गीता छोएर सपथ खाँदा कम्युनिष्टको जात जान्छ भनेझैं गरी सत्यनिष्ठाको शपथ खाएका कम्युनिष्टहरुको गतिमति राम्रैसँग देखिएको छ । एउटाले अर्कोलाई कसरी नङ्ग्याइरहेको छ, बजारभरि नाङ्गेझार पारिरहेको छ, त्यो देखेर स्वयम् यिनमा सत्यनिष्ठाको मात्रा कति रहेछ देखियो ।अमेरिकामा १२८ वर्ष पुरानो बाइबल छोएर सपथ खाएर नयाँ राष्ट्रपति, उपराष्ट्रपतिले पद बहाली गरे । अमेरिका धर्मनिरपेक्ष राष्ट्र हो, त्यहाँ सत्य निष्ठा भनेको बाइबल बनेको छ भने नेपालमा गीता बन्न नहुने किन ? नेपाल वेदभूमि, गीता र बौद्ध ग्रन्थहरु छन्, यी ग्रन्थहरुमा व्यापक जनविश्वास पनि छ । नेपालमा कालभैरवका सामु उभिएर गीता छोएर सपथ खाँन किन नहुने ? नेपाल जेठो मुलुकको यो बिजोग, कान्छो मुलुक अमेरिका विश्वको नम्बर एक । त्यो धर्मनिरपेक्ष अमेरिकाजस्तो विश्वशक्तिले बाइबलमा हात राखेर देश र जनताको लागि कााम गर्ने सपथ खान हुन्छ भने नेपालमा नयाँ मुसलमानले प्याज धेरै खाएजस्तो गर्न जरुरी छैन । त्यसै पनि कुनै पनि पार्टीका नक्कले नेताहरुले खाने सपथ भनेको सौ मुसा खा कर हजको चली भन्ने उखान जस्तै हो । एकजना पनि नेता छैनन् जो जनताले विश्वास गरेका हुन्, आस्था राखेका हुन् । जति छन्, सबै भ्रष्टाचारमा डामिएकामात्र छन् । यस्तै नेताहरुले सत्यनिष्ठाका नाममा सपथ खाउन् कि भगवानका नाममा, तिनले आफूले खाएको कसमको इज्जत राखेका छैनन् ।
अमेरिकामा उपराष्ट्रपति र १४ मन्त्रालय अर्थात १५ जनाले अमेरिकी शासन चलाएका छन् । क्षेत्रफल, जनसंख्या, कार्यक्षेत्र, प्रभाव विश्वभरि फैलाउन सकिन्छ भन्ने उदाहरण हो अमेरिका । नेपाललाई दाँजेर हेर्ने हो भने नेपाल काम होइन, ठगी गर्ने धन्दावालहरुको गूटजस्तो लाग्छ ।
हो, तुलना गर्न मिल्दैन । नगरौं । अध्ययन गर्न जरुरी छ । जान्न र सिक्न आवश्यक छ । नीति, नैतिकता र प्रजातान्त्रिक मूल्य र मान्यताको महत्व कति हुन्छ भन्ने कुरा अमेरिकाबाट सिक्न जरुरी छ । गलत गर्ने आफ्नै नेताविरुद्ध पनि त्यहाँका सांसदहरु कसरी लाग्दा रहेछन्, कुनै पनि हालतमा अवस्थामा विवेक गुमाउन हुन्न भन्ने उदाहरण पनि हो अमेरिका । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जे जस्तो तमासा देखाए, त्यसलाई नयाँ नेतृत्वले घाउ मान्यो र घाउ निको पार्न प्रयास गर्ने भन्दै सबै अमेरिकीलाई विभाजितबाट एक हुन आह्वान गरेका छन् । सबै मिलेर अमेरिकालाई सवल बनाउन छातीमा हात राखेर सपथ खाएका छन् नयाँ नेतृत्वले । नेतृत्व कस्तो हुनुपर्छ, कस्तो सोच राख्नुपर्छ, यो नेतृत्वबाट नेपालले किन नसिक्ने ?


