Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

धनी नेता : गरीब मुलुक

०८ मंगलबार , बैशाख २०८३९ घण्टा अगाडि

धनी नेता : गरीब मुलुक

बालेन सरकार बन्यो, सरकारमा पुग्नेहरूसँग कति धेरै धन रहेछ । तर यिनीहरू कोही पनि अहिलेसम्म सत्तामा पुगेका नेताहरू होइनन् । यिनले पदमा बसेर भ्रष्टाचार गरेका छैनन् । यिनीहरूले काम गरे, बपौती पनि रहेछ, यसकारण वर्तमान बालेन सरकारका मन्त्रीहरू सुनचाँदी, जग्गा, बैंक ब्यालेन्स प्रशस्तै देखाएका छन् । चाहेको भए यिनले लुकाउन पनि सक्थे । इमान भएपछि कर तिरेको सम्पत्ति देखाउन के को लाज, कस्को डर ? तथापि कर तिरेको हो कि होइन भनेर प्रतिपक्षीले प्रश्न उठाएका छन् । सरकारले सम्पत्ति छानबिन आयोग बनाएको छ, यो आयोगले सबैको छानबिन गर्ला नै ।
इतिहासमा एउटा घटना छ । बंगलादेशका निर्माता जियाउर रहमानको देहाबसान भएपछि उनले च्यातिएको पेटीगन्जी लगाएको देखियो । बैंक व्यालेन्स केही रहेनछ । उनी १९७७ देखि ८१ सम्म शक्तिशाली राष्ट्रपति बनेका थिए । १९८१ मा उनको हत्या गरियो । त्यसपछि उनी देशका लागि भ्रष्टाचार नगरेका र च्यातिएको पेटीगन्जीमा देखिएका थिए ।
नेपालमा राजतन्त्र नै ठूलो समस्या हो । शान्ति, स्थिरता, विकासको बाधक हो भन्ने भाष्य खडा गरेर दलपतिहरूले ठूलै आन्दोलन गरे, २०४६ सालमा बहुदल आयो, बहुदलले देशलाई भ्रष्टाचार र अनैतिकताको कालरात्रि बनायो । त्यसपछि जनयुद्धकारी माओवादी र प्रजातान्त्रिक पार्टीहरू मिलेर आन्दोलन गरे, २०६३ सालको परिवर्तन भयो । कम्युनिष्ट र प्रजातन्त्रवादीहरू मिलेर २०६५ मा राजतन्त्र फालेर गणतन्त्र घोषणा गरे । गणतन्त्रको १७ वर्षपछि जेनजी बिद्रोह निम्त्याइयो । यो बिद्रोह कुशासन र भ्रष्टाचार, परिवारबाद र असमानताविरूद्ध थियो । २७ घण्टामा २०४६ सालदेखिको राजनीतिक संरचना ध्वस्त हुनपुग्यो । शासक प्रशासकहरूको भागाभाग भयो । यसपछि अन्तरिम सरकार बनेर फागुन २१ गते चुनाव भयो, चुनावमा जनताले मौन बिद्रोहका साथ मतदान गरे, पुराना पार्टी र बिरासतलाई धुलिसात बनाइदिए ।
यसपछि आएको छ, युवा शासक, नयाँ परिवर्तन ।
यो परिवर्तनले भ्रष्टाचार गरेर सम्भ्रान्त बनेका शासक प्रशासकको सम्पत्ति छानबिन गर्नेछ । आयोगले काम थालिसक्यो, भ्रष्टाचारीहरूको निधारमा खलखली पसिना छुट्न थालिसकेको छ । सर्वहारा सामन्त बनेका छन्, प्रजातन्त्रवादी भ्रष्टाचारका नाइके बनेका छन्, लोकतन्त्र भन्नेहरू लुटतन्त्रमा रमाइरहेका छन् । ती सबैको सम्पत्तिमा आयोगले खरी घसेपछि राष्ट्रिय सम्पत्ति र पदीय दुरूपयोग गर्नेहरू सबैको मुखुण्डो उत्रनेछ ।
मर्न त सबै मर्छन् एकदिन । देश र जनताको लागि त्याग र तपस्या गर्नेहरूको
मृत्यु मरेर पनि सम्झना गरिन्छ । भ्रष्ट र राष्ट्रघातकहरूको मृत्यु जिउँदै घृणाले मर्छन्, मरेपछि कलंकित इतिहासमा मरिरहन्छन् । विदेशलाई सत्ता र शक्तिको तीर्थ सम्झने हाम्रा नेताहरूले बुझ्न सकेनन्– पेरिसमा धोएको लुगा लगाउने र लण्डनमा पढेका नेहरूले सत्तामा पुग्नासाथ बहुमूल्य आनन्द भवन देशलाई किन सुम्पिए ? हाम्रा नेताहरू त देश चुसिरहेका छन् । पदमा हुन्जेल राष्ट्र लुट्ने, अवकाशपछि विशिष्टका नाममा राष्ट्रबाट भत्ता र सुविधा लिइरहने । हालै झलनाथ खनाल र केही नेताले भनेका छन्– हाम्रो घर बनाइदिनुपर्छ, हामीलाई बाँचुन्जेल जीवन निर्वाह भत्ता दिनुपर्छ । निर्लज्जताको यो हद लोकतन्त्रको मजाक नभए के हो ? जसले राजनीतिलाई व्यापार बनाए, पद पाउँदा लुटे, पद नपाउँदा ओखती खर्च, सर्प पालन, प्रतिष्ठानका नाममा ठगिरहे, तिनको छानबिन गर्दा कति स्रोतबिनाको सम्पत्ति देखिएला, भेटिएला ।
३१ खर्ब विदेशी ऋण नाघिसक्यो, देश गरीव छ, धनाध्य नेताहरूको लामै सूची देखिन्छ । गरीबको देशका विशिष्ट नामधारी सर्पहरूलाई छोड्नु हुन्न ।