
नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको बताईएको छ । उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधी दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकि छन् ।
उक्त छानबिन समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।
आजको मन्त्रिपरिषद्को बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम सहित सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको छ ।
त्यस्तै अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’का लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्न वार्ता टोली गठन गर्न अख्तियारी दिइएको छ ।