काठमाडौं, ५ माघ – चिनियाँ थिङट्यांक चाहर इन्टिच्युटका अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका महासचिव तथा चिनियाँ पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फरेस (सीपीपीसीसी) का सदस्य हुवाङ योईले एमाले अध्यक्ष तथा पूर्बप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई ‘नयाँ उचाई’ मा पुर्याएको भन्दै प्रशंसा गरेका छन् ।
नेपाल–चीन थिंकट्यांक सम्मेलनमा सहभागि हुन चिनियाँ थिंकट्यांक र प्राध्यापकहरुको प्रतिनिधि मण्डलको नेतृत्व गरेका हुवाङले मंगलबार आफ्नो प्रमण्डलसहित एमाले अध्यक्ष ओलीसँग गरेको द्विपक्षीय वार्तामा द्विपक्षीय सम्बन्धले उचाई प्राप्त गरेको बताएका हुन् । वार्तामा एमाले सचिव प्रदीप ज्ञवाली, पोलिटब्यूरो सदस्य विष्णु रिमाल र केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ सहभागि थिए ।
‘तपाईले मार्च २०१६ मा प्रधानमन्त्रीका रुपमा चीनको औपचारिक भ्रमण गरेर नेपाल–चीन सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुभयो’ उनले प्रत्युत्तर मन्तब्यमा भने–‘तपाईले अघि बढाएको सम्बन्धको त्यो नयाँ उचाईलाई हामी निरन्तरता दिन चाहान्छौं ।’ आफ्ना दर्जन बढी थिंकट्यांक प्राध्यापकसहित भेटवार्तामा रहेका प्राध्यापक योईले द्विपक्षीय थिंकट्यांक सम्मेलन आयोजना र त्यसका चिनियाँ सम्बद्ध प्राध्यापकहरु काठमाडौं आउनुको पहिलो उद्धेश्य नै ओली सरकारले गरेका सम्झौता÷सहमतिलाई अघि बढाउनु रहेको समेत खुलाए ।
‘हामी किन यहाँ आयौं ? किनभने हामी तपाईको पालामा भएका ती महत्वपूर्ण सम्झौता÷सहमतिलाई अघि बढाउन चाहान्छौं’ उनले भने– ‘तपाइले द्विपक्षीय सम्बन्धमा जे सुरुआत गर्नुभयो, तिनलाई निश्चित संयन्त्र बनाएर हामी अघि बढाउन चाहान्छौं ।’
चीनले नेपाललाई सधै प्राथमिकतामा राखेर आफ्ना नेपाल नीति बनाउँदै आएको र नेपालको बिकास र समृद्धि चीनको चाहना भएको उनले उल्लेख गरे । ‘चीन र नेपालको सम्बन्ध बिशेष छ । नेपाल चीनको बिशेष मित्र हो’ उनले भने–‘मित्रलाई उसको चाहना बमोजिम सहयोग गर्न चीन तयार छ ।’
थिंकट्यांक सम्मेलन उद्घाटनअघि भएको छोटो भेटवार्तामा अध्यक्ष ओलीले आफ्ना पालामा नेपाल र चीनबीच भएका सम्झौताहरु कार्यान्वयन हुनेमा शंका नरहेको भन्दै तर प्रक्रिया भने ढिलो हुनसक्ने बताएका थिए । ‘केही व्यक्तिका केही हिडेन एजेण्डा हुन सक्छन्, तर ती भन्दा माथि जनताका एजेण्डा प्रष्ट छन् । जनता चीनसँगको सम्बन्धलाई अघि बढाउन चाहन्छन् । जनता चीनसँग भएका सम्झौताको कार्यान्वयन चाहन्छन्’ ओलीले भनेका थिए ।
त्यसपछि भएको सम्मेलन उद्घाटनमा पनि चिनियाँ प्राध्यापकहरुले ओली सरकारको चीन नीतिको प्रशंसा गर्दै नेपाल–चीन सम्बन्धमा अर्कै कुनै पक्ष आउन नसक्ने बताएका थिए । नेपालमा भएको पहिलो यस प्रकारको सम्मेलनले द्धिपक्षीय सम्बन्धमा बिबिध पक्षको अध्ययन अनुसन्धान गरी सम्बन्धलाई थप प्रबद्र्धन गर्ने उदेश्य राखेको छ । मुख्य रुपमा चिनियाँ राष्ट्रपति सी जिनपिङको वान बेल्ट वान रोड (ओबीओआर) लाई अघि बढाई नेपालले कसरी लाभ उठाउने भन्नेबारेमा सम्मेलन केन्द्रित छ ।
- See more at: http://www.chakrapath.com/content/huwang.html#sthash.u6NBKkWw.dpuf