Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, मंसिर २०८०7th August 2023, 2:55:59 pm

भ्रष्टाचार नरोकिए के होला ?

१६ मंगलबार , आश्विन २०८०२ महिना अगाडि

 भ्रष्टाचार नरोकिए के होला ?

जति भ्रष्टाचार गरे पनि हुन्छ, जति आफू र आफ्ना परिवारवाद चलाए पनि हुन्छ, जनताले के गर्न सक्छ ? जनता भनेको सहनका लागि हो, चुनावका बेलामा मतदान गर्ने औजार हो भनेर जनबलको, जनमतको अपमान गर्दा श्रीलंकामा जे जस्तो घटना घट्यो, त्यो विश्व प्रजातान्त्रिक दुनियाँका लागि शिक्षा नै हो । जनता बौलायो भने, जनताले बिद्रोह ग¥यो भने कसैले पनि त्यो जनसलहलाई रोक्न नसक्ने रहेछ, त्यसरी जनता सडकमा निस्किसकेपछि सेना वा प्रहरी, कुनै पनि सुरक्षानिकायले सुरक्षा नदिने रहेछ भन्ने पछिल्लो उदाहरण श्रीलंका हो । हुन त यस्ता अनेकथरि जनघटनाहरू अफगानिस्तानमा पनि देखिएकै हो । जाल झेल गरेर जनमतबाट स्थापित सरकार देश र जनताविरोध निस्किएकाले सरकार प्रमुख नै भाग्नुप¥यो । हाहाकारमा परेका जनतलो समेत देश छाडेर कसरी भाग्ने भनेर त्राण खोज्नुप¥यो । आज पनि अफगानिस्तान अभाव, महगी, हाहाकारमात्र होइन, बन्दुकको नाल तेस्र्याएको शासकको आतङ्क सहेर बाँच्नुपरेको छ । राष्ट्रसंघ अथवा बाँकी विश्वसले समेत त्यो आतंकको शासनलाई निस्तेज पार्न सकेको देखिदैन ।
हो, नेपाल त्यही दोबाटोमा पुगिसकेको छ । नेपालको अर्थव्यवस्थाको मेरूदण्ड भाँचिएको छ । रेमिटान्सले अर्थव्यवस्था धानेको अवस्था छ । उद्योगधन्दा बन्द छन् । बन्दब्यापार साँघुरिदै गएको छ । नेपाल भनेको विदेशबाट आयात गरेर हातमुख जोर्ने अवस्थामा पुगिसकेको छ । आफ्नै उत्पादन अथवा आत्मनिर्भरताको कुनै पनि उपाय सोचिएको छैन । अर्थात सरकार र अर्थव्यवस्था परजीवी बनिसकेको छ । यहाँसम्म कि नीति, नेतृत्व र राजनीतिमात्र होइन, कानुन व्यवस्थाभित्रसमेत विदेशीको हस्तक्षेप, घुसपैठ घुसेको छ । १० दलीय सरकार कुहिराको काग बनेको छ । स्वयम् प्रधानमन्त्री अब देश र जनताको लागि बाँकी जीवन अर्पण गर्छु, देखिन काम गर्छु भनेका थिए, कता हराए हराए । उनका स्वार्थका निर्णयहरूले अचम्मित पारेको छ । ९ महिने शासनअवधिमै यो सरकार कुन बेला ढल्ने हो भन्ने अवस्था आइसकेको छ ।
अब के हुन्छ ? यही जिज्ञासा हरेक नागरिकको चासोको विषय बनेको छ । खासगरी विधिको शासनमा सरकार र सांसद नचल्नाले गर्दा देशको यो अधोगति हुनपुगेको हो । यतिबेला भ्रष्टाचार, नीतिहीनता र राजनीतिक अपराधिकरणका कारणले गर्दा देश अस्तित्वको संकटापन्न अवस्थामा पुगिसकेको निष्कर्ष निकाल्न थालिएको छ । हुन पनि विश्वशक्तिको प्रतिस्पर्धा गर्ने मैदान बनिसक्यो नेपाल । पश्चिमा, उत्तर र दक्षिणा आ–आफ्ना रणनीति लिएर एकदोस्रालाई परास्त गर्न नेपाली मैदानमा उत्रिसकेका छन् । नेपाल भूराजनीतिको गोलचक्करमा परिसकेको छ । यस्तो अवस्थामा कूटनीतिक क्षमता र राजनीतिक स्थिरताले आफ्नो वीचबचाउ गर्न सफल हुनुपर्ने हो । तर यसतिर कुनै पनि प्रयत्न भइरहेको देखिदैन । राम आए रामाय, श्याम आए श्यामाय गर्ने, भन्ने राजनीतिक चरित्रले राष्ट्रलाई झन झन गहिरो अँध्यारोतिर धकेल्दै लगेको छ । समाजशास्त्री, विचारक, बुद्धिजीवी, नागरिक समाज र हरेक पार्टीभित्रका चेतनशील बर्गले मार्गनिर्देश गर्नुपर्ने हो । सबै मौन धारण गरेर बसेको अवस्था छ । यस्तो अवस्थाले सिङ्गो मुलुकलाई समस्यामा जेल्दै लैजानेछ । एउटा पार्टी अथवा एकथरि नेताको प्रश्न होइन यो, देशको प्रश्नमा सबै एकजुट हुन नसक्नु र अझै पनि भ्रष्टाचार र स्वार्थसिद्धिमै लाग्नु भनेको जानाजान आफ्नै घुँडामा बन्चरो हान्नु हो । हरेक युवा देशमा बस्न नचाहनुको कारण पनि विवेकहीनताकै परिणाम हो । एयरपोर्टमा विदेशीको लर्को देख्दा कहाली लाग्छ । यो अवस्थाले राजनीति गर्नेहरू कहालिदैनन् । उनीहरूलाई लागेको होला, विद्रोही युवाहरू विदेशीय, अब अकण्टक राजनीतिक अपराधिकरण चलाउन सकिने भयो । यथार्थमा देश श्रीलंका अथवा अफगानिस्तानको दुरावस्थातिर अग्रसर छ । त्यो अवस्था जुन आउनेछ, त्यो दिन अहिलेका अविवेकी शासक, प्रशासक र हरेकलाई लतार्नेछ ।