Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मातातीर्थ औँसी मनाइँदै

२६ बुधबार , बैशाख २०८१२ बर्ष अगाडि

मातातीर्थ औँसी मनाइँदै

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा,भक्ति र सम्मानका साथ मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाएर आशीर्वाद लिएर मनाउने गरिन्छ ।

यस पर्वमा आमा नहुनेहरुले आमाको श्राद्ध गरी आमाको स्मरण गर्ने गर्दछन् भने यसो गर्दा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहेको छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको र आमालाई पण्डित,आचार्य र पिताभन्दा पनि महान् मानिएको छ ।

पितृऋण तिर्न माता,पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान अनुसार आमा नहुनेहरुले आज बिहानैदेखि दिवंगत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा आमाको श्राद्ध गरी आमाको स्मरण गरेका छन् ।  विशेषगरी आमा नहुने नरनारीहरुले उक्त कुण्डमा स्नान तथा विष्णु र शिवको दर्शन र पूजाअर्चना गर्न आउने हुँदा आज उक्त कुण्डमा भिड लागेको छ ।

उक्त मातातीर्थ कुण्डमा मंगलबार साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरेर रातभर जाग्राम बसी कुण्डमा स्नान गरेर पूजापाठ गरेका छन् ।