
फागुन २१ संघारमै आइसक्यो । अझै चुनाव हुन्छ कि हुन्न ? भन्ने संशय दुर्भाग्यपूर्ण छ । हरेक पार्टी चुनावमा होमिएका छन्, चुनावी प्रकृया पूरा भएका छन्, मतपत्र छाप्ने काम भइसक्यो, सुरक्षा प्रवन्ध गरिएको छ । निर्वाचन आयोग र सरकारले गर्नुपर्ने र मिलाउनु पर्ने सबै काम योजनावद्ध रूपमा अघि बढिसकेका छन् । यति हुँदा पनि चुनावमा हारिन्छ कि भनेर डराएका पुराना पुस्ताका ठूला नेताहरू चुनाव भाँड्न, चुनाव सार्न र आफूलाई चुनौती दिएका उमेदवारको विरूद्धमा तीता कुरा गर्दै भनिरहेका सुनिन्छन्– चुनाव त हुन्छ ? चुनावको बिकल्प छैन यिनै भन्छन्, संशय पनि यिनैले गरिरहेका छन् । यस्तो संशय अब बदलिनुपर्छ । चुनाव हुनुपर्छ र चुनावी प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ, चुनावमा धाँधली हुनुहुन्न । जसले जिते पनि जनताको विश्वासले जित्नुपर्छ । जसले हारे पनि जनताले हार्नुहुन्न ।
अन्यथा अभिव्यक्ति र प्रचार निकै बढेका छन् । प्रजातन्त्रप्रति प्रतिवद्ध भइसकेपछि चुनाव सम्पन्न गराउने दायित्व पनि त्यही प्रतिवद्धताभित्रै पर्छ । निर्वाचनमा कुनै प्रकारको अडचन देखाप¥यो भने त्यसलाई पन्छाउने र निर्वाचनको सहज वातावरण बनाउने दायित्व प्रत्येक नागरिक, पार्टीको हो ।
२०८४ को निर्वाचन २ वर्ष अघि नै हुनु कुनै विशेषता होइन । यो निर्वाचनको उद्देश्य, कारण र निदान भनेको सुशासन, भ्रष्टाचारको न्यूनिकरण, दण्डहीनताको अन्त्य, नेपोटिजमको समाप्ति, समानता र क्षमताको कदर हो । यही उद्देश्य प्राप्तिका लागि निर्वाचन हुँदैछ, उमेदवार जसले जिते पनि जनताको आकांक्षा र अपेक्षा हार्नुहुन्न । प्रजातन्त्रमा प्रजाको रञ्जन हुनुपर्छ, महत्वपूर्ण कुरा जनताको मत खेर जानुहुन्न । चुनाव हुनुपर्छ, चुनावको गरिमा बढ्नुपर्छ ।
२०१५ सालको बहुदलीय चुनाव, पञ्चायतकालको चुनाव, जनमत संग्रह, २०४७ को बहुदलीय चुनाव, पटक पटकको चुनाव, संविधानसभाको दुईपल्टको चुनाव, संविधान घोषणापछिको दुईपल्टको चुनाव । जनताले पर्याप्त चुनाव देखेका छन्, सहभागी पनि भएका छन् । थरिथरिका सरकार देखेका छन् । फागुन २१ को आसन्न चुनाव पनि जनताको माग हो, जेनजी पुस्ताको आन्दोलन, बिद्रोहपछिको अराजकताको अन्त्यका लागि हुनलागेको छ यो निर्वाचन । देश खरानी भएपछि नेतृत्व परिवर्तन, नयाँ पुस्ताको माग र नयाँ निर्माणको कर्तव्य पूरा गर्नेसम्मको लागि यो चुनाव हुँदैछ । संविधान ध्वस्त भएपछि, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका खरानी भइसकेपछि यो चुनाव हुँदैछ । स्थिरताका लागि पनि यो चुनाव ऐतिहासिक हो ।
चुनाव आइसक्यो, उत्सुकताका ठाउँमा अविश्वास किन छ ? यो चुनाव राष्ट्रका लागि मार्गदर्शक हुनुपर्छ । देश गम्भीर परिस्थितिमा छ, देशको सार्वभौमिकता सुरक्षित गर्न पनि चुनाव जरूरी छ । यो चुनावमा प्रत्येक नेपालीको छातीभित्रको हरि उठ्नुपर्छ र विवेकी निर्णय दिनुपर्छ । सही बोल्ने, सही निर्णय गर्ने र सही नेतृत्व चयन गर्ने मोडमा छन् जनता । जनतालाई अझै पनि दिग्भ्रमित गर्नु राष्ट्रघात हो । चुनाव रोकिनु दुर्भाग्यपूर्ण हुनेछ ।
राजनीतिक दलहरूले बहुदलको ३७ र लोकतन्त्रको २० वर्षमा बाटो बिराए, देशको आर्थिक, राजनीति, सामाजिक, सांस्कृतिक, सुरक्षा, संवैधानिक लगायत सबै कोणबाट बित्पात चुक गर्नाले हामी यहाँ आइपुगेका हौं । अब पनि चुनाव हुन्छ र ? भन्ने भ्रम फैलाएर जनजनको आत्मविश्वास तोड्ने काम हुनु वर्तमान र भावी पुस्ताका लागि सराप नै हो । चुनाव होस्, जसले चुनाव जितोस्, नेपाल र नेपालीले जितोस् । आजको आवश्यकता यही हो ।


