गंगा दाहाल -
नेकपाले जनमत पाएको स्थिर सरकार होस्, अस्थिरता सकियोस्, बलियो सरकारले सुशासन देओस् र समृद्धि ल्याओस्, नयाँ नेपाल भनेको के हो निर्माण गरेर देखाओस्, देशको बेहाल बदलोस्, जनताको र जनजिविकाको हालत बदलोस्, कमजोर र भोकानाङ्गाहरुको भाग्य चम्कियोस्, तिनले सुखानुभूति गर्न पाउन् भन्नका लागि हो । ओली सरकार निर्माण भएपछि जे जे घटना, दुर्घटनाहरु भएका छन्, काण्डहरु मच्चिएका छन्, यसले सरकारको सूर्यछविमा ग्रहण लागेकै हो, यो ग्रहण भनेको भ्रष्टाचार र अनियमितताको हो, जो जसले यस्तो गरेको छ, जो यसमा सामेल छन्, त्यो काई खुर्कनैपर्छ, अन्यथा नेकपामात्र होइन देश चिप्लिन्छ ।
फेसलेस फेसहरुलाई च्याप्नु भनेको रोग पाल्नु हो, रोग पाल्नु भनेको क्यान्सर भोग्नु हो । नेकपा क्यान्सर बोकेर देशलाई बर्बाद पार्न सक्दैन । देश बनाउने गुरुतर दायितव जनताले दिएका छन्, जनताले सुम्पेको त्यो कर्तव्य पूरा नगर्ने हो भने भावी पुस्ताले सराप्नेछ ।
मेरो निष्कर्ष छ– सरकारसँग जादुको छडी छैन, रातारात सरकारले चमत्कार देखाउन सक्ने कुरा पनि भएन । सरकारको एकवर्ष टेस्ट परीक्षामात्रै हो । टेस्टमा न्यूनतम नम्बर ल्याएर पास भएको होला, अव फाइनल परीक्षामा यो सरकारले डिस्टिङ्क्शन ल्याउनुपर्छ । पार्टीभित्र बिरालोको जस्तो ङारङुर सुनिएका छन्, विश्वास गरेर जनबल दिने जनता सचेत हुनुपर्छ, खबरदारी पनि गर्नुपर्छ र सहयोग गरेर यो सरकारलाई सफल पनि पार्नुपर्छ । सरकारको सफलता भनेको लोकतन्त्रको सफलता, लोकअपेक्षाको सफलता, संविधानको सफलता हो । सरकार असफल हुनु भनेको संविधान दुर्घटनामा पर्नु हो ।
केही कमीकमजोरी भएका छन्, भ्रष्टाचार नियन्त्रणमा गम्भीर त्रुटी पनि देखिएका छन्, नियुक्तीदेखि निर्णयसम्ममा गल्ती हुँदा कमल थापाले समेत प्रश्न गर्न पाएका छन्– जनताले के पाए ? हो यही प्रश्नमा नेकपा र नेकपा नेतृत्वको दुई तिहाइको सरकार गम्भीर हुनुपर्छ र यस्ता प्रश्नमा जवाफ दिनसक्नुपर्छ । प्रत्येक नेकपा कार्यकर्ताले जवाफ दिन सक्ने हौसला सिर्जना गर्ने काम सरकारमा बस्नेहरुको हो । सिर्जना गर्न सक्दैनन् भने त्यस्तालाई दयामात्र गर्न सकिन्छ ।
गीत भाइरल बन्यो– लुट्न सके लुट कान्छा अरु देशमा पाइदैन नेपालमै मै हो छुट । यो गीत बनाउने अवसर यही सरकारका केही गलत तत्व र भ्रष्ट कर्मचारी प्रशासनले दिएको हो । सुधार गर्नैपर्छ, गलत तत्वहरु सुधारिनै पर्छ र यस्ता गीत गाउन नपाउने वातावरण निर्माण गर्नैपर्छ । सपना देखाइएको छ समृद्धि र शान्तिको, समृद्ध नेपाल र सुखी नेपालीको । यसका लागि यो एकवर्षमा जे जे देखियो, ती नैतिकहीनहरुलाई कडा दण्ड दिनैपर्छ, भ्रष्टाचारका यस्ता काइहरुलाई खुर्कनैपर्छ । असावधानी शिक्षा पनि हो, त्यो शिक्षा बुझेर सचेत भएर कहाँ कहाँ भ्रष्टाचारका भाइरसहरु सलबलाएका छन्, ती भाइरसहरु नियन्त्रण गर्न के के गर्नुपर्छ, कुन प्रकारको एण्टीभाइरस छर्नुपर्छ छरेर भ्रष्टाचार नियमन गर्नतिर नेकपाको सरकारको ध्यान जान जरुरी छ । भाइरसले महामारी ल्याउँछ । यतिबेला सरकारको, राष्ट्रपतिको, संवैधानिक निकायहरुको जे जसरी आलोचना भइरहेको छ र आलोचना गर्ने अवसर दिइएको छ। यी आलोचनाको जडलाई जबरजस्त कानुनी हम्मर हानेर ठिकठिक पार्नैपर्छ । सरकार सुन हो भने जनताको गहना बन्नका लागि आगोमा त पोलिनैपर्छ, हेलिनैपर्छ र सुन्दर गहना बन्न सकिन्छ । आगोको डर मान्ने गहना बन्न सक्दैन ।