
जेनजी विद्रोह भएको पनि वर्षदिन बित्यो । ७६ जना जेनजी पुस्ताले ज्यान दिएर आएको हो यो परिवर्तन । परिवर्तनको यो एकवर्षमा अन्तरिम सरकार, चुनाव र चुनावपछि बालेन सरकार देखियो । सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, यथार्थमा जेनजीको सपना पूरा भयो कि भएन भन्ने हो ।
मान्छे मर्छन्, वर्ष वर्ष दिनमा सराध्ये गरिन्छ । पिण्डो दिइन्छ । यसको अर्थ सम्झना गरिन्छ । हामीले असल शिक्षा लियौं कि लिएनौं भन्ने हो । जेनजी पुस्ताले बिद्रोह गर्नुपर्ने कारण के के थिए ? ती जेनजीले सिकाएका र दिएका सन्देशहरू हामीले कति अमल ग¥यौं, महत्वपूर्ण प्रश्न यो हो । जेनजी पुस्ताले शिक्षा, स्वास्थ्य, आधारभूत आवश्यकताको सहज परिपूर्ति, भ्रष्टाचारको अन्त, भ्रष्टाचारीमाथि कारवाही, सुशासनको प्रत्याभूतिका लागि बिद्रोह गरेका थिए । रास्वपाले पाएको ऐतिहासिक जनादेश र बालेन साह प्रधानमन्त्री बनेको तिनै जेनजीका सपना पूरा गर्न हो ।
जेनजी विद्रोहको अन्तर्य भनेकै कुशासन हो । कुशासन चलाउनेहरूले गरेको बेपर्व भ्रष्टाचार, बिचौलिया संस्कृति, राज्य संयन्त्रको दोहन थियो । त्यो राजनीतिक बिकृतिबाट जेनजी पुस्तासम्म फैलिएको वितृष्णा थियो । जेनजी पुस्ताले राज्यबाट नागरिकले पाउनैपर्ने आधारभूत आवश्यकताको प्रत्याभूति थियो । कुनै नौलो कुरा उनीहरूले मागेकै थिएनन् । राज्य निरंकूश थियो, गोली हानेर जेनजीहरूलाई मार्नपुग्यो । जेनजी आक्रोसित के भएका थिए, संघीय लोकतान्त्रिक गणतन्त्र खरानी खरानी भयो । यसका खम्बाहरू प्रचण्ड, ओली, देउवाजस्ता ८ दशकसम्म पुराना दल गर्लम्मै ढले । शासन प्रशासनका कुसंस्कार बदलिनुपर्ने हो, प्रयास भइरहेको देखिन्छ । काई बनेर रहेका भ्रष्टहरू, कुडाकरकट सफाइ गर्नुपर्ने छ । यसमा पनि काम भइरहेको छ । तर बोल्ड निर्णयहरू किन हो देखिदैन । यही कमजोरीलाई फाइदा उठाएर हिजोका दागीहरूबाट खुट्टा तान्ने प्रयत्न भइरहेको देखिन्छ ।
जेनजी पुस्ताले जुन बिद्रोह गरेका थिए, त्यो सामान्य घटना थिएन । राज्यको संवेदनहीनता, असक्षमता, स्वार्थलम्पट व्यवहार, जनताप्रतिको गैरजिम्मेवारी र जवाफदेहीताविहिनतामाथिको प्रहार थियो । यो प्रहार यति भयानक हुनपुग्यो कि पुराना राज्यसंचालक र संरचना खरानी हुनपुगे । प्रधानमन्त्री थिए ओली, ज्यान बचाउन सेनाको ब्यारेकमा शरण लिनुप¥यो, पूर्व प्रधानमन्त्री प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराईहरू भूमिगत हुनप¥यो भने राष्ट्रपति भवनमा आगजनी हुँदा राष्ट्रपति रामचन्द्र पौडेल लुक्नुपर्ने अवस्था आयो । अर्थात् जेनजी पुस्ताले परिवर्तनको शंखघोष गरेका थिए । यो यतिठूलो त्रासदीपूर्ण घटना थियो कि विश्व चकित प¥यो । सबैको प्रतिकृया थियो– अब नेपालमा सुशासन आउँछ, सभ्यता बस्छ ।
दोष पुराना पार्टी, नेताको थियो । तिनले कुशासन नचलाएको भए, भ्रष्टाचारमा नरमाएको भए, व्यभिचार नगरेको भए, नाताबाद र नेपोटिजमको चक्रमा अभ्यस्त नभएको भए, जेनजी पुस्ता यसरी आक्रोसित हुने थिएनन् न त जनताले जेनजी पुस्तालाई यसरी साथ दिनुपर्नेथियो । सबैको कारण २०४६ साल र २०६३ साथपछिको राजनीतिक चरित्रहीनताको परिणाम हो । अब सुशासनको जग खरानी पन्छाएर बसाल्नुपर्नेछ । वर्षदिनले सिकाएको र दिएको शिक्षा भनेकै चेतना हो । अन्यायको साथ दिदा जनता कसरी आक्रोसित हुन्छ, आगो र डढेलोजस्तै हो जनता । जब जनता जाग्छ, उसले केही पनि देख्दैन । यहीकारण भनिएको होला, जनता निर्णायक शक्ति हुन् । जनताले खोजेको परिवर्तन दिन बालेन सरकार झनै अग्रसर हुनुपर्नेछ ।


