Advertisement Banner
Advertisement Banner

०३ बुधबार, असार २०८३1st June 2026, 10:58:34 pm

हिटलरका जस्ता चर्तिकला

०२ मंगलबार , असार २०८३१६ घण्टा अगाडि

हिटलरका जस्ता चर्तिकला

मुसोलिनी माष्टर, हिटलरसँग भेट भयो र दुवैले फासिज्मको जन्म दिए । पहिले दुवैले बिद्रोह गरे, राष्ट्रलाई जगाए । राष्ट्रवाद जगाए । समयक्रममा पछि मुसोलिनी र हिटलर–मानव–अपराधी भए । यिनको इतिहास कलंकित छ ।
प्रचण्ड, केपी ओली नेपाली कम्युनिष्ट हुन् । यिनका अनुयायी थुप्रै छन् र आफूलाई कम्युनिष्ट ठान्छन् । अरूले मानुन् नमानुन् यिनलाई फरक पर्दैन । कम्युनिष्ट भनेको नास्तिक हुन् । सर्वहाराका लागि त्याग गर्न सक्ने बर्ग हुन् । जसले समानताको कुरा गर्छन्, श्रमिक र भुइँमान्छेको लागि काम गर्ने बताउँछन् । तर प्रचण्डले १० वर्षे जनयुद्ध गरेर सत्तामा पुगे । अहिले आएर थाहा भयो– जनयुद्ध त सत्तामा पुग्ने भ¥याङ रहेछ, सर्वहारा र श्रमिकका कुरा भ्रमजाल रहेछ । सत्र हजार मानिस मारेको माओवाद माटो भयो । कतै बाँकी छैन । माओवादी नेताहरू छन्, पटक पटक सत्तामा पुगे, सत्तालाई स्वार्थ र परिवारवादमा रूपान्तरण गरे । जसको प्रतिफल जनजी बिद्रोह भयो र माओवादी नेताहरू कसरी सजायबाट बच्ने भन्ने अक्किल र जुक्ति निकाल्न थालेका छन् । माओवाद पानीको फोकाजसरी फुट्यो । भन्नलाई भन्छन्– हामी नै असली समाजवादी हौं, कसैले पत्याए पो ?
एमाले । एमाले भनेको केपी ओली, ओली भनेको एमालेको स्थिति छ । एमाले पनि आफूलाई कम्युनिष्ट भन्छ, प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त छ । यो पार्टीले यतिबिघ्न राष्ट्रदोहन र घात ग¥यो, जनमतको कदरसमेत गर्न सकेन । जेनजी बिद्रोह हुँदा यही पार्टी सत्तामा थियो, सत्ताबाट यसरी हुत्तियो कि आज एमालेको हैसियत लाज छोप्ने टालोको रूपमा सिमित हुनपुगेको छ । 
नेपाली माओवादी, एमाले कस्ता कम्युनिष्ट हुन् कुन्नी ? केपी ओलीले प्रधानमन्त्री र विद्या भण्डारीले राष्ट्रपति बनेर छठपूजा गरे । माओवादी प्रचण्डले नरनारायण बाबा र महिष पुजन गरेको पनि देखियो ।  विश्वासी, जैमिसी कृष्णबहादुर महरा समेत बाबाकै चरणमा प्रणाम गर्न पुगे । यस्ता उदाहरण अनेक छन् । यिनीहरू नेपाल धर्मनिरपेक्ष राष्ट्र भनेर थाक्दैनन्, यिनको धार्मिक आस्था देख्नेहरू चकित पर्छन् । यिनले खानेगरेको दिल्ली मेड पाचकले पनि हजम भएको छैन । कम्युनिष्टले धन थुपार्दैनन्, जनताको आधारभूत आवश्यकतामा व्यापार गर्दैनन् भनिन्छ, नेपाली कम्युनिष्ट यस्ता छन्, जो शिक्षा, स्वास्थ्य, रोजगारीमा लगानी गर्छन्, मुनाफा कमाउँछन् । नेपाली कम्युनिष्ट र तिल्के मारवाडीमा भिन्नता देखिदैन ।
कांग्रेस आफूलाई प्रजातन्त्रको बिडा उठाउने पार्टी ठान्छ, भन्छ । हिजो गिरिजा वा सुशील हुँदा होस् अथवा पाँच पटक प्रधानमन्त्री बन्ने शेरबहादुर देउवा हुन् । यिनले कृष्णदासजी महाराजको योग, ध्यान र ज्ञान लिएर प्रधानमन्त्री बने । जेनजी बिद्रोह हुँदा रगताम्मे हुनेगरी पिटाई खाए । ज्यान जोगाउन विदेश भागे, अहिले स्वदेश आउँदा भ्रष्टाचारमा जेल पर्ने खतरा छ, विदेश कतिञ्जेल लुक्ने ?
अर्थात्, कम्युनिष्ट प्रचण्ड र ओली हुन् कि प्रजातान्त्रि देउवा, यिनले ०४६ सालदेखि सत्तालाई उखु बनाएर चुसिरहे । यिनको राष्ट्र चुस्ने अतिवाद २०६३ को परिवर्तनपछि बढेको हो । यिनले पटक पटक सत्ताको बागडोर सम्हाले, गरूँ भन्ने इच्छाशक्ति भएको भए धेरै गर्नसक्थे । जनताले यिनको दैनिक नै आरती उतार्ने थिए । तर जनताको नजरमा यति घृणित हुनपुगे कि ०४६ पछिका अधिकांश नेता जनताका सामु उभिन पनि सक्ने स्थितिमा छैनन् । राजनीतिक अपराधिकरण गरेर स्वार्थ पूरा गर्दा गर्दा पुराना नेताहरूप्रति जनताको विश्वास उठेर गयो ।
कांग्रेस, कम्युनिष्ट र जाति वा क्षेत्रीयतावादी पार्टीहरूबाट वाकविधि भएपछि अब जनताले नयाँ पुस्तालाई चयन गरेको छ । नयाँ पुस्तामा अनुभव छैन, यिनको खुट्टा दह्रो छ, जिब्रो वा शैली लरबराउन सक्छ, त्यस्तो देखिन्छ । अनुभवी सल्लाहकार राखेर यिनले परिपक्वता हासिल गर्नुपर्छ । नयाँ पुस्तालाई असफल हुने छुट छैन । काम गरेर देखाउनैपर्छ, सुशासन दिनैपर्छ, भ्रष्टाचारीमाथि कारवाही गर्नैपर्छ । रोजगारीको सिर्जना र योग्यताको कदर गर्नुपर्छ । जनतासँग गरेका करार र वचनवद्धतालाई भ्रम भन्नसक्ने स्थिति हुनुहुन्न । यसकारण अग्नि परीक्षा सुरू भइसकेको छ, यो परीक्षामा नयाँ पुस्ताले काम गरेर देखाए भने देशको कायापलट हुनेछ ।