Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

घण्टीमय नेपाल

२६ मंगलबार , फाल्गुण २०८२९ घण्टा अगाडि

घण्टीमय नेपाल

साना साना बालबालिका हुन् कि प्रौढ वा बृद्ध आमाबा, सबैको मुखमा घण्टी थियो । देशैभरिको लहर भनेकै घण्टी थियो । भोट घण्टीमा है, यसपाली परिवर्तन ल्याउनैपर्छ । घर, गाउँसमाज, सहरबजार, देश विदेश जता पनि यसपाली परिवर्तनको पक्षमा मतदान गर्नुपर्छ है भन्ने आग्रह थियो । अर्थात् घण्टी, घण्टी । नभन्दै फागुन २१ को चुनावमा जनताले घण्टी बजाइदिए ।
प्रजातन्त्रको बिडा उठाएको भनेर नाक फुलाउने नेपाली कांग्रेस होस् कि २०२८–२९ सालमा झापा आन्दोलनका नायकहरू हुन्, ०५१ सालपछिको १० वर्षे जनयुद्धकाका कथित क्रान्तिनायकहरू तिनले नीति, सिद्धान्त, नैतिकता सबै बिर्सेर भ्रष्टाचारमा लिप्त हुनपुगे । यहाँ सम्म कि राजतन्त्र भनेर नथाक्ने राप्रपाले समेत स्वार्थमा लागेर आफ्नो एजेण्डा बिर्सेको देखियो । सत्ताका लागि जतिसुकै गिर्न, लम्पसार पर्न र जस्तोसुकै अपराध गर्न अग्रसर भए । यो देशको दुर्भाग्य थियो, सराप थियो । दुर्भाग्यलाई भाग्यमा बदल्न सराप मोचन हुन जरूरी थियो । फागुन २१ को चुनावबाट देश र जनता राजनीतिक सरापबाट मुक्त भयो । राजनीतिक फोहरलाई जनताले बढारिदिएका छन् ।
नेताहरूको भ्रष्टाचार, नेपोटिजम, कुशासन, नैतिकपतन चरित्रका कारण सिङ्गो मुलुक सन्त्रासमा थियो । लोकतान्त्रिक गणतन्त्रका सिर्जनाकारहरू भाँडतन्त्रका नायक र भाइनायक बनेका थिए । जनता जो रगतको आँसु पिइरहेका थिए, जो छटपटाइरहेका थिए, मुक्तिका लागि छटपटाइरहेका थिए । यही छटपटाहटको परिणाम थियो फागुन २१ को निर्वाचन परिणाम ।
लोकतन्त्रमा राजनीतिको मक्का, मदिना, बैतर्णी जे भने पनि लोक हुनुपर्ने हो । सुरूमा नेवार राजा, तामाङ् राजा, मगर राजा, लिम्बु राजा, खम्बु राजा भनेर जनता जनता जुधाउनु जुधाए । फेरि भाषाभेष, भेग भनेर बिबाद निकाले । सत्ता स्वार्थका लागि कुनै पनि नेता राष्ट्रिय नेता बन्न सकेनन् । लोकतन्त्रले दिनुसम्मको गोता दियो, लोकतन्त्र बाँदरको हातमा नरिवल भयो । नेताले सत्ता पाउँदा यही नै लोकतन्त्र हो भन्ने भाक्ष्य बनाइयो । यथार्थमा यो लोकतन्त्र थिएन, लूटतन्त्र थियो । नेताहरू लुटाह बनेका थिए । संविधान बनाए, संवैधानिक बन्न सकेनन् । संविधान भने, विधिको शासन स्थापित गर्न सकेनन् । संविधान असफल हुनुको मुख्य कारण नै नेताहरूभित्र पन्पिएको भ्रष्टाचार र अनैतिक आचरण थियो । नेपालमा जे भइरह्यो, अराजनीति थियो । अराजनीतिको हालीमुहालीमा चलेको लोकतन्त्र ग्यास चेम्बर थियो, जुन ग्यासमा उकुसमुकुस बनेका जनता निसास्सिरहेका थिए, त्यो सकस फागुन २१ गतेको निर्वाचनमार्फत बिस्फोट हुनपुग्यो । आमनेपाली अब सहज भएका छन्, सुशासनको आशा पूर्ण हुने विश्वासमा छन् ।
स्मरणीय छ,  २६ अप्रिल १९७५ मा सिक्किमी संसदका ३२ मध्ये ३१ सांसदले भारतको २२औं प्रान्त हुन मञ्जुर गरेर प्रस्ताव पास गरे । सिक्किमको स्वतन्त्रता भारतमा गाभियो । त्यस्तै खतरा नेपालमा देखिन थालिसकेको थियो । नेपाल पढ्नेहरूले भन्न थालिसकेका थिए, नेपाल सिक्किमको बाटोमा छ । नेपाल भुटानको नियति भोग्न थालिसक्यो । २०६५ को परिवर्तन त्यसैको कडी थियो । नेताहरूको परजीवी र सत्तास्वार्थी चरित्र देख्दा सबैले भन्न थालिसकेका थिए कि नेपालको हालत त्यस्तै हुनसक्ने जोखिम छ ।
तर नेपाली वीर छन्, बहादुर छन् र विवेकी पनि छन् । नेपाली देशभक्त छन् । यसकारण जेनजीको बिद्रोह हुनपुग्यो, निर्वाचनमार्फत लेण्डुपहरूको पराजय हुनपुग्यो । जनताले जागरूकताले स्वराज जागेको छ, जगाऔं ।