Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

एकपल्टको नेपाली, सधैंको नेपाली

१९ मंगलबार , जेठ २०८३१५ घण्टा अगाडि

एकपल्टको नेपाली, सधैंको नेपाली

हो, एकपल्टको नेपाली, सधैंको नेपाली । रास्वपाको निर्णय यही हो । यही निर्णय बालेन्द्र सरकारले सार्वजनिक गरेको बजेटमा पनि प्रस्तुत भयो । हरेक क्षेत्रमा अधिकार खोजेका एनआरएनए अर्थात प्रवासी नेपालीहरुले अब नेपालको विकास र रोजगारीको सिर्जनामा लगानी गर्ने बेला आयो । माग धेरै भयो, मागको पूर्ति पनि भयो, एकपल्टको नेपाली, सधैंको नेपाली कायम भयो । उनीहरुलाई अरु के के सुविधा दिनुपर्ने हो, राज्य तैयार भयो । राज्यले बजेटमार्फत रोजगारी सिर्जना, विदेशमा सिकेका सीपको सदुपयोग र जन्मभूमिको विकासमा योगदान खोजेको छ । विदेशीएका र विदेशलाई कर्मभूमि बनाएकाहरुले अब स्वदेशका लागि केही गर्ने अवसर आएको छ । राज्यले झ्याल होइन, ढोका खोलिदिएको छ । खोजेको पाएपछि प्रवाशीएका नेपालीहरुले देशका लागि योगदान गरेर जेनजी सरकारलाई सफल पार्नैपर्ने भएको छ । ३७ वर्षको बहुदल फेल भयो, १९ वर्षको गणतन्त्र पनि असफल भयो । यसपछि डरलाग्दो बिद्रोहपछि स्थापित जेनजी सरकारले केही गर्छु, देश बनाउँछु, विधिको शासन स्थापित गर्छु, सुशासन देखाएरै छाड्छु भन्ने प्रतिवद्धता देखाएको छ । यो सरकार पनि फेल भयो भने देशै दुर्घटनामा पर्नसक्नेछ । स्वदेश बनाउने यो अवसर छोपेर जति पनि प्रवाश पुगेका नेपाली छन्, जसले जहाँबाट जे गर्न सकिन्छ, देशका लागि, नेपाली पहिचानका लागि केही गर्नैपर्ने कर्तव्यवोध गर्नुपर्नेछ ।
बिगतका दिनहरुमा एनआरएनहरुले खुब चन्दा दिइरहेका थिए, बृद्धाश्रम बनाउन । अब एनआरएनले आफूले आफैलाई सोध्नुपर्छ– के सन्तानको धर्म भनेको अभिभावक मातापितालाई वृद्धाश्रममा राख्नु मात्र हो ? सन्तानसुखका लागि रातदिन मेहनत गर्ने बुढाबुढीहरु एनआरएन बनेका छोराछोरीले बनाइदिएका बृद्धाश्रममा थकित, पीडित भएर बसेको देखिन्छन् । बुढाबुढीहरुले धेरै दुःख पाएका छ्, विदेशीएकाहरु सन्तानहरुले बनाइदिएका बृद्धाश्रम बस्न बाध्य भएका छन् । यो स्थितिमा परिवर्तन ल्याउनुपर्छ । रोजीरोटी र रोजगारीका लागि विदेशीनु पर्ने अवस्थामा परिवर्तन ल्याउनुपर्छ । रोजगारीका अवसरहरु सिर्जना गर्न र योग्यताको कदर हुने वातावरण बनाउनुपर्छ । उत्पादन र निर्यातमा मद्दत गर्नका लागि पनि लगानी गर्नुपर्छ । लगानी र उत्पादनले मात्र देशको परजीवीपनलाई साँघु¥याउनेछ । पुराना दल र नेताहरुले देशलाई लुटे भनेर विदेशीएका युवाहरुले बनाएको सरकार हो यो । यो सरकार असफल हुनु भनेको परिवर्तन चाहने सबैको सपना तुहिनु हो । यसकारण पनि विदेशीएका एनआरएनहरुले कसरी लगानी भित्र्याउन सकिन्छ, के कस्तो लगानी गर्न सकिन्छ, यसमा विशेष चासो राख्नुपर्ने समय आयो । भ्रष्टाचारले थिलथिलो भएको देशको दुरावस्थालाई अन्त्य गरी सुशासनयुक्त राजकाज स्थापना गर्नका लागि स्वदेश, विदेश जहाँ जहाँ युवा छन्, तिनले सुझाव दिनुपर्छ, सकेको पसिना सिन्चन गर्नुपर्छ ।
सबैलाई थाहा छ– विश्व वैंकले लामो समयदेखि भन्दै आहएको छ– अबको दुई दशकपछि नेपाल बुढाबुढी र बालबालिकाको देश बन्छ । विश्व बैंकले देखेको छ, हरेक दिन युवाहरु रोजगारीका लागि विदेशीएका छन् । विदेशमा दुःख पाएका छन्, शोषणमा परेका छन् । नाना, खाना र छानाको खोजीमा विदेशीएका युवाहरु कति जेलमा छन्, कति दयनीय जीवन गुजारिरहेका छन्, कति जहाजमा उडेर गएकाहरु बाकसमा फर्किरहेका छन् । यो कारुणिक दृश्यले पनि देशमा परिवर्तन नल्याइ भएको छैन । यो परिवर्तन युवालाई चुनावमा जिताएर सत्तामा पठाउँदैमा केही हुनेवाला छैन । यो त पहिलो पाइलामात्र हो । जब सत्तामा पुगेका युवाहरुले देशको भाग्य र भविष्य कोर्ने राजमार्ग निर्माण गर्नसक्छन्, तब देश आत्मनिर्भरतातिर अग्रसर हुनेछ । खास परिवर्तनका झल्काहरु देखिन थाल्नेछन् । आज देशमा गरिखान पाइन्न भन्ने अवस्था छ, यो अवस्था बदलन पनि एकपल्टको नेपाली सधैंको नेपालीको विश्वास कायम हुनुपर्छ, यही विश्वासले राजनीतिक र कूटनीतिक विश्वास बढ्नेछ । नेपाल कुनै प्रकारको ग्रे वा ब्ल्याक सूचीमा रहनेछैन । तुहिदै र चुहिदै गएको नेपालीप्रतिको विश्व नजरमा आश्वस्तता बढ्नेछ । नेपाली आवाज विश्वभरि नै सुनिन थाल्नेछ । यसका लागि पनि प्रत्येक नेपालीले आत्मविश्वासका साथ देश निर्माणमा लाग्नुपर्छ । यसैका लागि जेनजी सरकारले अगुवाई लिएको हो ।