
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत बिभिन्न नाकाबाट पछिल्लो १० दिनको अवधिमा ३२ किलो सुन बरामद भएको छ । मंसिर १५ गत्ते देखियता प्रहरीले बिभिन्न स्थानबाट ३२ किलो सुन बरामद गरेको हो ।
मंसिर १५ गते शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको २ किलो, काठमाडौंको नागढुंगाबाट २ किलो गरि ४ किलो सुन बरामद गरेको थियो । त्यसैगरी मंसिर १९ गते न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको बताईएको छ ।
बिहिबार गोरखाका चन्द्र घलेले दुबईबाट शरीरमा लुकाएर ल्याएको १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको थियो । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको हो ।
शनिबार राति फेरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताएका छन् । यसरी पटकपटक गरि १० दिनको अवधिमा ३२ किलो सुन बरामद गरिएको बताईएको छ ।
अहिले बजारमा दैनिक सुनको माग ३० देखि ३५ किलो रहेको छ । लगनको महिनामा यस्तो माग थप बढ्ने गरेको तर, नेपाल राष्ट्र बैंकले तोकेको कोटा अनुसार २० किलो सुन आयात गर्न सकिने सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
कोटाभन्दा धेरै सुनको माग भए पनि बजारमा खासै सुन अभाव हुँदैन । अनि कसरी पूर्ति हुन्छ त ? बजार माग धान्न अवैधानिक रूपमा नेपाल भित्र्याइएको सुन प्रयोग हुने गरेको पाइएको छ । यसलाई पछिल्लो समय समातिएका तस्करीको सुनले अझै बल पुगेको देखिन्छ ।