Advertisement Banner
Advertisement Banner

०८ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

कायरहरु जीवनमा धेरैपल्ट मर्छन्

२१ सोमबार , श्रावण २०७५७ बर्ष अगाडि

पदम हमाल- 
– देश बिकासका नाममा कतिपय पक्ष र तत्वहरुले पानी धमिल्याएर माछा मार्ने काम पटक–पटक गरे तर सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ । पुरानो कुरा कति गर्नु, ०६३ सालको जनआन्दोलनको सफलतापछि बसन्त पर्व आयो भनेर निकै खुशीयाली मनाइयो तर त्यस खुशीयालीका असली हकदार आमनागरिक आज आँसु पिएर बाँच्न बाध्य भएको छ । कसैले लाभ लियो, खुशी पायो भने त्यो नेतृत्व र उसका आसेपासेले नै भए । जनता आन्दोलन गर्ने, सहादत हुने, लाभ लिने नेतृत्वतह । त्यसपछि निरन्तर अवसरवादीहरुले फाइदा लिइरहेका छन् । जनताको पक्षमा उभिने र बोल्ने कोही पनि देखिदैनन् ।
– यदि तपाईंलाई विश्वास छ कि तपाई राम्रो गर्दै हुनुहुन्छ र अझै पनि मानिसहरूले तपाईको आलोचना गर्छन् भने चिन्ता नगर्नुहोस् र सम्झनुहोस् कि हरेक खेलमा दर्शकहरु मात्र उफ्रने हुन्, खेलाडी भने कर्मक्षेत्र चम्काउने तर्फ प्रयासरत हुन्छन । नेपालमा त समस्या नै खेलाडीको छ । राजनीतिक खेलाडी आफै खेल्छन्, आफे उफ्रन्छन् र आफै तमासे बन्छन् । यो फोहरी राजनीतिक खेलमा देश र जनताको हानीमात्र भइरहेको छ । गुमाउने देशले कमाउने राजनीतिक खेलाडीले । अव यस्तो खेलको अन्त्य जरुरी छ ।
– संसारमा काम त सबैले गर्छन तर इतिहास एउटाको मात्र लेखिन्छ । तसर्थ प्रयास गर वा योद्दा नै बन, आखिर जिन्दगी होस या युद्ध इतिहासको पानामा तिनीहरु कै मात्र नाम भेटिन्छ जसले जित्यो । त्यसैले त नेपोलियनले पनि भनेका थिए, मलाई भीड चाहिंदैन, भीड नियन्त्रण गर्नसक्ने केही व्यक्ति भए पुग्छ ।
भनिन्छ, कायरहरु जीवनमा धेरैपल्ट मर्छन्, बहादुर एकपल्ट मर्छ तर जीवनभर बाँचिरहन्छ । नेपाली जाति सधैं वीरको जीवन बाँचे । तर वर्तमान कालखण्ड नेपाली जातिका लागि दुर्भाग्य साबित भइरहेको छ । यसको खास कारण नेतृत्व कायर भएर हो । देशका लागि उभिन नसक्ने नेतृत्वले इतिहासलाई कलंकित पारिरहेको छ । यस्तो नेतृत्व फेर्ने साहस नागरिकले गर्ने बेला आयो ।