Advertisement Banner
Advertisement Banner

०८ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

नेपालमा मोदीले एकथोक भन्छन् तर गर्छन् अर्कै : राहुल गान्धी

११ सोमबार , भाद्र २०७५७ बर्ष अगाडि

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भारत सरकारको नेपालसहित अन्य छिमेकी देशहरुसँगको नीति असफल भएको बताएका छन्।

 

युरोप भ्रमणमा रहेका गान्धीले बेलायतमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारत सरकारको विदेश नीति तदर्थवादमा चलेको दावी गरे। यसका लागि उनले नेपाल, श्रीलंका र अफगानिस्तानसँग भारतको सम्बन्धको उदाहरण दिए।

‘रणनीति निर्माणमा देखिएको कमजोरी भारतको विदेश नीतिको ठूलो समस्या हो, अहिले विदेश नीति तदर्थवादमा चलेको छ’, गान्धीले भने, ‘नेपाल, श्रीलंका, अफागानिस्तान सबैसँगको सम्बन्ध असफल भएको छ।’

बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी काठमाडौं आउनु केही दिनअघि मात्र विपक्षी नेता गान्धीले यस्तो टिप्पणी गरेका हुन्। चार वर्षे कार्यकालमा ‘छिमेक पहिलो’ नीति लिएका मोदीले छिमेकी देशसँगकै सम्बन्ध बिगारेको र विदेश मामिलामा असफल भएको निष्कर्ष गान्धीले सुनाएका हुन्।

‘मोदी नेपाल जान्छन् र एउटा कुरा भन्छन्, फर्केपछि अर्कै कुरा गर्छन्’, गान्धीले थपे, ‘न श्रीलंकासँगको सम्बन्ध राम्रोसँग सञ्चालन गर्न सकेका छन्, न त अफगानिस्तानसँग। चीनसँग पनि उस्तै समस्या छ।’

छिमेकी मुलुकसँग विश्वासयोग्य समझदारीका लागि आफूले पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्ने सुझाव उनले मोदीलाई दिए।

‘खासमा अहिले विदेश नीतिमा रणनीतिकै अभाव छ, छिमेकी देशहरुसँग हामी साझेदारीमा जानु पर्छ’, छिमेकीसँग कस्तो साझेदारी भन्ने नखुलाएका गान्धीले भने, ‘तर अहिलेको सरकारले विभिन्न देशसँगको साझेदारीलाई झन् तोड्दै लगेको छ।’

केही वर्षअघि अफगानिस्तानबाट फर्केपछि मोदीले अचानक पाकिस्तानको भ्रमण गरेको प्रसंग पनि उनले उल्लेख गरे। ‘त्यसले गर्दा अफगानिस्तानमा के सन्देश जान्छ भन्ने कुराको ख्याल उनले गरेनन्’ गान्धीले थपे।

प्रधानमन्त्रीले अर्को मुलुकसँग गर्ने वार्ता देशको तर्फबाट गरिने वार्ता हो भन्दै गान्धीले भने, ‘त्यो संस्थागत संयन्त्रको सम्मान गर्न सकिएन भने राम्रो काम गर्न सकिँदैन।’

प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयबाट ‘फिडब्याक’ लिने नगरेको बताउँदै गान्धीले विदेशमन्त्री सुष्मा स्वराजले भिसा सम्बन्धी काम गरेर बस्नु परेको दावी गरे।

‘विदेश मन्त्री स्वराजले किन प्रवेशाज्ञाको काम गरेर बस्नु परेको छ?’, गान्धीले प्रश्न गरे, ‘विदेश मन्त्रीको काम भनेको विदेशनीति बनाउने र रणनीति तय गर्ने हो। यसका लागि सुष्मा स्वराज सक्षम पनि हुनुहुन्छ’, उनले थपे, ‘तर सरकारले उनको सही प्रयोग गरेको छैन। उनलाई सधैँ अपमान गरिएको छ। कतिसम्म भने, विदेशमन्त्री स्वराज प्रधानमन्त्री भ्रमण टोलीमा समेत राखिने गर्नु भएको छैन।’
-नेपाल खबर