
यो लोकतान्त्रिक गणतन्त्र हो कि मंगलसेनको घोडा ?
यो पद्धति मंगलसेनको बहुला घोडा झैं बेतोडले दौडिरहेको छ । यो घोडा दौडाको मुकाम सिंहदरवार, शितल निवास, संसद र स्वार्थ हो । स्वार्थन्ध भएर दौडनू भनेको पुग्ने अराजकता र हिंसामा हो । बढ्दो अराजकताले यो पद्धतिले देश र जनतालाई सुइरालो रोपेझैं रोप्न थालेको छ । यो पद्धतिमा कुनै नेपालीले शान्ति र सुख देख्न छाडेका छन् ।
हिजोको पञ्चायतमा बिमति बढ्यो, बहुदल आयो । बहुदलमा बिमति बढ्यो, लोकतन्त्र आयो । लोकतन्त्रमा बिमति बढेको १८ वर्ष भयो, अब के ? राजनीतिमा अराजकता र अस्थिरताले सीमा नाघिसक्यो ? नेताहरूमा सभ्यता, संस्कृतिका आचरण देखिन छाड्यो । सडकमा मात्र होइन, संसद र सरकारमा समेत अनुशासनको कमी हुनथालेको छ । कुनै पनि नेता अथवा कार्यकर्ता, कर्मचारी अथवा पदाधिकारी नीति, नियममा बस्न छाडे । कानुन मिच्ने होडबाजी चलेको छ । बिभेद र निषेध त थियो नै, अब प्रतिषोधको राजनीति बाढी आएजसरी बढेको छ । यो स्थितिले राजनीति यू टर्नको दोबाटोमा पुगिसकेको छ । सहमति, संवाद र सहकार्य गर्न कुनै नेता तैयार छैनन्, यसैको कारण राजनीति छाडा हुँदैछ, संविधान असफल भइसक्यो । राष्ट्रको अस्तित्वको प्रश्न उठिसकेको छ । विवेक हराएपछि अस्तित्वको संकट पर्छ, प¥यो । संसारकै उत्तम व्यवस्थालाई फ्रडको कलंक लाग्न पुग्यो । यसको जिम्मेवार भनेका यिनै शासक, प्रशासक र पार्टीहरू हुन् ।
शासन व्यवस्थामा भ्रष्टाचार व्याप्त छ, बिधि छैन, बिमति व्याप्त छ हत्यारा र गम्भीर अपराधीहरू छाडिएका छन् र छाडिदैछन् । आफ्नालाई जोगाउने, संरक्षण दिने र अर्कालाई भित्तैमा पु¥याउने कार्य भइरहेका छन् । नयाँ नेपाल बनाउनेहरू भएको नेपाललाई सिध्याउन लागिपरेका छन् । समानता, समृद्धि भनेको सक्नेले डाँकाले गरेजस्तो मनलागी गर्नु हुनपुगेको छ । लोकतन्त्र लूटतन्त्र बन्यो, नेताहरूवीच, पार्टीहरूवीच भाग शान्ति जय नेपाल पद्धति बसिसक्यो । यस्तो चलन लोकतन्त्र हुनसक्दैन । दुर्भाग्य, लोकतन्त्रले लोकलाई संवोधन नै गर्न सकेन। । आफै खाउँ आफै लाउँ, मोजमज्जा म आफै गरूँ भनेजस्तो दृष्टान्त अनेक देखिन्छन् । लोकतन्त्र लोक जीवनमा अनुवाद हुनसकेन । राजनीतिक ‘बाहुबलीपन’मा मग्न भएका नेताहरू अवशरवादी रसायनका साइड इफेक्ट महामारी फैलाइरहेका छन् ।
लोकतान्त्रिक गणतन्त्र देश र जनताका लागि सराप हुनपुग्यो ।
जसरी पनि चुनाव जित्नु र शक्तिशाली हुने सपना छ नेताहरूमा । सत्तामा हुनेलाई सत्ता लम्ब्याएर सर्वसत्तावादी बन्नुछ, सत्ता नहुनेलाई पहिले सत्ता चाहिएको छ । संकट राजनीतिक र संवैधानिक छ बढ्दो अनीति र भ्रष्टाचारको छ तर झगडा मच्चिएको छ सत्ताको । यही झगडाका कारण देश कसरी अगाडि बढ्छ ? प्रश्न उठेको छ । मंगलसेनको अन्धघोडा दौडेजसरी दौडेर बिनासमा पुग्नु भनेको मृत्यु हो । मृत्यु यो पद्धति बन्न हुनेथिएन, तर पार्टीको विवेकहीनताले लोकतन्त्र मृत्यतन्त्र बन्नपुग्यो । कस्तो दुर्भाग्य ?
जति झकझक्याए पनि राजनीति निदाएको नाटक गरेर चलेको छ । लोकतन्त्र मंगलसेनको घोडा बनेर कुदिरहेको छ । मंगलसेनको घोडालाई नियन्त्रण गर्न जनता र युवा जमात ननिस्कने हो भने देश मंगलसेनको फर्मानमा चल्ने झिंझाको जंगल बन्न पुग्नेछ । लोकतन्त्र ल्याएको, जनताले परिवर्तन खोजेको निरंकूशताको साटोमा झिंझाको जंगलतन्त्र नै हो त ? होइन भने आमनागरिक र युवा जमात उठ्नैपर्छ, जाग्नै पर्छ । जबसम्म खबरदार गरिन्न, यी निदाएको नाटक गरेर लूटतन्त्र मच्चाउने नव बादशाहहरू सावधान हुनेछैनन् । यसैगरी चल्नु भनेको चिहानमा पुग्नु हो, होस् रहोस् ।