
प्रम बालेनलाई संसद, सडक, सामाजिक सञ्जालमा जतिसुकै बिरोध गरे पनि, राजीनामा मागे पनि, मार्ग प्रशस्त गर्न भने पनि बालेनले एक कानले सुनेर अर्को कानले उडाइदिएका छन् । प्रतिपक्षीको हल्का बिरोधका कारणले बालेन झन झन शक्तिशली बन्दै गएको अनुभव सबैले गर्न थालेका छन् ।
यथार्थमा जबसम्म प्रधानमन्त्री बालेन साहले घूस खाँदैनन्, भ्रष्टाचारमा सामेल हुँदैनन्, तवसम्म बालेन साहको बिरोध गर्नुको कुनै अर्थ हुनेछैन । स्वयम् बालेन साहले भनेका छन्– म घूस खान्न, मेरो बिरोध गरेर मलाई कसैले हल्लाउन सक्नेछैन । हो, सत्य यही हो । निश्चित रूपमा बालेन सरकारले काममा छरितोपन ल्याउन सकेको छैन । भ्रष्टाचारको लत बसेका कर्मचारीहरूले लुकीछिपी, ढाँटछल गरेर घूस खाइरहेका पनि छन् । तर पहिलेजस्तो सेटिङ मिलाएर, खुले आम भ्रष्टाचार भएको छैन । यद्यपि बालेन सरकारले यति चनाखोपूर्ण तरिकाले सुशासनका लागि जग बसालिरहेको छ कि कर्मचारीतन्त्रमा घूस खान तीनपल्ट सोच्नुपर्ने स्थिति छ । कतिपय भ्रष्ट कर्मचारीहरूले त भ्रष्टाचार गर्न नपाएको र भ्रष्टाचारमा मुछिने भयले राजीनामा दिएर पन्छिन पनि थालेका छन् । सवाल के हो भने बालेन साह सरकारको भयले भ्रष्टाचारमा कमी आएको छ । भ्रष्टाचार केन्द्रीय सरकारमा भन्दा पनि संघ र पालिकास्तरमा बढी भइरहेको छ । राजनीतिक भ्रष्टाचारकै कारण संंघी सरकारहरू ७ वर्षमा सात सात पल्ट सरकार परिवर्तन गर्न पुगेका छन् । त्यसै पनि जनताको नजरमा संघ भनेको भार हो । विकासको बजेट राजनीतिक नेता र कार्यकर्ताको पालनपोषणमा र तिनले गर्ने विकासका काममा भ्रष्टहरूलाई पोस्नका लागि हो भन्ने प्रमाणित भइसकेको छ । तथापि संघीयता खारेज गर्नहुन्न भन्ने पार्टीको आवाज उठिरहेका छन् ।
संघ किन चाहियो ? हिन्दुराष्ट्र र राजतन्त्रले किन कसैको टाउको दुखाई भइरहेको छ ? संविधान संशोधनमा सबैभन्दा ठूलो राजनीतिक मुद्दा नै यही हो । यही मुद्दालाई थाँती राख्न र आफ्नो भ्रष्ट चरित्रको भण्डाफोर नहोस्, पुनः आफ्नै शासनसत्ता चलोस् भनेर प्रतिपक्षीहरूमा छटपटी बढेको हो । किन प्रतिपक्षी दलहरू बुझ्दैनन् कि जनताले ५ वर्षका लागि नयाँ पुस्तालाई सत्ताको बागडोर सुम्पिसकेका छन् । यो सत्य नबुझेर, ५ वर्ष नयाँ पुस्तालाई काम गर्न दिएर हेर्न जनताको आदेशलाई अवमान्ना गर्ने पुराना दलहरू फेरि पनि जनताको आक्रोशको सिकार बन्नसक्ने देखिन्छ । बुद्धि पु¥याएर जनादेशको सम्मान गरेर पुराना दलहरूले नयाँ पुस्तालाई राय सुझाव दिएर काम गर्न प्रोत्साहन दिनुपर्ने हो । त्यो काम गर्नुको साटो कसरी नयाँ पुस्तालाई खुइल्याउन सकिन्छ भनेर प्रम बालेन साह र रास्वपाको खुट्टा तान्न न्वारानदेखिको बल लगाएबाट थाहा हुन्छ– पुरानालाई निकै छटपटी छ । सत्ता र शक्ति गुमेको र जनताले निन्दा गरेकोमा उनीहरूलाई सही नसक्नु भएको छ । कतै पुरानो पुस्ताको दुर्गति पुनः नदोहोरियोस्, जनता निर्णायक हुन् भन्ने कुरा लोकतान्त्रिक भनिने दलहरूले बिर्सनु दुर्भाग्य हो ।
पुराना दलहरूलाई कसरी गुमेको जनविश्वास पुनर्ताजगी पार्ने भन्ने छटपटी हुनुपर्ने हो । कसरी आफ्नो पार्टी संगठनमा युवापुस्तालाई मनाएर एकढिक्का पार्ने र ५ वर्षपछिको चुनावमा आफ्नो साख बचाउने भन्ने चिन्ता हुनुपर्ने हो । ऐतिहासिक जनादेश पाएको रास्वपा र बालेन सरकारलाई ढाल्न खुट्टा तान्नु भनेको अहिलेको स्थितिमा पहाडलाई कुम ठोकेर भत्काउने दुस्साहस भन्दा केही पनि होइन । सत्य यही हो, यथार्थ यही हो ।


