Advertisement Banner
Advertisement Banner

०९ शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

कांग्रेस– बीपीको सपना के भयो ?

२२ मंगलबार , जेठ २०८११८ दिन अगाडि

कांग्रेस– बीपीको सपना के भयो ?

बीपी कोइरालाको सपना थियो– एउटा दुहुनो गाई, एक हल गोरू, गरिखाने अलिकति जमिन, औषधिमूलो, सन्तानलाई शिक्षा– नेपाली कांग्रेसको समाजवाद यही हो । त्यही कांग्रेस र वीपीका अनुयायी हँु भन्ने सभापति बनेका छन् शेरबहादुर देउवा । बीपीका अनुयायी देउवाले बीपीको सपना साकार पारे कि पारेनन् ? बीपीका सिद्धान्त बाँकी छन् कि सिध्याए ? बीपीका अनुयायीहरूले बीपीका सपनाका बारेमा आत्ममिमांसा गर्ने बेला भएको छ । कारण, कांग्रेसभित्र बीपी देखिदैनन्, कांग्रेस बीपीको सपनाबाट दिग्भ्रमित भएर बाटो बिराएको छ । बीपी र कांग्रेस अलग थलग हुनपुगेका छन् ।
सुतुरमुर्ग भन्ने प्राणी टाउको बालुवामुनी घुसारेर सुरक्षित छु भन्ठान्छ । त्यो प्राणी र नेपाली कांग्रेसमात्र होइन, हाम्रा राजनीतिक नेताहरू उस्तै–उस्तै लाग्छन् । कुनै पनि पार्टीभित्र नीति स्पष्ट छ, नीतिमा उभिने ल्याकत छैन । नैतिकता कुन चराको नाम हो भनेर सोध्ने अवस्था छ । निष्ठा त परको कुरा, हरेक दल र नेताको ध्याउन्न सत्ता छ, सत्तासुख छ । कुनै पनि पार्टीको अनुहार भिन्न लाग्दैन । हरेक नेता मौकापरस्त, अवसरवादी लाग्छन् । तिनले देखाएको व्यवहार र तिनको गतिमति नै अवसरवादी देखिन्छ ।
०४६ सालपछि सत्ता र शक्तिमा पुगेका नेताहरू आज पनि राजनीतिका खेलाडी छन् । शासन, संसद र सत्ताका धुरन्धर खेलाडी बनेका छन् । तिनले व्यवस्था बदले, आफ्नो ब्यबहार बदल्न सकेनन् । समाज बदल्छु नयाँ नेपाल बनाउँछु भनेर सपना देखाएका थिए, आआफ्ना पार्टीका सिद्धान्तलाई समाप्त पारे, जनतालाई देखाएको सपना पनि साकार पार्न सकेनन् । हो, तिनले आफ्नो सपना साकार पारेका छन् । आफ्ना परिवारलाई सम्पन्न बनाएका छन् । नेता र कार्यकर्ता, तिनका परिवारका लागि लोकतन्त्र आएको छ । लोकतन्त्रले लोकलाई संवोधन गर्न सकेन, लोकलाई निराश बनाए । तैपनि सुतरमुर्ग शैलीमा हरेक नेता लोकतन्त्र जिन्दावाद भन्छन् । जनताले जतिसुकै घृणा गरे पनि तिनलाई फरक परेको छैन । आफू हरेक दृष्टिबाट असफल र गैह्रजिम्मेवार बन्दै गएको यिनले हेक्का नै राख्न सकेका छैनन् ।
बिबेकीहरू बिबेकी चरित्र देखाउन सक्दैनन् । बुद्धि फाँटका चेत प्राणीहरू पनि टाउको उठाउन छाडेर यस्तै सुतुरमुर्गे शैलीमा टाउको घुसार्न अभ्यस्त भएका छन् । राष्ट्र भनेको लोक हो, लोकतन्त्रको अन्तिम यथार्थ देश र जनता हुन् । यी दुई शाश्वत शक्तिलाई आघात पु¥याएर गरिएको राजनीति पनि स्थायी र शाश्वत हुनसक्दैन भनेर खबरदारी गरिदिने कोही छैन । हरेक तह र तप्काका जनता असन्तुष्ट छन्, आक्रोसित छन् । जनतालाई बिभाजित गरेर र सत्ताको दमनले चूप गराउन सकिन्छ भन्ने भ्रममा लोकतन्त्रनामको मनलागीतन्त्र चलाउनेहरू भ्रम पालेर बसेका छन् । यो आक्रोसित जनता सडकमा पोखिए भने के होला ? जनताप्रति जिम्मेवार हुनैपर्नेहरूले बुझ्न सकेका देखिदैनन् । जनता सडकमा उत्रिएका दिन सिद्धान्त, नीति, नैतिकहीनतामा उभिएका सुतुरमुर्गहरूको हालत कस्तो होला ? चेतना रहोस् ।