Advertisement Banner
Advertisement Banner

०८ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भूकम्प पिडितलाई २५ लाखसम्म घर कर्जा

२२ शुक्रबार , मंसिर २०८०२ बर्ष अगाडि

भूकम्प पिडितलाई २५ लाखसम्म घर कर्जा

गत कतिक १७ गते राति जाजरकोटमा गएको भूकम्पमा परि पिडित बनेका परिवारले घर बनाउनका लागि २५ लाख रुपैयासम्मको आवासीय घर कर्जा पाउने भएका छन् । उनीहरुले आवासीय घर कर्जा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गरेको बताएको छ । उक्त प्रयोजनका लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरेको बताएको छ ।

भूकम्पबाट क्षतिग्रस्त बनेका सार्वजनिक विद्यालय, अस्पताल तथा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई केन्द्रीय बैंकले १२५ प्रतिशत कायम गरेको छ । साथै, ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरेको छ ।

समीक्षामा ननडेलिभरेबल फरवार्ड कारोबार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख गरेको छ । साथै, समीक्षाले लघुवित्त वित्तीय संस्थाले नियमित सम्पर्कमा रहेका र परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनर्संरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था पनि गरेको छ ।

मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने समेत व्यवस्था समीक्षामार्फत गरिएको छ ।