सेनालाई परिचालन गर्न नसक्ने सरकारले सीमाको सुरक्षा जिम्मेवारी सशस्त्रलाई दिएको छ । सशस्त्रले सीमा सुरक्षा गर्न सकेन । यसकारण यतिबेला स्वदेश र विदेशबाट फर्किएका सक्षम युवाहरुलाई छुट्टै सीमा सुरक्षा बल गठन गरेर रोजगारी दिन सकिन्छ । सांसद विकास कोषको रकमले विकास हुनसकेको छैन, अधिकांश त्यो बजेट भ्रष्टाचार नै हुने हो । त्यो भ्रष्टाचारको रकममा नपुग भए सीमा सुरक्षाका लागि जनताले चन्दा दिन सक्छन् । सरकारले योजना बनाएर मा“ग्नुप¥यो, जनता देशको सीमा सुरक्षाका लागि गा“स काटेर सहयोग गर्न तैयार छन् । धेरै वर्ष पहिलेदेखि सीमामा तारजाली लगाउने हो भने हामी सहयोग गर्छौं भनेर एक रुपिया“देखि लाखसम्म दिन्छु भन्नेहरु थुप्रै छन् । नेतालाई पाल्न, पार्टीका कार्यकर्ताहरुलाई पाल्न र संघीयताका लागि भारमाथि भार कर तिर्न तैयार नागरिकहरु देशको सीमा सुरक्षाका लागि खुशीसाथ योगदान गर्न तैयार छन् । यसकारण सरकारले योजना बनाएर यति नै बेला छुट्टै सीमा सुरक्षा बल गठन गरेर मेचीदेखि महाकालीसम्मका सीमा सुरक्षाको जिम्मा दिने हो भने देशको सीमा अतिक्रमणबाट बच्नेछ ।साथै भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर दश गजामा बस्ती बसाल्ने, बा“ध, कलभर्ट बनाउने, राजमार्ग नै निर्माण गर्ने जुन अत्याचार गरिरहेको छ, त्यसको समयमै सरकारलाई जानकारी आउने छ र सरकारले त्यसमा लिनुपर्ने निर्णय र गर्नुपर्ने कूटनीतिक कार्य गर्न सक्नेछ । सीमा अतिक्रमण नेपाल र भारतवीचको सम्बन्धलाई सुध्रनै नदिने समस्या बनिसकेको छ । यो समस्या हल नहोस् भनेर भारतले पनि तैयार भइसकेको प्रवुद्ध समूहको सुझाव प्रतिवेदनसमेत बुझेन, नेपालले सार्वजनिक गर्ने हिम्मत पनि गरेन । राष्ट्रको मामिलामा कुनै पनि दलको सरकार बनोस्, गम्भीर हुनैपर्छ, प्राथमिकता दिनैपर्छ ।
सबै नेता, राजनीतिक दलहरुले बुझ्नुपर्छ कि राष्ट्र छ र हामी छौं । हाम्रो राजनीति पनि छ । सत्ताका लागि, स्वार्थका लागि राष्ट्रलाई पराइको बन्दकीजस्तो बनाएर खेतालाजस्तो बन्नु निश्चय नै दुःखदायी छ । कुनै पनि कालखण्डमा कहिले पनि उपनिवेश नबनेको नेपाल आज उपनिवेशजस्तो अवस्थामा पुग्नुमा यिनै राजनीतिक दलहरु जिम्मेवार छन् । कसैलाई दोष पन्छाएर छुट पाउन सकिन्न । जो सरकारमा छन्, तिनले बिगतमा गल्ती भएका भए सच्याएर स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्ने गुरुतर दायित्व निर्वाह गर्नैपर्छ । जिम्मेवारी लिएर जवाफदेहीतापूर्ण काम गर्नुको नाम नै लोकतन्त्र हो । लोकतन्त्रमा लोकइच्छा र लोक आवाज सुन्नैपर्छ । निरंकूश हुने छुट कसैलाई छैन । तर लोकतन्त्र चलाउने शासकहरुले लोकतन्त्रका नाममा देशलाई विदेशी अतिक्रमणको चपेटामा पारेका छन् ।
यसकारण सीमा सुरक्षाका लागि छुट्टै सीमासुरक्षा बल गठन गर्नुपर्छ र यसका लागि साधनस्रोत छैन भनेर टकटकिनु पर्दैन । आफ्नो देशको रक्षा र सुरक्षाका लागि आमनागरिक योगदान गर्न तैयार छन् । बेरोजगारी बढेको र अस्थिरताको महामारीका बेलामा सीमा सुरक्षा बल गठन गरिहालौं ।


