
यूएईमा आजदेखि सुरू भएको यू-१९ वर्षमुनिको एकदिवसीय एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान खेल्दैछन् । दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपाल पाकिस्तान सँग खेल्न लागेको हो ।
आजको खेलमा पाकिस्तानका कप्तान मिर्जा बैगले टस जितेर पहिला बलिङ रोजेका छन् । आगामी पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता रहेको छ । जसमा नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन् ।
एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप खेलको तयारीको रूपमा हेरिएको छ भने अहिले सहभागी टिममध्ये यूएई र जापानबाहेकका सबै टोलीले विश्वकप खेल्नेछन् ।
विश्वकपमा नेपालको समूह ‘डी’ मा छ, जहाँ न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।
नेपाली युवा टोलीले पछिल्लो समय सानदार प्रदर्शन गरेको छ । त्यसमा सिनियर टोलीका अलराउन्डर गुलशन झाको आगमनले टोली सन्तुलित र मजबुत भएको प्रशिक्षकको भनाइ छ ।