Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

बालेन शाहले गर्छ भन्ने विश्वास

०३ मंगलबार , चैत्र २०८२१० घण्टा अगाडि

बालेन शाहले गर्छ भन्ने विश्वास

बालबालिका हुन् कि युवा, प्रौढ हुन् कि बृद्ध, बालेन शाहले गर्छ भन्ने अभूतपूर्व विश्वास देखिन्छ समाजमा । जसरी चुनावमा घण्टी घण्टीको लहर थियो, चुनावपछि पनि घण्टी घण्टी भन्ने आवाज सेलाएको छैन । रवि लामिछाने र बालेन शाहले जनताको विश्वासलाई कसरी संवोधन गर्ने यसमा गम्भीर भएर सोच्नुपर्छ, काम गरेर देखाउनुपर्छ । अर्को बिकल्प छैन । किनकि पुरानाले गरेनन्, पुरानाले दुःख दिए, देश बिगारे भन्ने प्रत्येकको मनमा लाहाछापजस्तो परेको छ । रास्वपाले पनि गरेन भने के होला ?
रास्वपाले विधान संशोधन गरेर बालेन शाहलाई संसदीय दलको नेता बनाउँदैछ । त्यसपछि बालेन शाह प्रधानमन्त्री बन्नेछन् । रास्वपाको सरकारको मुख्य नीति भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, युवालाई रोजगारी, शिक्षा तथा स्वास्थ्यमा सुधार प्रमुख हुनेछन् । गठबन्धनको आवश्यकता छैन, आमजनताले स्पष्ट बहुमत दिएका छन् । संविधान संशोधन गर्न समेत रास्वपाले चाह्यो भने सक्छ । सकारात्मक पक्ष भनेको यो संविधानअनुसार कसैलाई बहुमत प्राप्त हुनेछैन भन्ने भाष्य थियो, जनताले बहुमत होइन, दुई तिहाई पनि दिन सक्ने रहेछन् भन्ने प्रमाणित गरिदिएका छन् । दुई तिहाइका लागि २ सिटको कमी दखिएको छ, संघीयता हटाउन, सरकारको संख्या कम गरेर बचत हुने रकमले प्रत्येक पालिकालाई बजेट पर्याप्त दिने हो भने जनताका अपेक्षा संवोधन हुनसक्छ । संघीयता हटाउन खोज्दा मधेश आक्रोसित हुनेछ, हिन्दुराष्ट्र घोषणा गर्ने हो भने मधेश साह्रै खुशी हुनेछ ।
नेपालको इतिहासमै अब बन्ने सरकार नयाँ नेतृत्वको उदय र पुराना दलहरूको प्रभुत्वलाई चुनौती दिँदै नयाँ पुस्ताले सत्ता सम्हाल्नेछन् । जनादेशमा जनताको असन्तोषको अभिव्यक्तिः कांग्रेस, एमाले, माओवादी जस्ता परम्परागत दलहरूको कमजोर प्रदर्शनले जनतामा परिवर्तन चाहिएको स्पष्ट देखिन्छ । स्थिरता आउने छ, बहुमत सरकार बन्दा अस्थिरता घट्ने अपेक्षा छ ।
नयाँ पुस्ताले शासन प्रशासन हाँक्नेछन् । तिनमा कूटनीतिक र प्रशासनिक अनुभव कम छ । थिङ्क टेङ्कहरू सुझाव दिनुपर्छ, अहंकारी नबनीकन नयाँपुस्ताले भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, सेवा सुधार जस्ता वाचा पूरा गर्न कठिनाइ हुनेछैन । जतिसुकै कडा चुनौती दिन पुराना दलले संसदमा घोक्रो सुकाए पनि जनमत, जनबल नयाँसँग भएकाले उनीहरूले जनअपेक्षाअनुसार निर्णय गर्न र निर्णय कार्यान्वयन गर्नुपर्नेछ ।
नेपालको राजनीतिक इतिहासमै २०८२ को निर्वाचनले नयाँ राजनीतिक युगको सुरूवात गरेको छ । यो जनचाहनामा आधारित छ । फुकी फुकी पाइला चाल्नुपर्नेछ, यसैमा अनुभवहीनता र उच्च जनअपेक्षालाई व्यवस्थापन गर्न परिपक्वता निर्माण हुँदै जानेछ । नयाँ पुस्ताको सफलताले भावी राजनीतिक परिदृश्यलाई निर्धारण पार्दैलानेछ । जनताले खोजेको सुशासन र भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीमाथि कडा कारवाही हो । यसका लागि अख्तियारजस्ता निकायलाई सशक्त बनाउनुपर्नेछ भने अन्य नियामक निकायलाई पर्याप्त कानुनी अधिकार, स्रोत र जनशक्ति उपलब्ध गराउनुपर्नेछ । न्याय प्रणालीमा सुधार, नागरिकलाई छरितो, निष्पक्ष र सुलभ सेवा, आर्थिक अनुशासन र रोजगारीको सिर्जना मुख्य चुनौती हुन् । शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवामा सरलता, उद्यममा प्रोत्साहन, संघीयताको खारेजी र स्थानीय सरकारलाई सकृय पार्ने हो भने रास्वपाको सरकारले सफलता पाउनेछ । जनतामा जनता तत्काल परिणाम चाहन्छन्, बाचापत्रअनुसार काम गर्नुको बिकल्प छैन ।