
नेपालको इतिहासमा ७ थान संविधान जारी भए, कुनै पनि संविधान टिकाउ र गतिशील हुनसकेनन् । सबैभन्दा प्रशंसा गरिएको र सबै दलको सर्वस्वीकार्य भएको संविधान २०४७ थियो, जसलाई निर्माणकर्ताले नै २०६३ सालमा च्याते र अन्तरिम संविधान जारी गरे । त्यसपछिको ११ वर्ष लगाएर नेपालको संविधान २०७२ असोज ३ गते जारी गरियो । जसलाई नेपालमा मात्र होइन, भारतले समेत महत्व दिएन । सर्वस्वीकार्य हुनसकेन । तर जनयुद्ध र जनआन्दोलन गर्ने शक्तिहरु यसलाई जनआन्दोलनको उपलब्धि मान्छन् र कार्यान्वयन भइसकेको दावी गरिरहेका छन् । यद्यपि यो संविधानलाई जनताले अपनत्व ग्रहण गरेन । संविधान दिवस कर्मचारी, सत्तासीन पार्टीको भोज खाने दिनका रुपमा रहँदै आयो । यही संविधानले नियन्त्रण, नियमन र सुशासन दिन नसकेका कारणले जनतामा असन्तुष्टि यसरी चुलिएर गयो कि बरु राजा नै ठिक भनेर देशव्यापी रुपमा राजतन्त्र जिन्दावादको नारा लाग्न थाल्यो, आमनागरिकले राजालाई निम्त्याउँदै अभिनन्दन गरिरहेका थिए । यसैवीच युवाहरुले जेनजी आन्दोलन छेडे । यो संविधान असफल भने, समानता र समृद्धिका लागि नयाँ संविधान चाहियो भने, जति पनि पार्टी, प्रशासक र नेता छन्, ती सबै भ्रष्टाचारमा डुबेका र राष्ट्रघात गर्ने भाइरसका रुपमा रहेको जेनजी अभियन्ताहरुको ठहर थियो । तिनलाई किनारा लगाएर युवा पुस्ताले देश सञ्चालन गर्नुपर्ने माग गरे ।
वर्तमान संविधान असफल भयो । संविधानका अंगहरु जे जति छन् सबे असफल भए । यही असफलताको उपज थियो जेनजी आन्दोलन । यो आन्दोलनले संविधानले तय गरेको शक्ति पृथकीकरणका तीन निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई खरानी बनाइदिए । राष्ट्रलाई गतिशील बनाउन नयाँ संविधान आवश्यक भएको छ । किनकि यो संविधानले कल्पनै नगरेको अन्तरिम संरकार बनेको छ । जेनजी पुस्ताको बिद्रोहले यो संविधानलाई २४ घण्टामा धुजा धुजा बनाएर च्यातिदिए । संविधानका सबै अंगहरु निस्तेज भए । प्यारालाइसिस भए । यो संविधानले जे जति कल्पना गरेको थियो, ती सबै भ्रम हुन् भन्ने प्रमाणित गरिदिए । लोकतान्त्रिक गणतन्त्र भ्रष्टाचारमा उभिएको बालुवाको घर हो भनेर बालुवाको गणतान्त्रिक महललाई ध्वस्त पारिदिए । यो सातौं संविधान पनि असफल भयो र नयाँ संविधान जरुरी हुनपुगेको छ ।
देश जोखिममा छ । देश संकटमा छ । संविधान छैन । व्यवस्थापिका छैन । न्यायपालिका त्रिपालमुनी पुगेको छ । कार्यपालिका ब्रम्हनालबाट उठ्दैछ । संघीयता लथालिङ्ग छ । जे हुन्छ, राम्रोको लागि हुन्छ । अब हेर्नुछ, भ्रष्टमाथि कारवाही हुन्छ कि हुन्न ? संघीयता खारेज गर्छन् कि गर्दैनन् ? संविधान नयाँ लेखिन्छ कि लेखिन्न ? चुनाव हुन्छ कि भ्रष्टहरुले अर्को अराजक आन्दोलन छेड्छन् ? देश शून्यबाट सुरु हुदैछ । यो शून्यमा देश हराउन सक्दैन । किन नेपाली वीर छन्, वीरताले अस्तित्व जोगाउने छन् ।