Advertisement Banner
Advertisement Banner

०५ शनिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

पार्टीतन्त्र कि पसलतन्त्र ?

०१ मंगलबार , पौष २०८२४ दिन अगाडि

पार्टीतन्त्र कि पसलतन्त्र ?

प्रजातन्त्र अपरिहार्य छ । प्रजातन्त्रमा दल जरूरी छ । प्रजातन्त्र चलायमान बनाउने दलहरूले नै हो । दलहरूले जनचेतना भर्छन्, संसदमा बहस गर्छन्, सरकारको नीति निर्माण गर्छन् र जनमत, जनबलअनुसार राज्य सञ्चालन हुनेगर्छ । यसकारण प्रजातन्त्रमा पार्टी जरूरी छ । प्रजातन्त्रको कसी दल हो, जनमतअनुसार चल्ने दलीयतन्त्र हो ।
दल कुशासनको दलदल हुनुहुन्न । दल जनअपेक्षामाथिको प्रहार हुनुहुन्न । दल जनमतप्रति जवाफदेही हुनुपर्छ । दल देशप्रति इमानदार बन्नुपर्छ । प्रजातन्त्रको कसी नीति, सिद्धान्त, नैतिकता हुनैपर्छ । तर यो लक्ष्मणरेखामा न ०४६ सालपछिको बहुदलीय तन्त्र बस्यो, न २०६३ पछिको लोकतान्त्रिक गणतन्त्र । दुबै तन्त्र बदनाम हुनपुग्यो, कालरात्रि हुनगयो ।
पार्टीतन्त्र भनेको पार्टीकरण होइन, प्रजातन्त्रका आफ्नै मत छन्, मान्यता छन्, सीमा छन् । बहुदल र लोकतान्त्रिक गणतन्त्रका दुबै अवस्थामा राज्यसञ्जाललाई पार्टीकरण गरियो । सामान्य प्रजातान्त्रिक सिद्धान्तको समेत हुर्मत लिइयो । प्रजातन्त्रलाई व्यभिचारकरण गरियो, पार्टीकरण गरियो, लेनदेन र आलोपालोको पद्धति बनाइयो । कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकामात्र होइन, संविधानका समूल अङ्ग प्रत्यङ्गमा पार्टीकरण गरिदिंदा अपराधकरण हुनपुग्यो । यसको नतिजा हो कुशासन । यसैको नतिजा हो, जनअसन्तुष्टी । यसैको नतिजा हो जेनजी आन्दोलन, आन्दोलनपछिको बिस्फोटन, बिद्रोह र हिंसात्मक आगजनी । राजनीतिमा अपराधिकरण मिसिएपछि राज्य निरंकूश बन्नेरहेछ । राज्य नरसंहारमा उत्रिने रहेछ । राज्य अन्धो बन्नेरहेछ । लोकतान्त्रिक गणतन्त्र भन्नेहरूले नै नरसंहारजस्ता कूकृत्य गर्नेरहेछन् । जुन हामीले भोगिरहेका छौं । सुशासन र लोकतन्त्रका नाममा राष्ट्र पार्टीतन्त्रको आहाल बन्नपुग्यो, परिणाम शान्ति, समृद्धि, समानताको माग गर्ने जनता पीडा भोगिरहेका छन् ।
फागुन २१ गते आवधिक चुनाव घोषणा भएको छ । चुनावमा सहभागी हुने नहुने, लड्ने नलड्ने, नयाँ पुस्तान्तरण गर्ने नगर्ने अनेक प्रश्रव पीडामा देखिन्छ राजनीतिक माहोल । हो, चुनाव राष्ट्रिय महोत्सव बन्नुपछृ । जति बढी जनसहभागिता र पार्टी सहभागीता भयो, उति प्रजातन्त्र जिवन्त हुन्छ, जनजीवन बन्दैजान्छ । तर पछिल्लो समय पार्टीतन्त्र यसरी बढेको छ कि प्रत्यक्ष चुनाव, समानुपातिक र राष्ट्रियसभामा भागबण्डा गर्न र सरकारमा भाग पाउनकै लागि पनि पार्टी खोल्ने प्रतिस्पर्धा नै चलेको छ । झण्डै डेढसय दल दर्ता छन्, दल दर्ता भइरहेका छन् । पार्टी खोल्न भएका पार्टी फुट्ने, जुट्ने, नयाँ पार्टी खोल्ने कार्य भइरहेका छन् । मानौं पार्टी खोल्नु भनेको पसल खोल्नु हो । बिगतका घटनाले प्रमाणित गरेका छन् कि पार्टी खोल्नु भनेको राजनीतिलाई व्यापारीकरण गर्नु हो । अचम्म त के छ भने सफल व्यापारीदेखि सफल व्यवसायीसम्मले नयाँ नयाँ पार्टी खोलेका छन् । अभियन्ता, विशेषज्ञले पनि पार्टी खोलेका अथवा खोल्न लगाएका घटना छन् । पार्टी खोल्नु नयाँ फेसन बनेको देखिन्छ । राजनीति मोलमोलाई गर्ने व्यापार बन्यो, लक्ष्यबिहीन भएको प्रमाण हो यो । राजनीतिका माध्यमबाट समाज बदल्ने, देश बलियो बनाउने उद्देश्य पार्टी खोल्नेमा देखिन्न । यो डरलाग्दो भ्रष्टाचार हो । त्यसै पनि कुशासन, त्यसमाथि यस्तोखाले भ्रष्टाचार, यस्तो चरित्रले देश उँभो लाग्दैन ।
पार्टीतन्त्र पसलतन्त्र बन्नु हुँदैन । अझै जनतामा बितृणा नबढाऔं ।