Advertisement Banner
Advertisement Banner

०९ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

सुशासन सबैभन्दा प्रमुख मुद्दा

०८ मंगलबार , पौष २०८२१० घण्टा अगाडि

सुशासन सबैभन्दा प्रमुख मुद्दा

नेपालको वर्तमान राजनीतिमा प्रमुख मुद्दा भनेकै भ्रष्टाचारको अन्त्य हो । भ्रष्टाचारमा सबैभन्दा बढी बिबादित नेताहरू केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपालहरू सुशासनको भाषण गर्न थालेका छन् । सबैभन्दा पहिले यिनले आफूमाथि छानबिन गराएर क्लिनचिट लिएर आउनुप¥यो, अनि भ्रष्टाचारको बिरोध गरेको र सुशासनको वकालत गरेको सुहाउँछ । जो सबैभन्दा बढी बिबादित छ, कलंकित मानिएका छन्, तिनैले भ्रमपूर्ण भाषण गर्नु भनेको लोकतन्त्रमा जगहँसाइ गर्नुमात्र हो ।
भ्रष्टाचार र कुशासनको सवालमा ०४६ सालपछिका सबै नेता दागी छन् । त्यतिबेला जुन पार्टी र नेता सत्तामा थिए, ०६३ सालको परिवर्तनपछि पनि तिनै नेता र पार्टीले आलोपालो सत्ता चलाए । यतिबेला जेनजीको बिद्रोहपछि अन्तरिम सरकार बने पनि बिबादमा तिनै नेता छन् र यो पद्धतिको असफलताले नयाँ संविधानको माग गरिसकेको छ । नयाँ संविधान बनाए पनि मुद्दा फेरि पनि भ्रष्टाचार र कूशासनको अन्त्यकै उठ्नेछ । राजतन्त्र र हिन्दुराष्ट्र किन फालियो भन्ने कुरा उठ्ने छ । जनताले निर्णय दिएकै छैनन्, नेताहरू आफैले निर्णय गरेर पद्धति बसाले, पद्धतिलाई कूशासन र भ्रष्टाचारको अखडा बनाए । यो बिबादको अन्त्य गर्न समाधान निकाल्नका लागि यी विषयमा विषद छलफल हुनैपर्छ । जो जो दोषी छन्, तिनले दण्ड भोग्न तैयार हुनैपर्छ । दण्ड भोग्नुपर्ला भनेर दागी र दोषी नेताहरू राजनीतिक अस्थिरता फैलाउने दुस्साहस गरिरहेका छन् ।
स्थापित नेताहरूको ठूलो दुर्गुण भनेको स्वेच्छाचारिता र आन्तरिक लोकतन्त्र अंगिकार गर्न नसक्नु हो । यिनमा निरंकूशता यसरी बढेर गयो कि यिनले संवैधानिक मर्यादा समेत भुले । सत्तामा भएका बेलामा व्यभिचार गरेर कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत संविधानका सञ्जाल सबैतिर राजनीतिक अपराधिकरण र निरंकुश शैली अपनाउनु यिनको भूल हो । यही भूलले भदौ २३, २४ को जेनजी आन्दोलन निम्त्यायो, लोकतान्त्रिक गणतन्त्र रगताम्मे भयो, बालबालिका मारिए ।
हरेक पार्टीमा विवेकशील छन् । तिनले हस्तक्षेप नगर्दा र नेतृत्वको जयकार कीर्तन गाएर बस्दा ठूला दलमा लामो समय एउटै नेतृत्व हावी हुनगयो । त्यो नेतृत्व धृतराष्ट्रजस्तो अन्धो भइदिंदा देश अन्धकार भयो, जेनजी पुस्ताले बिद्रोह गर्न बाध्य हुनुप¥यो । जेनजी पुस्ताका ७८ जनाले ज्यान गुमाएर रगत बगाइसक्दा पनि नेतृत्व सुधारिएको छैन । लोकतान्त्रिक गणतन्त्र मृत प्राय भएको छ । संविधान मरेको छ । यो स्थितिमा नेताहरूले अझै निरंकूश चरित्र देखाउनु लाजमर्दो विषय हो । जब लोकलज्जा हुँदैन बेष्टमिनिस्टर पद्धति चल्न सक्दैन । नेपालमा भएको यही हो । यस्ताबाट लोकतन्त्रमय जिवन्तता विकसित हुनसक्छ भन्नु निरर्थक हुनेछ ।
लोकतन्त्र आदेशले चल्दैन । संवाद र सहमति लोकतन्त्रको विशेषता हो । यो विशेषता गुमेको अवस्था छ । यसकारण जे जति राजनीतिक मुद्दा छन्, त्यसमा जनताको मत के हो बुझ्नुपर्छ, जनबल र जनमत लिनैपर्छ । जब जनताले अनुमोदन गर्छन्, तब व्यवस्था बलियो हुन्छ, संविधान मजबुत हुन्छ । स्वेच्छाचारिता र निरंकूशताको अन्त्य हुनेछ । नेता बाहुबली छन्, बाहुबली हुनु बलियो हुनु होइन । २०६३ पछि बाहुबली नेता धेरै देखियो, बलियो नेता जन्मिएनन् । नेता बलियो हुन राजनेताको गुण हुनुपर्छ, बाहुबलीको होइन । बाहुबलीले सुशासन दिन सक्दैन, चेत रहोस् ।