Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

जेनजी आन्दोलन क्षणिक बिस्फोटमात्र थियो ?

०७ मंगलबार , माघ २०८२३ घण्टा अगाडि

 जेनजी आन्दोलन क्षणिक बिस्फोटमात्र थियो ?

नीतिअनुसार राष्ट्रको नेतृत्व प्रजाका लागि मातापिता, गुरूभाइ, मित्र सबै प्रकारले अभिभावक हो । अभिभावकप्रति असन्तोष भयो भने प्रजाले खबरदारी गर्नसक्छन् । यसरी प्रजाले खबरदारी गर्दा पनि अभिभावकले चरित्र र व्यवहार बदलेन, प्रजाको आस्था कुल्चने काम ग¥यो भने प्रजाले सत्ताच्यूत गर्न सक्छन् । जो प्रजारञ्जन गर्नसक्छ भन्ने लाग्छ, उसैलाई अभिभावक मान्न सक्छन् । दुष्ट र दुराचारी अभिभावक प्रजाका लागि राक्षससमान हुन्छ । नेपाली राजनीतिमा यो नीति अवज्ञा हुनपुगेको छ ।
हिजो पञ्चायतभन्दा पनि बहुदल प्रजाप्रति निरंकूश हुनपुग्यो । बहुदलपछिको लोकतन्त्रमा अभिभावक झन बढी दुष्ट हुनपुगे । यसैको प्रतिकार हो, जो बहुदल र लोकतान्त्रिक गणतन्त्रका अभिभावक बनेका थिए, तिनको दुष्ट र राक्षसी स्वभावप्रति प्रजाले बिद्रोह गरेको ।
गत भदौ २३–२४ मा जेन–जी पुस्ताले गरेको आन्दोलन, बिद्रोह केवल एउटा क्षणिक असन्तोषको विस्फोट थिएन, त्यो देशको अभिभावक र शासनको राजनीतिक नेतृत्वप्रति उठाएको धारिलो प्रश्न थियो । ती दिनहरूमा सडक, स्कूल, कलेज, विश्वविद्यालयमा जेनजी पुस्ताको आक्रोशको सन्देश थियो– पुरानो कानुनव्यवस्था, सत्ताशक्तिको दुरूपयोग मान्य छैन ।
बहुदलपछिको ३७ वर्ष र लोकतान्त्रिक गणतन्त्रको १७ वर्षका जो नायक थिए, एउटै थिए र तिनीहरूले प्रजाको विश्वास जित्न सकेनन् । प्रजाको नजरमा बिझाए, विश्वास गुमाएकै हो । झट्ट हेर्दा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष (नेकपा) प्रचण्डहरू राजनीतिक ताहुरमाहुर देखाइरहेका छन्, यथार्थमा यी ठूला तीनदल प्रजाका नजरमा चरित्रहीन, नैतिकहीन हुन् । यिनले जितेका छैनन्, यिनको राजनीतिक हार हो, जेनजी आन्दोलन । यी वानप्रस्थ उमेरका नेताहरू राजनीतिका मुखियाको पदमा त छन्, मुखिया बन्न लायक छैनन् भनेर युवाआवाज आँधीझैं सुसाइरहेको छ । यी बुढाहरूसँग न समय छ, न सौर्या, न यिनमा नैतिक शक्ति छ, न प्रजाप्रतिको जवाफदेही स्वभाव । जब समाज बदल्ने राजनीतिलाई स्वार्थपूर्तिको साधन बनाएका छन्, यहीँबाट यिनीहरू लोकतन्त्रको गरिमामाथि भाङ्ग्राको धोती भन्ने बुझ्न सकिन्छ । नियतिले यी बुढा नेताहरूलाई दुर्योधन, दुशासन, कर्णको स्थानमा ल्याइदिएको छ, जसले राजनीतिक अधर्म फैलाउने मात्र काम गरे । यिनको  राजनीतिक इतिहास भ्रष्टाचारको नाली र जेनजी पुस्ताको रगतले भिजेको छ । यिनीहरू आमाहरूको सरापमात्र हुन्, श्रापित छन् ।
जेनजी पुस्ताले परिवर्तन ल्याएकै हुन्, बुढोपुस्तासँगको युद्ध जितेकै हुन् । जेनजी पुस्ता निर्मल थियो, राजनीतिक अनुभव थिएन । जालझेल थिएन, आफैले सत्ता हाँक्ने आँट पनि गरेनन् । परिवर्तन भएपछि अब भ्रष्टाचारको अन्त्य हुन्छ, सुशासनको सुरूआत हुनेछ । राजनीतिमा जवाफदेहीता कायम हुनेछ । न्यायको सिद्धान्त स्थापित हुनेछ, समानता र योग्यताको कदर हुनेछ, नेपोटिजम समाप्त हुन्छ भन्ने विश्वास थियो । तर साँढे ४ महिनामा जे देखियो, त्यो अर्को निराशा बन्नपुगेको छ । यसकारण प्रश्न उठेको छ– जेनजी आन्दोलन क्षणिक बिस्फोटमात्र हो त ?