Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्र किन छाडातन्त्र जस्तो हुनपुग्यो ?

०९ मंगलबार , आश्विन २०८०१० महिना अगाडि

लोकतन्त्र किन छाडातन्त्र जस्तो हुनपुग्यो ?

लोकतन्त्र किन छाडातन्त्रजस्तो हुनपुग्यो ? यसको दोषको जिम्मेवार को हो ? सुधार्ने प्रयास, मर्यादा कायम गर्ने आवश्यकता अझै किन ठानिएन ? सर्वदाकाल लोकतन्त्र यसरी बाजारू भएर चल्छ भन्ठान्नु भूल हुनेछ । समय छ, यस यक्ष प्रश्नमा ध्यान जाओस्, बहस होस्, लोकतन्त्रलाई लोकतन्त्रजस्तो कायम गर्न गराउन र चलाउन के गर्नुपर्छ ? विश्लेषण होस् ।
आज कार्यपालिका कार्यपालिकाजस्तो छैन, न्यायपालिका सर्वदलीय पालिकाजस्तो छ । व्यवस्थापिक कुहिराको काग जसरी चलेको छ । किन ?
राज्यको चौथो अङ्ग पत्रकारिता पनि भ्रमित छ । किनकि वाक स्वतन्त्रता छ, बोल्छन्, लेख्छन्, कतै सुनवाई हुँदैन । सुनवाई नहुने लेखनी, बोलनीको स्वतन्त्रताले मात्र लोकतन्त्र मजबुत हुनसक्दैन । यथार्थ यही हो ।
संविधान छ, पालना हुँदैन । संसद अवरूद्ध भयो, सडकमा शिक्षक वा अन्य नागरिक आन्दोलित भए भने संविधानका प्रावधानलाई कुल्चेर भए पनि सत्ताधारीहरू सत्ता बचाउने चलाखी गर्छन् । लोकतन्त्र चटके वा चलाखीले चल्ने पद्धति होइन । लोकतन्त्र नीति नैतिकता सिद्धान्त र लोकलज्जाले चल्ने प्रणाली हो । जब लोकलज्जा रहन्न, राज्यका गरिमा खण्डित हुनपुग्छन् । यतिबेला नेपालको प्रणालीमा यही रोग सल्केको छ । राज्यको गरिमा धुजा धुजा पारिएका छन् । कुनै व्यवस्थाविरोधीले होइन, व्यवस्थाका खम्बा, सञ्चालकहरूले नै लोकतन्त्रलाई लज्जित पारिरहेको अवस्था छ ।
बुद्धका अनुयायी ७ वर्षका श्रवण र निग्रोध नामका भन्तेले युद्ध जित्नुभन्दा आफ्नै मन जित्नु वास्तविक विजय हो भनेर ज्ञान दिएका थिए । स्वार्थ र व्यक्तिपूजामा मग्न भएका नेताहरूले नैतिकता र निष्ठा गुमाउँदै गएको राजनीति, लोकतन्त्रलाई मुठ्ठीमा कैद गर्नसक्नुलाई नै राजनीतिक सफलता भनिठान्ने प्रवृत्तिको प्रकोप बढ्दैछ ।  लोकतन्त्र बाजारू सस्तो वस्तुजस्तो हुनपुगेको छ । लोकतन्त्र मजाक होइन, मर्यादा हो । लोकतन्त्र तमासा होइन, विधिमा बाँधिनु हो । लोकतन्त्र जे पायो त्यही गर्नु होइन, सिद्धान्तमा अडिग भएर घोषणापत्रअनुसार काम गर्नु हो । यी कुनै पनि गुण यतिबेला नेपालको लोकतन्त्रमा विद्यमान छैनन् । लोकतन्त्र पानी पोखिएजसरी सडकमा पोखिएको छ । लोकतन्त्रलाई विधिमा चलाउन सकिएन भने मुलुक छिट्टै समस्याबाट संकटमा परिणत हुन बेर लाग्नेछैन । यसतिर कसैको ध्यान छैन ।
लोकतन्त्रको बिरोधी छैनन्, बाधा पनि छैन । फेरि लोकतन्त्र लोकतन्त्रजसरी चलेको छैन, नेतातन्त्र, भ्रष्टाचारतन्त्र, अपराधतन्त्र, माफियातन्त्रजसरी सञ्चालन भइरहेको छ । यो सबै ठूला दल र तिनका नेतृत्वको कारणले हो । यसको जवाफदेही स्थापित पार्टी र नेताहरूले नै लिनुपर्छ । यदि यसतिर ध्यान दिइएन भने अकल्पनीय दुर्घटनामा मुलुक पर्नसक्छ । जनता सहनशील भए भनेर जनताको सहनशीलताको गलत लाभ उठाउनु गलत प्रवृत्ति हो, अलोकतान्त्रिकतालाई मलजल गर्नु हो । अहिले पनि समय छ, लोकतन्त्रलाई भूराजनीति र देशको अवस्था हेरेर सहमतिमा चलाउनु उचित हुनेछ । कसैलाई बिभेद र कसैलाई निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन, लोकतन्त्रलाई कमजोर पार्ने कारक अरू कोही होइनन्, संविधान निर्माता नै हुन् ।
लोकतन्त्र ल्यायौं भन्नेहरूले नाक फुलाएर लोकतन्त्रको गरिमा बढ्दैन । चरित्र अपराधीको देखाउने, काम अपराधिकरण र विधि मिचेर गर्ने अनि आफू चोखिनका लागि संविधान, नियम कानुन मिच्ने । यसरी त लोकतन्त्र अपराधशाला बन्छ । यतिबेला नेपालको स्थिति परिस्थिति अपराधशाला बनिरहेको छ । लोकतन्त्रवादीले समयमै बिगत १७ वर्षका क्रियाकलापको आत्ममिमांसा गर्नुपर्छ । गल्ती कमजोरी पत्ता लगाएर सच्याउनुपर्छ । लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो । अनेक जाति र भाषाको सहयात्रा बनाएर लोकतन्त्रलाई नचलाउने हो भने लोकतन्त्र वर्तमान दुरावस्थाबाट गएगुज्रेको अवस्थामा पुग्नेछ । यसकारण सबैको चेत खुलोस् ।