Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेशनल कार्ड अनिवार्य नभएपछि सिडियो कार्यालयमा सेवाग्राही घटे

३२ सोमबार , असार २०८१२ बर्ष अगाडि

नेशनल कार्ड अनिवार्य नभएपछि सिडियो कार्यालयमा सेवाग्राही घटे

सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र (नेशनल कार्ड) अनिवार्य नगर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको चाप घटेको छ ।

परिचयपत्रको विवरण दर्ता र वितरणका लागि यसअघि कार्यालय समयबाहेक समेत सेवा प्रवाह गरेका सिडियो कार्यालयहरुले सेवाग्राहीको चाप घटेसँगै पुनः सोही समयमा सेवा प्रदान गर्ने निर्णय गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, चितवनले एक सूचना प्रकाशित गर्दै यसअघि सेवाग्राहीको चाप अत्याधिक बढ्न गई परिचयपत्रको दर्ता संकलन कार्य बिहान ७ बजेदेखि थालिएकोमा अब पुनः बिहान १० बजेदेखि हुने जानकारी दिएको छ ।

सिडियो कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘२०८१ साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकोले सेवाग्राहीको चाप अत्याधिक बढ्न गई परिचयपत्रको दर्ता संकलन कार्य मिति २०८१ जेठ २८ गतेदेखि ०८१ असार मसान्तसम्मका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म गरिएकोमा हाल सेवाग्राहीको चाप घटेको र राष्ट्रिय परिचयपत्र नभएकै कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट नागरिकहरु वञ्चित नहुने भनी सरकारबाट निर्णय समेत भएकाले मिति २०८१ साउन १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बिहान १० बजेदेखि ५ बजेसम्म मात्र सेवा प्रदान गरिने जानकारी गराइन्छ ।’

सरकारले नयाँ आर्थिक वर्ष २०८१/०८२ को साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप सुरुवातमा २८ जिल्लामा लागू गर्ने भनियो । 

तर, ज्येष्ठ नागरिक, अपांगलगायत व्यक्तिलाई भत्ता लिन समेत परिचयपत्र अनिवार्य गरिएको भन्दै चर्को आलोचना भएपछि गत असार २७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय तत्कालका लागि स्थगन गरेको थियो ।