http://danfetv.com/archives/20084
दक्षिणपूर्वी एसियामा पाइने र्याकोफोरस जातका भ्यागुताहरु १० मिटर परसम्म उड्न सक्छन्। दक्षिण एसियामा पर्ने नेपालकानेताहरु अनैतिकताको पहाड पनि उडेरै नाघ्न सक्छन्, किनकि नेपाली नेताहरुका चरित्रमा नैतिकता नामको कुनै गुण नै पाइन्न।
सर्पले टोकेको विष झार्न सर्पकै विषबाट प्रतिविष बनाइन्छ। एक किलो प्रतिविष बनाउन १० हजार सर्पको विष आवश्यकता पर्छ। नेपाली विषालु राजनीतिले टोकेर घाइते पारेको नेपाल र नेपालीलाई बचाउने प्रतिविष आजसम्म तैयार हुनसकेन। जसजसलाई जनताले यो त ठिक छ भनेर छाने, तिनले न नेपाल टोक्न छाडे, न नेपालीको रगत चुस्न छाडे। नेपाल र नेपाली मरणासन्न छन्, तिनलाई बचाउने कुनै उपाय जनतामा सुझ्न सकेको छैन।
काकु कमिलाको एक जात हो। यो काकु कमिलाले आफ्नै जातिका कमजोर कमिलाहरुलाई गुँडमा ल्याएर दास बनाएर राख्छ। नेपाली राजनीतिक नेताहरु नेपाली अनुहारका विदेशी भरिया हुन्, जसले कहिल्यै चौतर्फी रुपमा नेपालमाथि निरन्तर विदेशी हमला हुँदा पटक्कै बोल्दैनन्, जिब्रो तालुमा टाँसेर बस्छन्, लोकतान्त्रिक गणतन्त्र नेपालको नेता हुँ भनेर बास्छन्। नेपाली नेता भएर नेपाली जातिलाई दासको व्यवहार गरिरहेका छन्।
जनयुद्धसमेत मिसाएर तैयार पारिएको जनयुद्ध नामक मिसाइल दागेर ल्याएको परिवर्तनपछिको १३ वर्षको दृश्यहरु हेरौं, महानगरको कन्टेनरजस्तो महामारी फैलिने फोहरको डङ्गुरमात्र देखिन्छ। इमान्दारिताको कसीमा घोट्दा नगरबधुको जत्तिको पनि नैतिकता नेताहरुमा देखिएन। बेश्याको पनि विश्वास गर्न सकिन्छ। उ बोलेको कुरा पुरा गर्छे, सहमतिलाई तोड्दिन। शरीर बेच्छे, आत्मा बेच्दिन, अस्तित्व बेच्दिन। बेश्याको बोलीमा ओजन हुन्छ, उ बोलीमा समर्पित हुनसक्छे, बोलेको कुरा होइन भन्दिन। पेशाप्रतिको इमान्दारिता नगरबधुको विशेषता हो। यस्तै विशेषता तस्कर, माफिया, गुण्डा र डाँकामा पनि हुन्छ। समाजबिरोधी, शासनबिरोधी मानिने माफिया ‘डन’ हरु पनि बोलीमा पक्का मानिन्छन्। उनीहरु मर्न तैयार छन्, मार्न तैयार छन् तर बोलेको कुरामा अडान राख्छन्, अडिग हुन्छन्। त्यसैले हिन्दीमा उखान पनि छ– ‘जान जाय पर बचन नजाए। तर नेपाली राजनीति, बेइमानहरुको झुण्ड हो।
परिवर्तनको तुफान रोकिएको छैन। फरक यत्ति छ, हिजो जनताले परिवर्तनको आकांक्षा राखेका थिए, आज नेताहरु भाषणमा परिवर्तन खोजिरहेका छन्। नङ्गा नाचे हजार दाउ बनेको राजनीति एकातिर आँधीखोला अर्कोतिर तुइन बन्नपुगेको छन्। सत्ता र राज्य ढुकुटी राजनीतिकर्मी, जनप्रतिनिधि भन्न रुचाउनेहरुले पञ्चदेवलको हण्डी बनाइदिएका छन्। हण्डी खानेमा सम्भवतः निष्ठा हुँदैन। राजनीतिले निष्ठा गुमाएको छ। लोकतन्त्रवादी नेताहरु यस्तो अप्ठेरो गाँठोमा बाँधिएका छन्, त्यो गाँठो अर्काले बाँधिदिएकाले यसलाई फुकाउने सुर्केनो पनि अर्कैलाई मात्र थाहा छ। अरुले गा“ठो नफुकाएसम्म निकास र बिकास अबरुद्ध हुन्छ, भएको छ। त्यसैले यिनका मनमा सात पतरी कालो छ तर यिनका मुखमा लोकतन्त्रको मह देखिन्छ। यिनको व्यवहारमा लोकवादी केही पनि भेटिन्न। यिनको आशन र शासन नगरबधुभन्दा पनि अनैतिक छ। अनैतिकलाई दयामात्र गर्न सकिन्छ।
आफ्ना स्वार्थका लागि प्रयोग गर्न अमेरिकाले नोरियगादेखि सद्दामसम्मलाई बुख्याँचा बनाएर उभ्यायो। उपयोग सकिनासाथ तिनलाई समाप्त पारिदियो । अमेरिकाले समाप्त पार्ने सूचीमा बिन लादेन थिए, समाप्त पारिए र उत्तर कोरियालाई सकेन, अव तालिवानी टार्गेटमा छ। अर्काको उपयोगका लागि तैयार भएकाहरु सद्दाम जसरी उठ्छन् र समाप्त हुन्छन्। हाम्रा नेताहरुले यस्ता उदाहरण जानिराख्नु उचित हुनेछ। प्रश्न यतिमात्र हो– के लोकतान्त्रिक नेताहरुमा देशप्रतिको गौरव छ ? यिनमा नेपालीत्व छ भने घरि–घरि यिनीहरु किन दिल्ली दौडिन्छन् ? यिनले किन नेपाली जनतालाई तीर्थ बनाउन सकेनन् ? लोकतन्त्र र लोक सुरक्षित छन् कि छैनन् ? नेपाली राजनीतिको धर्माधिकारी दिल्लीमा बस्छ भने जनप्रतिनिधिको हैसियत के ? नयाँ नेपाल बनाउने आवाज ध्वनी कि प्रतिध्वनी ? कसरी बन्छ नयाँ नेपाल, खोई खाका ? नेपालका शासन, प्रशासन, सीमा, व्यापार, उद्योग, सामाजिक, आर्थिक, राजनीतिक सर्वत्र विदेशी आक्रमणलाई देखेर पनि आँखा चिम्लेर नयाँ नेपाल बन्छ ? नगरबधुमा जत्ति पनि अडान नभएका ‘इम्परर न्यूक्लोथ’का पात्रहरुलाई नाङ्गो छु भन्ने होस कहिले खुल्छ ?
लोकतन्त्र लोककोतन्त्र बन्नुपर्छ, भारततन्त्र वा विदेशतन्त्र हुनुहुन्न। अरुले चलाउने तन्त्र रखेलतन्त्रमात्र हुन्छ। नेता रखेल बन्न सक्छन्, नेपाल कसैको रखेल बन्न सक्दैन। देशभक्त बन्न आफूभित्र, आफ्नो अवधारणाभित्र, प्रत्येक श्वासमा नेपालीत्व देखाउन सक्नुपर्छ। जनबलमा उठ्नु पर्ने दलहरु दिल्लीको धापमा गौरव गर्छन् भने यिनीहरु नगरबधुभन्दा कमसल तत्व हुन्। नगरबधु एकहदसम्म बिगारतत्व हुन्, तर इमानका हिसावले परतन्त्रमा विश्वास गर्नेहरुले राष्ट्र समाप्त पार्छन्। नगरबधुभन्दा बेइमानहरु असल हुनसक्दैनन्।
कुनै पनि मुकाविलाका लागि प्रतिपक्ष चाहिन्छ। लोकतन्त्रवादीहरुको कुनै दुश्मन छ भने यिनीहरु आफै हुन्। जङ्गलमा जनावर बस्छन्, जनावरमा विवेक हुन्न, बिधि पनि हुन्न, भारत नेपाललाई जङ्गल बनाएर नेपालको सतित्व लुट्दैछ। नेताहरु ट्वाल्ल परेर हेरिरहेका छन्। नगरबधुहरु शरीर बेच्छन्, तर हाम्रा नेताहरु आत्मा बेच्छन्, देश बेच्छन्, अस्तित्व बेच्छन् र लिलाम भइरहेका छन्। इतिहासमा शेख हयास भन्ने व्यक्ति माटोलाई धोका दिएर बृटिश सरकारको चाकर बन्नपुग्यो। अन्तमा, बृटिशले आफ्नो माटोलाई धोका दिनेले हामीलाई पनि धोका दिन्छ भनेर कालोमोसो दलेर डाँडो कटाइदियो। नेपालको इतिहासमा बलभद्र छन्, बलभद्रको वीरता पनि छ। त्यही बृटिशले बलभद्रको वीरताको मूल्याङ्कन गरेर नालापानीमा सालिक ठड्यायो र सलाम ठोक्यो। राष्ट्रभन्दा सत्ता प्यारो, नीतिभन्दा स्वार्थ प्यारो ठान्नेहरु इतिहास पढ्दैनन्। धर्मयुद्ध लड्ने बेलामा नेताहरु स्वार्थको सर्त अघि सारेर राष्ट्रलाई खतरामा पारिरहेका छन्। प्रा. जोसुवा लिडरबर्गको परिभाषा छ– ‘कार्वन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन र फोस्फरस परमाणुका मोलिक्यूल्सहरुको संयोजनजनित ६ फिटको पशु…’ यो मान्छेको परिभाषामा नेपाली नेता कहाँनेर भिन्न छन् ? यस्ता देशघातीहरुले कृष्णलालको ‘मकैको खेती’ अथवा रुस्दीको ‘सटानिक भर्सेज’ पढे हुन्थ्यो। डम्बरशमशेर थापाले पद्म शमशेरलाई पत्र लेखेर ‘प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ” भनेको इतिहास पढे त झनै राम्रो हुनेथियो। नेताहरुलाई ज्ञात होस्– गुण्डातन्त्र चिरस्थायी हुन्न। मसलतन्त्रले जनताको मन जित्दैन, घृणामात्र बढाउँछ।
लोकमतबाट आएका लोकतन्त्रका नायकहरुलाई राज्य गर्ने अधिकार छ, जनताको स्वाभिमानलाई, देशको एकता र अस्तित्वलाई दशदान, गाईदान गर्ने अधिकार छैन। यिनीहरुले शान्ति र सुशासनका लागि भीष्म प्रतिज्ञा गरेकै हुन्, त्यो प्रतिज्ञा खोज्नु जनताको अधिकार हो। जनतालाई त्यो अधिकारबाट बञ्चित गर्नु लोकतन्त्र होइन। नेताहरुले ऐना हेरुन्। आफ्नै घोषणापत्र पढुन्। जनतालाई पटमूर्ख नठानुन्।
कुनै दिन संसद भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्ने कम्युनिष्टहरु अहिले संसदमा छन्। यिनीहरु ‘जनताको गणतन्त्र’ कम्युनिष्ट समाजवादको कुरा गर्छन। सरकार र संसदलाई ‘लुटी खाने लोकतन्त्र र कमाउनिष्ट बनाउने कम्युनिष्टतन्त्रको थलो’ बनाएर कम्युनिष्टहरु आफ्नै घुँडामा बञ्चराे हान्न चाहान्दैछन्। आफै पुरिने खाल्डो खनिरहेका छन्। हिम्मत छ भने कम्युनिष्टहरुले जनजिविकामाथि धावा बोलेर जनताको रगत चुसेको कबुल गरुन्। अव ड्रय्राकुल्ला बनिन्न भनुन्। छ हिम्मत ?
प्रतिक्रियाका लागि ?
rajan2012karki@yahoo.com