ना, हराएका र मृत भइसकेकाको परिवारलाई क्षतिपूर्ति दिने विषले अन्तिम निर्णय यही बेला हुनेछ ।
नेपाल रसियावीच कूटनीतिक सम्बन्ध १९५६ मा स्थापित भएको थियो । त्यसपछि रसियाले नेपालको शिक्षा, संस्कृति, पर्यटन, यातायात, उद्योग अनेक क्षेत्रमा सघाउँदै आएको छ । उपविदेशमन्त्री रूडेन्को अक्टोबर ६ मा ‘ओपन डायलग’ कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ । जहाँ वरिष्ठ पत्रकार, विज्ञ, कूटनीतिज्ञ तथा व्यवसायीहरूसँग भू–राजनीतिक विकास तथा नेपाल–रसिया सम्बन्धबारे अनौपचारिक छलफल हुने भएको छ । स्मरणीय छ, एकपल्ट युक्रेनको पक्षमा बोल्दा नेपालको असंलग्न परराष्ट्रनीति ढलपल भएको थियो । नेपाल रसियावीच व्यापक सम्बन्ध रहेकाले उठ्ने समस्याहरू वार्ताद्वारा हल गरिनेछ ।
एकाएक रसियाका उपविदेशमन्त्री नेपाल आउनुले भूराजनीतिक द्वन्द्वमा फस्दै गएको र भोटेकोशीको बाढी तथा अतिवर्षाले थिलथिलो भएको नेपालको आपद् विपद्मा रसियाली राष्ट्रपति पुटिनको ठूलै मन र महत्वपूर्ण सन्देश लिएर आउनलागेको अनुमान सहजै गर्न सकिन्छ । कूटनीतिक रूपमा यो भ्रमण धेरै नै अर्थपूर्ण देखिन्छ । उपविदेशमन्त्री रूडेन्कोको नेपाल भ्रमण सफल रहोस्, हाम्रो सम्बन्धको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा मैत्री अझ मजबुत हुँदैजाओस् ।


