Advertisement Banner
Advertisement Banner

२० मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

रास्वपाले लड्ने स्थानीय निर्वाचन ?

२० मंगलबार , आश्विन २०८३९ घण्टा अगाडि

रास्वपाले लड्ने स्थानीय निर्वाचन ?

यतिबेला संसदमा दुई तिहाइ सिट जितेको रास्वपा छ । सरकार रास्वपाले चलाएको छ । ७६१ सरकारमा संघीय सरकारमा मात्र रास्वपा छ । राष्ट्रिय सभामा समेत एकसिट रास्वपाको छैन । ६ महिनापछि स्थानीय सरकारको निर्वाचन हुँदैछ । रास्वपाले स्थानीय चुनावमा लड्ने निधो गरेर उमेदवारको छनौट गरिरहेको छ । पुरै तैयारीका साथ चुनाव जाने रास्वपाको निर्णयले पालिका र राष्ट्रिय सभामा समेत प्रभाव पार्नसक्छ । पुराना दलहरू पनि कम्मर कसेर स्थानीय निर्वाचनमा आफ्नै होल्ड कायम राख्न अग्रसर भएका छन् । अब हेर्नुछ, स्थानीय निर्वाचनमा पुराना दलहरुले आप्mनो बर्चस्व र संगठन कायम राख्न सक्नेछन् कि रास्वपाले स्थानीय निर्वाचनलाई समेत काबुमा राख्न जनताको मन जित्न सक्नेछ ।
स्थानीय निर्वाचनमा रास्वपाले जित्न सकेन भने रास्वपा केन्द्रमा मात्र एक्लो बृहस्पतिका रुपमा रहनेछ । रास्वपा संघीय सरकारमा मात्र कायम रहने कि आफ्नो राजनीतिक प्रभाव बिस्तार गर्ने सक्ने हो ? रास्वपाको परीक्षा यही स्थानीय निर्वाचनले गर्नेछ । रास्वपाप्रति जनताले देखाएको ऐतिहासिक विश्वास अहिलेसम्म स्खलित नभएको राजनीतिक विश्लेषण छ । यही विश्लेषणको आधारलाई रास्वपाले एकतावद्ध भएर कायम राख्न सक्यो भने रास्वपाले स्थानीय निर्वाचनमात्र होइन, राष्ट्रियसभासम्म प्रभाविलो प्रतिनिधित्व कायम राख्न सक्नेछ । सम्भवतः यहीकारण गर्दा पनि पुराना र स्थापित तर संसदको चुनावमा जनताबाट बढारिएका दलहरु स्थानीय निर्वाचनमा रास्वपालाई हराउनका लागि एक भएर अघि बढ्ने तैयारी गरिरहेका छन् ।
अहिलेसम्म जघन्य राजनीतिक अपराध, शासन प्रशासनबाट भएका राष्ट्रिय स्तरका भ्रष्टाचार काण्डहरुमा रास्वपा सरकारले अनुसन्धान र कारवाही अघि बढाउन सकेको छैन । जबसम्म रास्वपाले ठूला ठूला काण्डमा ठूला ठूला नेताहरुलाई र स्थानीय स्तरका भ्रष्टाचारमा कारवाही गर्न सक्दैन्, तवसम्म जनताको अपेक्षा पूरा हुनसक्दैन भने चुनावमा पनि रास्वपाका लागि षडयन्त्रको जालो फाँड्न हम्मे हम्मे पर्नेछ । एकातिर रास्वपा र अर्कोतिर कांग्रेस, एमाले र नेकपाजस्ता पुराना दलहरूसँग लड्नुपर्ने चुनाव हुनेछ स्थानीय चुनाव । यसकारण पनि काई र खिया बनेर ४ दशकदेखि भ्रष्टाचारको आहालमा भैंसी झैं रमाइआएकाहरुलाई दण्ड दिन रास्वपाले ढाडमा हाड भएको व्यवहार देखाउनै पर्छ । सबैं संसद, सडकमा विपक्षीहरुले तीललाई पहाड बनाएर गरेको आलोचनाबाट भयभित भएर बस्नु भनेको रास्वपाको ओह्रालो यात्रा हुनेछ । रास्वपा राजनीतिको मुलधारका रुपमा स्थापित हुने हो भने रास्वपाले गर्नैपर्ने काम भनेको एकतामा हालिएको भाँजोलाई असफल पार्दै बालेन सरकारलाई जतिसक्यो उति दह्रिलो बनाउन आवश्यक छ । बालेन सरकारले यो सुशासनको वर्षमै भ्रष्टाचारलाई शून्य सहनशीलताका साथ काम कारवाहीको पद्धति बसाल्नुपर्नेछ र हिजोका भ्रष्टाचारका सबै फाइलहरू खोलेर भ्रष्ट र षडयन्त्रकारीहरुलाई पाता कस्ने कानुनी वातावरण बनाउनु जरुरी छ । हो, न्यायालयमा समेत हुनेगरेका कुनै पनि प्रकारका भ्रष्टाचारको छानबिन हुनसक्ने कानुन निर्माण आजको पहिलो सर्त हो । न्यायाधीशहरुले कानुनलाई खेलौना बनाएका अनेक घटनाक्रम सार्वजनिक भइरहेकै छन् । बरिष्ठ अधिवक्ताहरुले समेत हामी घूस ख्वाउँछौं, न्यायाधीशहरु घूस खान्छन् भनेर सार्वजनिक बक्तव्य दिने गरेकाले जो कसैको सम्पत्ति छानबिन हुने र फैसलाहरुको निर्मम तरिकाले अनुगमन र छानबिन हुनुपर्ने जरुरी पनि देखिएको छ । वकिलहरुले पनि लिने फी कति हो, तोकिनुपर्छ । कुनै पनि मुद्दाको फैसला वर्षदिनमा टुंग्याउनै पर्ने विधि बसाल्नुपर्छ । जनसम्पर्क हुने कार्यालयमा छिटो छरितो र समानताका आधारमा काम हुनुपर्ने थिति बसाल्नुपर्छ । तवमात्र बालेन सरकारले दिने भनिएको सुशासनको झल्का देखिनेछ । त्यसपछि देशमा भएका अनेक समस्याहरु छन्, बाढीपीडित, सहकारी पीडित, मिटरव्याज पीडित, लघुवित्त पीडित, सुकुम्वासी, भूमिहीन अनेक समस्याहरुलाई बालेन सरकारले तीब्र गतिमा न्याय दिने व्यवस्था गर्नुछ । यी कामहरु गर्न सकेमा जनतामा रहेको विश्वास अझ मजबुत हुनेछ जसले रास्वपालाई राजनीतिको मूलधारमा कायम राख्नेछ र स्थानीय निर्वाचनमा रास्वपाले ठूलै फड्को मार्न सक्नेछ । सरकारको इमानमा खोट छैन, काममा सकृयता र परिणाम देखाउन सके ठूले उपलव्धि हासिल हुनेछ ।