काठमाडौं । आम निर्वाचनमा कांग्रेसले बेइजतिपूर्ण हार खाए पछि कांग्रेसभित्र आत्ममिमांसा हुनसकेको छैन । हारको कारण केलाउन र आगामी दिनमा पार्टीलाई कुन नीति र रणनीतिबाट मजबुत पार्ने भनेर तय गर्न कांग्रेसी नेताहरुले केन्द्रिय समिति, महासमिति र महाधिबेशनकै माग गर्न थालेका छन् । तर चुनाव हारेपछि नैतिक आधारमा राजीनामा दिएर कामचलाउ सरकार चलाउनु पर्ने प्रधानमन्त्री देउवा अनैतिक बनेर राजीनामा दिइरहेका छैनन् । उनै भन्छन्– सत्ता हस्तान्तरण गर्न आतूर छु । विभिन्न निर्णय गर्नका लागि देउवाले राजीनामा नदिएका हुन् ।
कांग्रेसीहरु भनिरहेका छन्– कांग्रेस विरामी भएको मात्र हो, सिद्धिएको छैन, विशेष उपचारको खाँचो छ । देउवा नामको डाक्टरले अव कांग्रेस बचाउन सक्दैन । कांग्रेसको नेतृत्व फेरिनुपर्छ । यस्तो आवाज उठे पनि देउवाका सारथी वालकृष्ण खाणले नेतृत्व परिवर्तनको माग सिधै नकारेका छन् ।
यसैवीच चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डेजस्ता नेताहरुले संयुक्त वक्तव्य प्रकाशित गरी महासििमतको बैठक बोलाउन माग गरेका छन् । महासमितिको बैठक बोलाइयो भने त्यहाँ हुने छलफलले महाधिवेशनको माग गर्नसक्छ । प्रम देउवा चुनाव तिमीहरु हार्ने, मलाई दोष दिने भनेर जर्कोमर्को गर्न थालेका छन् । उनको सभापतित्वमा बप्रश्नचिन्ह उठेको छ ।
पुस १६ गते वीपी जयन्ती, मेलमिलाप दिवस, यो दिनमा कांग्रेसभित्र वीपीको सम्झनाभन्दा पनि देउवाको आलोचना र मेलमिलापभन्दा बिबाद बढी देखियो ।
यता सशांक कोइराला देउवा, युवा र रामचन्द्र पौडेलहरुको गुटबाट बचेर हिडिरहेका छन् । कांग्रेसले चुनाव हार्यो, हातको सत्ता सिद्धियो, पीडाबोधमा कांग्रेस जनताको अपार विश्वास पाएर पनि किन चुनाव हारियो भनेर हारको कारण खोजिरहेको छ । सभापतिले चुनावका बेलामा विपक्षी वाममोर्चाले लगाएको आरोपको प्रतिवाद गर्न नसकेको निष्कर्ष निकाल्दै युवा कांग्रेसहरु ७० नाघेकाहरु
अवकाशमा जानुपर्ने अभिमत प्रकट गरिरहेका छन् । निर्मम समीक्षाका लागि सभापति देउवा तैयार होलान् ?
सात युवा कांग्रेसको मत छ– आजका चुनौतीहरु सामना गर्न कांग्रेसमा गम्भीर आत्मचिन्तन र विशेष तयारी आवश्यक रहेको छ । यसका लागि पार्टीर्िभत्र बृहत्तर एकताको सुत्रमा बाँधनुपर्छ । पार्टीका साथीहरुलाई न्यायको अनुभूति दिलाउन सक्नुपर्छ । आपसी दोष, गुटगत भावना र आग्रह पूर्वाग्रहबाट माथि उठेर सुदृढ र आधुनिक कांग्रेसको बलियो आधारशीला खडा गर्ने संकल्प गर्नु पर्छ भन्ने युवा नेताहरुको ठहर छ । तर देउवा अहिले पनि सभापतिको सनकमा देखिन्छन् । उनको बोलीको ढङ्गले पनि त्यस्तै देखिएको छ ।
महासमिति र महाधिवेशन भयो भने सशांक कोइरालाको नेतृत्वमा कांग्रेस अघि बढ्ने सम्भाबनाबारे पनि छलफल सुनिन्छ । वीपीवाद अँगाल्नै पर्ने र ०६३ साल अघिको नीतिमा फर्कनुपर्ने सुझाव युवा र पुराना कांग्रेसीहरुले दिन थालेका छन् । स्वयम् देउवाले समेत चुनावका बेलामा बिभिन्न ठाउँमा आफू हिन्दु भएको र वीपीको सच्चा अनुयायी बन्न चाहेको कुरा गरेका थिए । यदि त्यसो हो भने कांग्रेसभित्र जुन खिचडी पाकिरहेको छ, त्यो खिचडी महासमितिबाटै निर्णयमा पुग्नेछ र देउवाकै नेतृत्वमा संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्रमा गएर समापन हुनसक्छ । यति भयो भने नेपाली कांग्रेस पुनर्ताजकीकरण हुनसक्नेछ भन्ने पर्यवेक्षकहरुको ठम्याइ छ । कांग्रेस वीपीवादतिरै लाग्ला त ?