Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

विदेशी मुद्राको अवैध कारोबार बढ्यो, प्रहरीद्धारा सचेत

०४ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

विदेशी मुद्राको अवैध कारोबार बढ्यो, प्रहरीद्धारा सचेत

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले अवैध माध्यमबाट पैसा पठाउने क्रम बढेपछि नेपाल प्रहरीले सचेत गराएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले विज्ञप्ति जारी गर्दै पैसाको ‘इलिगल’ कारोबारले विदेशी मुद्राको सञ्चितिमा ह्रास आउनुका साथै अर्थतन्त्र धरायसी हुने जोखिम बढ्दै गएको बताएको छ ।

अनुसन्धानको क्रममा संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, अस्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायत विभिन्न देशमा रहेका नेपाली नागरिकले त्यहाँ आर्जन गरेको विप्रेषण रकम वैधानिक प्रक्रियाबाट नेपाल नपठाई विदेशमा रहेका विभिन्न हुण्डी तथा अवैध मुद्रा कारोबारमा संलग्न व्यक्ति तथा संस्थामार्फत पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ ।

‘त्यस्ता कारोबारीहरुले त्यस्तो रकम विभिन्न देशहरुमा क्रिप्टोलगायत विभिन्न माध्यममार्फत पठाई सुनलगायत विभिन्न अवैध सम्पत्तिमा लगानी गर्ने र त्यस्ता समूहले नेपालमा रहेका एजेन्टमार्फत नेपालमा त्यस्ता अवैध वस्तुहरु बिक्रीबाट प्राप्त रकम विदेशमा रहेका नेपालीहरुको नेपालस्थित आफन्तहरुको बैंक खातामा जम्मा गरेको देखिएको छ,’ ब्यूरोले भनेको छ ।

यसरी प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानूनी सम्पत्तिको आर्जन, आतंककारी क्रियाकलापमा लगानी र अभौतिक मुद्रामा लगानी गर्ने साथै सोको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको ब्युरोको ठहर छ ।

‘यसले नेपालमा विदेशबाट प्राप्त हुने विदेशी मुद्राको सञ्चितिमा ह्रास, पुँजी पलायन, अनौपचारिक अर्थतन्त्रमा वृद्धि हुन गई अर्थतन्त्र धराशायी हुने, अर्थतन्त्रमा प्रतिकूल प्रभाव परी विकास निर्माणमा असर पर्ने, मूल्यमा अस्थितरता एवम् उतार–चढाव, लगानीको सुरक्षासम्बन्धी जोखिमहरु बढ्दै जाने भएकाले नेपाल बाहिर तथा नेपालमा रहेका सबै नेपाली नागरिकहरुको अवैध कारोबार रोक्ने तथा गर्ने गराउनेहरुलाई निरुत्साहित गर्नका लागि सम्बन्धित निकायमा जानकारी गराउनु सर्वसाधारण नागरिकको कर्तव्य पनि हो,’ ब्यूरोले आग्रह गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ ।

सीआईबीले विदेश वा नेपालभित्रै रही यस्तो अवैध कारोबारमा संलग्न रहेको पाइएमा राष्ट्र बैंक ऐन, २०२८, मुलुकी अपराध संहिता, २०७४, संगठित अपराध निवारण ऐन, २०७० लगायत प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

साथै, वैदेशिक रोजगार, अध्ययन एवम् विदेशमा स्थायी रुपमा बसोबास गरेका नेपाली नागरिकका नेपालमा रहेका आफन्तलाई पनि आफ्नो बैंक खातामा जम्मा भएको रकम को–कसले जम्मा गरेको हो र उक्त रकम वैध प्रक्रियाबाट आएको हो वा होइन भनी रुजु गरी अवैध प्रक्रियाबाट आएको भएमा समयमै सम्बन्धित निकायमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।