Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

राष्ट्रियता र अस्तित्व खतरामा

१९ मंगलबार , कार्तिक २०८२एक दिन अगाडि

राष्ट्रियता र अस्तित्व खतरामा

देश अब यिनै दल र नेताबाट चल्न सक्ने र राष्ट्रियता तथा अस्तित्व जोगिनसक्ने अवस्था देखिदैन । हामीमाथि गम्भीर खतरा मडारिन थालिसकेको छ । हामी र हाम्रो स्वराज खतरामा पर्दै गएको छ । यो संकट कुनै दल, नेता, अथवा एकपक्षी होइन, हामी नेपाली जातिको साझा संकट हो । यो संकटसँग साझा भएरै मुकाविला गर्नपर्छ । विश्वकै जेठो राष्ट्रमाथि यति भयलाग्दो संकटको सिर्जनाकार हामीले विश्वास गरेका नेताहरूले निम्त्याएका हुन् ।
गत भदौ २३ र २४ अर्थात् सेप्टेम्बर ८ र ९ को जेनजी पुस्ताको प्रदर्शनले भ्रष्टाचारको अन्त्य र सुशासनको सुनिशिचता गर्ने थियो । यो प्रणाली निलम्बन गरेर अन्तरिम संविधानद्वारा नयाँ युग सुरू गर्ने थियो । जेनजी पुस्ताले जितेकै हुन्, त्यो जितलाई षडयन्त्रपूर्वक अपहरण गरियो । अपहरण गर्ने देशीविदेशी शक्तिले एक पटक फेरि असफल संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई प्रवद्र्धन गर्ने वर्तमान संविधान बचाउने प्रयत्न गरेका छन् ।
बन्यो, जेनजी पुस्ताका नाममा संविधानविपरित सुशील कार्की नेतृत्वको सरकार बन्यो । यो सरकारमा जेनजी पुस्ताको हातमा केही परेन । यो सरकार देशीविदेशी षडयन्त्रकारीको वकालत गर्न थालेको छ । ७६ जना जेनजी पुस्ताको रगत बग्यो, ज्यान गयो, उल्लेखनीय प्रगति केही भएन । जेनजी पुस्ताले जुन लक्ष्यका साथ आन्दोलन गरेका थिए, आन्दोलन पानीको फोको फुटेसरह हुनपुगेको छ । सुशील कार्की नेतृत्वको सरकारले जेन–जेडका प्रदर्शनकारीहरूको हत्यामा संलग्न व्यक्तिहरू, साथै भ्रष्ट राजनीतिक नेताहरू र नोकरशाहहरू विरूद्ध कारबाही थालनी पनि गर्न सकेन । एउटा जाँचबुझ आयोग गठन गरेर आशा देखाएको छ, जुन आशा पहिले पहिलेजस्तै पूरा नहुने आशंका बढी देखिन्छ । यो सरकार त बन्यो, अदालतमा चुनौती थपिएका छन् । यो चुनौतिको सामना गर्न यो सरकारले सक्ने देखिदैन । किनकि जेनजी पुस्ताको राप र ताप सेलाउँदै जानुको कारण मुख्य देखिन्छ ।
नेपाल दुई ठूला छिमेकीका वीचमा छ । जेनजी पुस्ताको आन्दोलन र आन्दोलनमा भएको बिध्वंश, त्यसपछिका सरकार गठन र चुनावी मुद्दाले समेत दुबै छिमेकीमा आशंकाहरू घनिभूत हुनपुगेका छन् । त्यसमाथि पश्चिमा शक्तिहरू खुलेआम नेपालमा छुनुकमुनुक गरिरहेका छन् । नेपालको सन्तुलित परराष्ट्रनीतिले विश्वजगत र दुई ठूला छिमेकी आश्वस्त हुने र नेपालको सार्वभौमिकता सुरक्षित हुने गरेकोमा त्यो अवस्था खुजमुजिएको छ । नेपालमा परिवर्तन भयो, परिवर्तनले गम्भीर परिणामहरू निम्त्याउन सक्नेछ । नेपाललाई समस्या पर्दा गुहार्ने र तत्काल आउने छिमेकी नै हुन् । छिमेकी बदलन सकिन्न, यसकारण पनि छिमेकनीतिमा अन्यौलता आउनु हुनेथिएन । सन्तुलित र समान दूरीको सम्बन्धको नीतिमा संशय उत्पन्न हुनुका कारणले पनि नेपालको स्वराज र अस्तित्वमा भूराजनीतिक असर पर्नपुगेको छ । कतै नेपाल विश्वशक्तिको युद्धभूमि हुने त होइन, खतरा सन्निकट अनुभूत गर्नसकिन्छ ।
गोरखा एक्सप्रेस, सबै देशभक्त शक्तिहरूलाई स्वार्थ र लोभबाट मुक्त भएर अस्तित्व रक्षा, राष्ट्रिय एकताका लागि आह्वान गर्छौं । हाम्रो एकता नै हाम्रो अस्तित्वरक्षाको प्रत्याभूति हो । सबै राजनीतिक शक्तिहरूवीच संवाद, सहमति र सहकार्यले एकतालाई बलदिन्छ । विभेद, निषेधको समय होइन यो । जेनजी पुस्ताले पनि यस विषयमा ध्यान दिन जरूरी देखिन्छ ।