Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राष्ट्रसंघमा नेपाललाई विश्वले सुन्यो

१३ मंगलबार , आश्विन २०८३२१ घण्टा अगाडि

राष्ट्रसंघमा नेपाललाई विश्वले सुन्यो

राजा महेन्द्र, वीरेन्द्रकालमा विश्वले नेपाल के बोल्छ भनेर कान ठाडो पारेर सुन्ने गथ्र्यो । बहुदल आएपछि नेपालको आवाज सुन्न छाड्यो विश्वले । दिल्लीको चस्माले हेरे पुग्नेभएपछि नेपालले के बोल्छ ? भनेर चासो राख्नुको औचित्य नै समाप्त भएको थियो । बहुदल र लोकतन्त्रकालका प्रधानमन्त्रीहरू हरेक वर्ष राष्ट्रसंघ जान्थे, जन्ती गएजसरी जान्थे र भत्तेर खाएर फर्कन्थे । अमेरिकी राष्ट्रपतिसँग फोटो खिचाउनका लागि जान्थे र फर्केपछि त्यही फोटोको बखान गर्थे, के के न गरें भनेर आत्मरतीमा रमाउने गर्थे । नेपाली जनताको आँखामा छारो हाल्ने र स्वार्थ पूरा गर्ने गरेकै कारण नेपाल दण्डहीन मुलुकका रूपमा बदनाम भयो, नेपाल नागरिक बेच्ने, रातो पासपोर्ट बेच्ने,मानवबेचबिखन गर्ने मुलुकका रूपमा बदनाम भयो । शासन प्रशासनमा भ्रष्टाचार मात्र गर्ने भएकाले दाताहरूले आर्थिक सहयोग दिनसमेत हिचकिचाउने, सहयोग घटाउँदै जान थालेका थिए । यही सबै देखेर अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रड भनेर नेपाली नेताहरूमाथि आक्षेप नै लगाए । कुनै नेताले हामी फ्रड होइनौं भनेर प्रतिवाद गर्न, प्रष्टिकरण दिन सकेको देखिएन ।
जो स्थापित थिए, ती सबैले चुनाव हारे, जनताले तिनलाई डाँडा कटाइदिए । परिवर्तनका लागि ७६ भन्दा बढी जेनजी पुस्ताले ज्यान दिए । परिवर्तन गर्छु भनेर बालेन साहले चुनाव जिते । ३५ वर्षको युवाले ऐतिहासिक जनसमर्थन पाएको देखेर विश्वभरि बालेन साहको चर्चा भयो । बालेन साहले के गर्लान् भन्ने चासो बढिरहेका बेलामा बालेन साह राष्ट्रसंघको बैठकमा सहभागी हुनपुगे । तुफानी रूपमा राष्ट्रसंघ पुगेर अभिव्यक्ति दिएपछि तुफानी रूपमै नेपाल फर्किएर पीडामा रहेका जनताको सेवामा जुटेका छन् । बालेनले राष्ट्रसंघमा जलवायु परिवर्तनले जुन तरिकाले नेपाललाई आपद् विपद्मा पारेर लछा¥यो, हजारौंको ज्यान लियो, पूर्वाधार नष्ट पारिदियो, त्यसको मर्मस्पर्सी रूपमा राष्ट्रसंघको मञ्चबाट विश्वलाई सावधान गराउने काम गरेका छन् नेपालका प्रम बालेन साहले । उनले हात फैलाएनन् तर जलवायु परिवर्तनको जिम्मेवार विश्व रहेको र त्यसको महगो मूल्य नेपालले चुकाएको बताएका छन् । यतिमात्र होइन, आफ्नो अभिव्यक्तिको अन्तमा नेपाली भाषामै “पशुपतिनाथले बिश्वको कल्याण गरून्, बिश्व बुद्धले देखाएको बाटोमा हिंड्न सकोस् ।’ भनेर जुन सन्देश दिएर प्रम बालेन फर्केका छन्, यो सन्देशको सुनामी हिमनदी फुटेर भोटेकोशीले मच्चाएको वितण्डाभन्दा बढी फैलिरहेको छ ।
प्रम बालेन साहले हिनकूश हिमाली श्रृखला र भारत खण्डमा बसोबास गर्ने २ अरवभन्दा बढी मानिसले पिउने पानीको विषयको उठान र विश्व सावधान नहुने हो भने वातावरण, जलवायु परिवर्तन र पानीकै कारण विश्वयुद्ध हुनसक्ने संकेत पनि गरेर फर्किएका छन् नेपालका प्रम बालेन साह । राजतन्त्रको अन्त्यपछि पहिलोपल्ट युवा प्रम बालेन साहले नेपालीहरू यति बुद्धिमान, यति गम्भीर र यतिसम्मको गहिरो विचार पनि राख्न सक्छन् भनेर विश्वलाई चिनारी दिएका छन् । र, बालेन साहले सन्देश दिएका छन्– नेपाल अहिले औपचारिक रूपमा हिन्दू राष्ट्र नभएपनि (धर्मनिरपेक्ष) हिन्दू धर्म राष्ट्र हो, गौतम बुद्ध नेपालमा जन्मिएका हुन, शान्ति हाम्रो पहिलो प्राथमिकता हो । बिश्वले हाम्रा गौतम बुद्धको शान्तिको बाटो अपनाओस् ।
यति चमत्कारिक अभिव्यक्ति र करिस्म्याटिक व्यक्तित्वको सम्मान स्थापित गरेर प्रधानमन्त्री फर्कदा पनि टिकाटिप्पणी गर्नेहरू थाकेका छैनन् । अब त बालेनलाई साह दिएर राष्ट्र निर्माणमा सबैको सहमति खोज्न र कम्तिमा ५ वर्ष यो सरकारलाई काम गर्न दिएर शान्ति, समृद्धि, सुशासनका लागि सबै दलले हातेमालो गर्दा हुनेथियो । तर राजनीतिका लागि राजनीति गर्ने, स्वार्थशिद्ध गर्न राजनीति गर्नेहरूको घैंटोमा घाम लागेन । बालेनको खुट्टा तान्न पाए, रास्वपालाई टुक्य्राउन पाए आफू पुनः राज्यसत्तामा रजगज गर्न पाइन्थ्यो भनेर लागिपर्ने बुढा नेताहरू आआफ्ना पार्टीको लगाम समातेरै बसेका छन् । समयले पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको आवाज उठायो, नसुन्दा जेनजी बिद्रोह हुनपुग्यो, चुनावमा करारी हार खानुप¥यो । आर्यघाट जाँदा पनि नेतृत्वमै रहन चाहनेहरूले समयको खबरदारी बुझेनन् । जनताले नकारेको विषयमा पनि सहमत नहुनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन्, यिनीहरू त लोकतन्त्रमा लागेको ऐंजेरू हुन् । भन्नु यत्ति छ, राजनीति गर्नेहर सम्हालिउन् ।