Advertisement Banner
Advertisement Banner

२० आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

मितेरी पुलमा ग्रेटर नेपाल

१७ आइतबार , आश्विन २०७२११ बर्ष अगाडि

तातोपानी नाका खोल्न सरकारले गरेको बिलम्बको विषयलाई मध्यनजर गरी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेतृत्वको एक प्रतिनिधि मण्डल यही असोज १६ गते तातोपानी नाका स्थित मितेरीपुल पुगी चिनियाँ अधकारी समक्ष नाका खोलेर ब्यापारिक कारोबार सुचारु गर्न अनुरोध गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा नेपाली र चिनियाँ झण्डा बोकेर मितेरीपुल पुगेका स्थानिय जनता सम्मिलित मोर्चाको प्रतिनिधि मण्डललाई चिनियाँ अधिकारीले आत्मीय स्वागत गरेका थिए । मोर्चाका तर्फबाट मित्रताको प्रतीक नेपालको राष्ट्रीय झन्डा चिनियाँ अधिकारीलाई उपहार दिएपछि चिनियाँ पक्षबाट पनि मोर्चाका अध्यक्षलाई चीनको राष्ट्रीय झन्डा उपहार दिइएको थियो ।  उक्त अवसरमा नेपाल चीन बिचको दौत्य सम्बन्धको ६० आँै वर्ष पुगेको उपलक्ष्यमा नेपाल चीन सम्बन्ध खुला र हार्दिक रहेको भनी खुसी व्यक्त गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपालको असहज स्थितिमा सघाउने प्रतिबद्धता ब्यक्त गरेकोमा चिनियाँ जनता र सरकारप्रति धन्यबाद प्रकट गरेका थिए ।  प्रतिउत्तरमा चिनियाँ अधकारीले उपहारमा दिएको नेपालको राष्ट्रीय झन्डा र मोर्चाको संदेश चिनियाँ सरकार समक्ष  पु¥याउने बचन दिएका थिए । उक्त अवसरमा नेपाल चीन सम्बन्ध अमर रहोस् र नेपाल चीन एकता जिन्दाबाद जस्ता नारा लगाइएको थियो ।  मितेरी पुलको बिचमा यो कार्यक्रम हँुदा स्थानीय जनता उत्साहित भई ताली बजाएर स्वागत गरेका थिए भने मोर्चाका अध्यक्षसँग कुराकानी गर्दै स्थानीय जनताले अरनिको राजमार्गको मर्मत—सुधारमा चासो नदिएकोमा सरकारप्रति रोष प्रकट गरेका थिए ।  
 
गत वर्ष जुरेमा गएको भिषण पहिरो र यस वर्ष बैशाख १२ र २९ गते गएको महाभूकम्पको कारण अरनिको राजमार्गमा ठुलो क्षति पुग्न गई यातायात अबरुद्ध भई तातोपानी भन्सार पूर्ण रुपमा बन्द भए पछि उक्त भन्सारबाट हुने चीनसँगको अरबौँको व्यापार शून्यमा झरेको थियो ।  नेपाल सरकार नेपाल चीन नाका खुलाउन उदासीन रहेको स्थितिमा यही असोज ३ गतेदेखि भारतले एक पक्षीय रुपले नेपाल बिरुद्ध नाकाबन्दी गरेपछि ठुलो समस्या परेको हुँदा केही दिन यता सरकार माथि जनदबाब बढ्न गई नेपाल चीन नाकाबाट यातायात सुचारु गर्न पहिरो पन्छाउने काम सुरु गरे पनि त्यसमा अपेक्षित सक्रियता आउन नसकेका कारण यातायात राम्रोसंग सुचारु हुन सकेको छैन ।  सडक मर्मतको अवस्था हेर्दा राजमार्गमा मालबाहक ट्रक र ठुला सवारी साधनहरु दोहोरो रूपमा चल्ने कुरा त परै जाओस् एकतर्फी रुपमा पनि चल्न सक्ने अवस्था देखिँदैन ।  जुरेदेखि तातोपानी सम्म ९२, १०३, १०६ र ११० किलोमिटर क्षेत्रमा सडक सुधार गर्न निकै समस्या देखिन्छ भने तातोपानी भन्सारदेखि मितेरी पुलसम्म जाने बाटोलाई पहिरोले पुरेकोमा पहिरो नहटाई सम्याउने काम मात्र भएको हुँदा वर्षा भएको खण्डमा बाटो पुनः अबरुद्ध हुने निश्चित छ ।
 

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गरेको स्थलगत अध्ययनको प्रतिवेदन छिटै निर्माण तथा यतायातमन्त्री लाई बुझाउने जनाएको छ ।