Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

टिकट काउन्टर नहटाउन मजदुर संघसंगठनहरुको आग्रह

०१ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

टिकट काउन्टर नहटाउन मजदुर संघसंगठनहरुको आग्रह

काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर नहटाउन तीन यातायात मजदुर संघसंगठनले आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि चक्रपथ आसपासका टिकट काउन्टर हटाउने निर्णय गरेकाले यातायात मजदुर संघसंगठनले नहटाउन आग्रह गरेका हुन् । ।

टिकट काउन्टर नहटाउन आग्रह गर्दै नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले एक विज्ञप्ति जारी गर्दै बसपार्कबाहिरका टिकट काउन्टर हटाउने निर्णयलाई रोक्न महानगरसँग अपिल गरेका छन् ।

विज्ञप्तिमा महानगरले कार्यदल गठन गरेर टिकट काउन्टरको मापदण्ड तयार गरिसकेको भन्दै तीनै मजदुर संघसंगठनले मापदण्डलाई व्यवहारिक परिमार्जन गरी कार्यान्वयन गर्नुपर्ने बताएको छ । ‘हामी चाहान्छौं लामो मेहेनत गरेर तयार पारिएको त्यो मापदण्डलाई व्यवहारिक परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्दछ । र, इमान्दार कार्यान्वयनमा हाम्रो प्रतिबद्धता पनि छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले टिकट काउन्टरलाई बैठकमार्फत टुंगो लगाएर कार्यान्वयनमा जानुपर्नेमा सरोकारवालासँग समन्वय नै नगरी अकस्मात, एक्कासी र हचुवाका भरमा टिकट काउन्टर हटाउने निर्णयले समग्र यातायात मजदुर, व्यवसायीलाई आतङ्कित बनाएको समेत बताएका छन् ।

‘महानगरको यस कार्यको हामी भर्त्सना गर्दछौं । निरङ्कुश शैली र शक्तिको प्रयोग गरेर ठिक लगाउँछु भन्ने महानगरको दम्भले सडकमा द्धन्द्ध निम्त्याउने निश्चित छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ, साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै तत्काल कार्यदलको बैठकमार्फत समस्याको कल खोज्न महानगरलाई अपिल गर्दछौं ।’ आफुहरुको आग्रहलाई बेवास्ता गर्दै जबरजस्ती गर्न खोजिए सडकमा उत्रिने समेत तीनै मजदुर संघसंगठनको चेतावनी रहेको छ ।