Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

जापानले ल्यायो गाउँ फर्क अभियान, नेपालले केहि सिक्ने कि ?

२८ आइतबार , जेठ २०८०३ बर्ष अगाडि

जापान सरकारले आर्थिक सहयोग गर्दै गाउँ फर्क अभियान शुरु गरेको छ । ग्रामीण क्षेत्रका अधिकांश घरहरू खाली हुन थालेपछि सरकारले नगद दिएर गाउँ फर्काउने महत्त्वाकाङ्क्षी योजना ल्याएको हो ।

त्यहाको सरकारले राजधानी टोकियो सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्ने परिवारलाई प्रतिसदस्य १० लाख येन दिने बताईएको छ । ग्रामीण भेगका घरहरू खाली हुने क्रम बढेपछि सरकारले टोकियो सहर छाडेर ग्रामीण भेगमा जानेहरूलाई १० लाख येन अर्थात् झन्डै सात हजार डलर दिने घोषणा गरेको हो ।

ग्रामीण भेगमा फर्किएर कम्तिमा परिवारका एक जना सदस्यले रोजगार गर्नुपर्ने वा ग्रामीण क्षेत्रमा आफ्नो व्यवसाय सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ भने ग्रामीण क्षेत्रमा बसाइँ सर्ने परिवार कम्तीमा आउँदो पाँच वर्ष सहरी क्षेत्रमा बसाइँ सर्न नपाउने बताईएको छ ।

जापानको सरकारी तथ्याङ्कअनुसार जापानमा रहेका ८० लाखभन्दा धेरै घरमध्ये ग्रामिण क्षेत्रका झन्डै १३ प्रतिशत घर खाली छन् । ग्रामीण क्षेत्रमा मानिस बस्ने घरमा पनि एउटा घरमा एक/दुई जनामात्रै रहेका छन् । जापानमा जनसङ्ख्या घटिरहेको र मानिसहरू सुविधा खोज्दै सहरमा जाँदा ग्रामीण बस्तीहरू खाली हुने बढिरहेको छ ।

ग्रामीण क्षेत्रमा रोजगार, उच्च शिक्षाको पर्याप्त अवसर नहुदा युवा पीढी राजधानी टोकियो र ओसाकाजस्ता ठूला सहरतर्फ आकर्षित भएको जनाइएको छ । सन् २०१० मा १३ करोड रहेको जापानको जनसङ्ख्या सन् २०६० मा आठ करोडमा झर्ने अनुमान रहेको समाचारमा जनाइएको छ ।

केहि समयमा नेपाल पनि यस्तै अवस्थामा पुग्ने त हैन ? अहिले नेपालको ग्रामिण भेगका मानिसहरु शहर केन्द्रित भैरहेका छन् । गाउघरमा बृद्धा-बृद्ध र मात्रामा बालबालिका बस्ने गरेका छन् । युवाहरु बैदेशिक रोजगार र उच्च शिक्षा अध्यनका लागि विदेश जानेक्रम बढ्दो छ । तसर्थ नेपालले पनि बेलैमा नसोचे भोलिका दिनमा जपना कै जस्तो नहोला भन्न सकिन्न ।