Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

०७२ लाई लगानी वर्ष बनाउन संविधान जारी गर

०७ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

स्वदेशी र विदेशी लगानीकर्ताहरु लगानी गर्न तैयार भएर बसेका छन्। तिनीहरुको मनमा रहेको आशंका हटाउन र राजनीतिक स्थिरता दिनका लागि संविधान जारी हुनैपर्छ। अधिकतम सहमतिमा संविधान जारी हुनसक्यो भने लगानीकर्तामा रहेको आशंका हट्छ, हतोत्साहीहरु पनि उत्साहित हुनेछन् र स्वदेशी तथा विदेशी लगानी बढ्नेछ। लगानी बढ्नु भनेको रोजगारीको सिर्जना हुनु हो र वैदेशिक रोजगारीमा दगुरीरहेको युवा जमातलाई रोक्ने सार्थक प्रयत्न पनि यही हुनेछ। त्यसकारण ०७२ साललाई लगानी वर्ष बनाउन राजनीतिक दलहरु संविधान जारी गर। बिलम्ब नगर। दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न हुनासाथ अव राजनीतिक स्थिरता आउनेछ भनी ठानेका स्वदेशी, विदेशी लगानीकर्ताहरु जलविद्युत, सिमेन्ट, होटल, कृषि र अन्य सेवा उद्योगमा व्यापक लगानीका लागि तैयार भएको देखियो। जब माघ ८ गते संविधान जारी भएन र राजनीतिक दलहरुवीच खटपट बढेर गयो, अस्थिरता र अनिशचयले निजी तथा वैदेशिक लगानीसमेत धरमरमा परेको छ। विदेशी ठेकेदारहरुले हात हालेका आयोजनाहरुमा समेत विभिन्न कारण देखाएर बढी आर्थिकभार थप्दै दबाब दिन थालेका छन्। यस बाहेक नेपाल उद्योग वाणिज्य महासंघका निर्वाचित अध्यक्षलाई भ्रष्टाचार मुद्दा लागेपछि उद्योग वाणिज्य क्षेत्रको साख खस्क्यो। स्वयम् उद्यमी, व्यापारीहरु एक हुन सकेनन्। यो स्थितिको अन्त्य हुनुर्छ र लगानीको वातावरण खोजेर पर्ख र हेरको स्थितिमा रहेकाहरुलाई निश्चिन्तता दिन पनि राजनीति लगानी मैत्री छ भन्ने देखाउनैपर्छ।

संविधान जारी हुनैपर्छ। संविधान जारी भयो भने २०७२ साल लगानी र उत्पादनको दृष्टिकोणले नयाा नेपालको प्रस्थान बिन्दू हुनसक्छ। राजनीतिले मुलुकको माग बुझ्नैपर्छ। झण्डै खर्बको हाराहारीमा पाइपलाइनमा छन् लगानी। विश्वविख्यात ब्राण्डहरु नेपालतिर आकर्षित भएका छन्। अनेक घरानीय उद्योगपतिहरु योजना कार्यान्वयनको क्रममा देखिएका छन्। अधिकांश लगानी पर्यटन उद्योगलाई टेवादिने खालका देखिएका छन्। हुन पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालमा पर्यटन र जलविद्युत नै यस्तो क्षेत्र हो, जसले लगानीभन्दा बढी मुनाफाको वर्षा गराइरहन सक्छ। यसका लागि नेपालले राजनीतिक स्थिरता र विधिको शासन स्थापना गर्नुपर्छ। नेपालमा लगानी गर्न उत्रेका विदेशी लगानीकर्ता निराश भएर फर्कने स्थिति नहोस् भनेर सोच्नुपर्छ। भन्नुको अर्थ राजनीतिक समुदाय सत्ताका लागि झगडा गरुन्, देशलाई अस्थिरता नबनाउन्। राजनीति लगानी मैत्री हुनैपर्छ, मुलुक बनाउने हो भने। यसैमा छ उज्यालो नेपाल, सम्पन्न नेपाल, आत्मनिर्भर नेपाल।