Advertisement Banner
Advertisement Banner

२५ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

बंगलादेशबाट ११ सय भन्दा बढी विद्यार्थी नेपाल फर्किए

०८ मंगलबार , श्रावण २०८११० महिना अगाडि

बंगलादेशबाट ११ सय भन्दा बढी विद्यार्थी नेपाल फर्किए

बंगलादेशमा सरकारी जागिरको आरक्षणमा गरिएको विशेष व्यवस्थाविरुद्ध भएको आन्दोलन पछि नेपाली विद्यार्थी धमाधम फर्किन थालेका छन् । आन्दोलन चर्किएपछि पछिल्लो एक सातामा ११ सय भन्दा बढी नेपाली विद्यार्थी बंगलादेशबाट स्वदेश फर्किएका हुन् ।

बंगलादेशबाट नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै एक सातायता ७ सय ७५ जना विद्यार्थी नेपाल फर्किएका छन् भने ढाकाबाट हवाईमार्ग हुँदै ३ सय ४१ जना विद्यार्थी नेपाल फर्किएका छन् । त्यस्तै १४ जना विद्यार्थी भने विराटनगर नाकाबाट नेपाल फर्किएका छन् ।

पछिल्लो विवरणअनुसार साउन १ गते विभिन्न नाका तथा हवाईमार्ग हुँदै १८ जना नेपाली विद्यार्थी बंगलादेशबाट स्वदेश फर्किएका थिए । साउन २ गते ४७ जना, साउन ३ गते १ सय ६० जना, साउन ४ गते १ सय ८७ जना, साउन ५ गते २ सय १२ जना, साउन ६ गते ४ सय १२ जना स्वदेश फर्किएका हुन् ।

साउन ७ गते ९४ जना नेपाली विद्यार्थी स्वदेश आइपुगेका थिए । बंगलादेशका विभिन्न शैक्षिक संस्थामा करिब पाँच हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । केही समययता बंगलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाका सन्तानलाई सरकारी जागिरमा विशेष आरक्षण दिने सरकारको नीतिविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थी र सुरक्षाकर्मीबीचको झडपमा सयौंको संख्यामा मानिसको ज्यान गएको छ । आन्दोलनले हिंसात्मक रुप लिएपछि बंगलादेशको सर्वोच्च अदालतले आरक्षण प्रणाली समेत खारेज गरेको छ ।