Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

फलाम खानि उत्खननको लागि सम्भाव्यता अध्ययन सुरु

२५ सोमबार , मंसिर २०८०३ बर्ष अगाडि

फलाम खानि उत्खननको लागि सम्भाव्यता अध्ययन सुरु

रुकुम जिल्लाको रुकुम (पूर्व) अन्तर्गत भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् । उत्खननको लागि खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेका हुन् ।

आर्थिक अभावको कारण उक्त क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन । हाल फलाम खानी पत्ता लागेको भनिएको ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको बताईएको छ ।

तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए । उनले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन सुरु भएको बताएका छन् ।

गत साल गरिएको अध्ययनबाट झुम्लाबाङमा फलाम खानी भएको पत्ता लागेको र रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागमले फलाम र तामा खानीको बारेमा तीन पटक अध्ययन गरेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।