भोलि भदौ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारत जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेर सामुहिक शक्तिका साथ भारत जान चाहेको देखाउनका लागि भदौ ३ गते पूर्वप्रधानमन्त्रीहरुलाई निम्त्याएर छलफल गर्ने प्रयास गरे पनि प्रमुख प्रतिपक्षी एमालेका पूर्वप्रधानमन्त्रीहरु त्यो भेटवार्तामा सामेल भएनन् । देश विपदमा परेको छ, यो विपदलाई सामुहिक र न्यायसंगत तरिकाले टार्नुपर्ने बेलामा प्रधानमन्त्री बिना एजेण्डा भारत भ्रमण गर्न जान लागेको एमाले र बुद्धिजीवीहरुको आरोप छ । यो आरोपको उचित जवाफ दिन प्रधानमन्त्री अथवा सत्ताधारी सफल हुनसकेको छैन । तर भ्रमण तय भइसकेको छ र यो भ्रमणमा कुनै राष्ट्रघाती सन्धि सम्झौता नगर्नु र भारतले सीमाक्षेत्रमा बनाएको तटबन्ध बाँधका कारणले नेपालमा बर्षेनी बाढीको समस्या आउने र ठूलो धनजनको क्षति हुने कुरा उठाउन सडक र सदनमा समेत कुरा उठेको छ । विश्लेषकहरुले त यतिसम्म भनेका छन् कि प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा भारतले कोशी उच्च तटबन्ध निर्माण गर्ने मञ्जुरी भारतले खोज्नेछ र देउवाले त्यसमा सहमत भएर आउनेछन् । बाढीपहिरोले नेपाललाई तहस नहस पारेको यही बेलामा भारतले कोशी उच्च तटबन्धको सवाल किन उठाइरहेको छ, यो भने आश्चर्य हो । नेपाली कांग्रेसकै पालामा २००८ मा कोशी, २०१६ मा गण्डकी बाँध भारतलाई बनाउन दिएर नेपालले जुन गल्ती गरेको थियो, यिनै देउवाका पालामा २०५२ सालमा महाकाली र त्यसपछि गिरिजाप्रसाद कोइरालाले टनकपुरसहितको राष्ट्रघाती सन्धि गरेर भारतलाई रिझाउने काम गरेकाले पनि यसपटकको कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको भारत भ्रमण आशंकामा परेको हो ।देउवाले सर्वदलीय सहमतिसहितको एजेण्डा बोकेर जान सकेको भए त्यसमा बल हुन्थ्यो र भारतले पनि नेपालका एजेण्डालाई महत्व दिन बाध्य हुनेथियो । मात्र बासमती चामलको बासीभात खान दिल्ली जान लागेको निरन्तरताका कारणले पनि भारतले देउवालाई रमाइलो भ्रमणमा सिमित गरेर फर्काइदिनेछ । भारत र नेपालका वीच व्यापारघाटा ९ खर्ब पुग्न लागिसकेको सन्दर्भमा नेपालले के अपेक्षा गर्ने र भारतले नेपालबाट खोजेको के के हो ? यस सम्बन्धमा बिस्तृत छलफल गर्नुपर्नेछ । भारतसँग धेरै समस्याहरु छन्, ती समस्याहरुलाई नजरअन्दाज गरेर सम्बन्ध मीठो र दरिलो भएको हावादारी गफ गरेर फर्कनका लागि देउवाका भ्रमण सिमित भयो भने यो नेपालका लागि अर्को झापड हुनेछ ।


