
बालाचतुर्दशीको अवसर पारेर दिवंगत पितृका नाममा पशुपतिनाथलगायत मुलुकभरका शिवालयमा शतबीज छरेका छन् । हिजो साँझा दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् ।
हरेक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने धार्मिक परम्परा रहेको छ । आज बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरुको घुइँचो लागेको थियो ।
पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्नेको भिड लागेको हो । त्यस्तै पशुपतिमा हिजो साँझदेखि बालिएको महादीप भक्तजनले आज बिहान नजिकैको बागमतीमा सेलाएका छन् ।
शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने मान्यता समेत रहेको छ भने शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याइदिन अनुरोध गर्ने प्रचलन छ ।
रातभर भजनकीर्तन गरेर जाग्राम बसेका भक्तजनले शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनु पर्ने बताईएको छ ।
माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने धार्मिक मान्यता रहेको छ । साथै, भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास समेत छ ।